डिसेम्बरदेखि फेसबुक-इन्स्टाग्राममा प्रयोगकर्ताको रुचिअनुसार मात्र पोस्ट र विज्ञापन देखिने
असोज २०, २०८२ ९:४
काठमाडौँ । फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताको अनुभव अब डिसेम्बर २०२५ देखि पूर्णत: परिवर्तन हुने भएको छ । मेटाले दुवै प्लेटफर्ममा एआईमा आधारित नयाँ प्रणाली लागु गर्ने घोषणा गरेको हो । जसअनुसार प्रयोगकर्ताको रुचि र अनलाइन गतिविधि अनुसार मात्र पोस्ट, रिल्स र विज्ञापन देखिने छन् ।
मेटाले यस परिवर्तनलाई प्रयोगकर्तालाई अझै व्यक्तिगत र आर्षक अनुभव दिन लागु गर्न लागेको जनाएको छ । कम्पनीका अनुसार अब प्रयोगकर्ताले मेटाको एआई च्याटबटसँग गर्ने संवादकै आधारमा उनीहरूको फिड तय हुनेछ । उदाहरणका लागि, यदि कसैले यात्राबारे च्याट गरे भने फेसबुक वा इन्स्टाग्राममा यात्रा सम्बन्धी समूह, सल्लाह र विज्ञापन देखिनेछन् ।
नयाँ अपडेट डिसेम्बर २०२५ देखि सबै प्रयोगकर्तामा लागु हुने बताइएको छ । कम्पनीले यही ७ अक्टोबरदेखि प्रयोगकर्तालाई यसबारे नोटिफिकेसनमार्फत जानकारी गराउने बताएको छ । साथै, प्रयोगकर्ताले आफ्नो फिड र विज्ञापन नियन्त्रण गर्न सक्ने ‘एड प्रिफरेन्स’ र ‘फिड कन्ट्रोल टुल्स’ सुविधा पनि उपलब्ध हुनेछ ।
मेटाले संवेदनशील वा व्यक्तिगत जानकारीलाई विज्ञापनका लागि प्रयोग नगर्ने स्पष्ट पारेको छ । यसमा धर्म, राजनीतिक विचार, स्वास्थ्य, जाति, वंश, लैङ्गिक पहिचान वा यौनिकता, ट्रेड युनियन सदस्यता जस्ता डेटा पर्दैनन् । तर यस्ता डेटाको आधारमा पोस्ट वा रिल्स सिफारिस गरिने वा नगरिने विषयमा भने कम्पनीले प्रष्ट पारेको छैन ।
त्यसैगरी, मेटाले प्रयोगकर्ताले आफ्नो अकाउन्ट सेन्टरमा लिंक गरेका खाताबाट मात्र डेटा प्रयोग गर्ने जनाएको छ । जस्तै, यदि प्रयोगकर्ताले आफ्नो ह्वाट्सएप अकाउन्ट लिंक गरेका छैनन् भने त्यहाँका च्याट डेटालाई कन्टेन्ट सिफारिस वा विज्ञापनमा प्रयोग गरिने छैन ।
पछिल्लो अध्यावधिक: असोज २०, २०८२ ९:४
