साइबर सुरक्षाका लागि ओपनएआईको नयाँ टुल ‘डेब्रेक’ सार्वजनिक, सफ्टवेयरका कमजोरी पत्ता लगाउने दाबी
बैशाख २९, २०८३ २३:१४
काठमाडौँ । ओपनएआईले साइबर सुरक्षालाई लक्षित गर्दै ‘डेब्रेक’ नामक नयाँ प्लेटफर्म सार्वजनिक गरेको छ । सफ्टवेयर प्रणालीमा रहेका कमजोरीलाई ह्याकरले फाइदा उठाउनुअघि नै पत्ता लगाउने र समाधान गर्ने उद्देश्यले कम्पनीले मङ्गलबार नयाँ टुल सार्वजनिक गरेको हो ।
यसअघि एआई कम्पनी एन्थ्रोपिकले सोही प्रकृतिको टुल ‘क्लाउड मिथोस’ सार्वजनिक गरेको थियो । त्यसैको विकल्पका रूपमा ओपनएआईले आफ्नो टुल ल्याएको भन्दै प्रविधि क्षेत्रमा बहस हुन थालेको छ ।
ओपनएआईले आफ्नो नयाँ एआई मोडेल ‘जीपीटी-५.५’ र कोडिङमा आधारित ‘कोडेक्स’लाई एकीकृत गरेर डेब्रेक तयार पारेको हो । यसले सफ्टवेयरको कोड रिभ्यु, थ्रेट मोडलिङ, प्याच भ्यालिडेसन, मालवेयर विश्लेषण र जोखिमपूर्ण सफ्टवेयर डिपेन्डेन्सी पत्ता लगाई साइबर सुरक्षालाई उच्च स्तरमा पुर्याउने दाबी गरिएको छ ।
OpenAI is launching Daybreak, our effort to accelerate cyber defense and continuously secure software.
— Sam Altman (@sama) May 11, 2026
AI is already good and about to get super good at cybersecurity; we'd like to start working with as many companies as possible now to help them continuously secure themselves.
डेब्रेक अन्तर्गत तीन फरक मोडल उपलब्ध गराइएको छ । यसमा सामान्य कामका लागि ‘जीपीटी-५.५’, आधिकारिक वातावरणका लागि ‘जीपीटी-५.५ विथ ट्रस्टेड एक्सेस फर साइबर’ र साइबर सुरक्षा पेसेवरका लागि ‘ट्रस्टेड एक्सेस फर साइबर’ फ्रेमवर्क समावेश छन् । संवेदनशील साइबरजन्य कामका लागि यसमा बलियो ‘आइडेन्टिटी भेरिफिकेसन’ र ‘सेक्युरिटी कन्ट्रोल’ को प्रबन्ध गरिएको कम्पनीले जनाएको छ ।
साइबर सुरक्षाको क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच डेब्रेकको सार्वजनिक हुनुले एआई उद्योगमा नयाँ तरङ्ग ल्याएको छ । यसअघि एन्थ्रोपिकको ‘क्लाउड मिथोस’ ले सफ्टवेयरका सयौं कमजोरी पत्ता लगाएर चर्चा बटुलेको थियो । तर, त्यसको सुरक्षा क्षमतालाई मध्यनजर गर्दै कम्पनीले उक्त टुललाई सार्वजनिक गरेको छैन ।
आफ्नो यो नयाँ परियोजनालाई सफल बनाउन ओपनएआईले सिस्को, इन्टेल, सेन्टिनेलवन र स्निक जस्ता कम्पनीसँग सहकार्यको घोषणा गरेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २९, २०८३ २३:१८
