close

तोडियो च्याटजीपीटीको रेकर्डः शब्दकै भरमा भिडिओ बनाउने ओपनएआईको सोरा एप ५ दिनमै १० लाख पटक डाउनलोड, छ्या‍पछ्याप्ती एआई भिडिओ

टेकपाना टेकपाना

असोज २५, २०८२ ११:३०

तोडियो च्याटजीपीटीको रेकर्डः शब्दकै भरमा भिडिओ बनाउने ओपनएआईको सोरा एप ५ दिनमै १० लाख पटक डाउनलोड, छ्या‍पछ्याप्ती एआई भिडिओ

काठमाडौँ । शब्दकै भरमा भिडिओ बनाइदिने ओपन एआईको ‘सोरा’ले सार्वजनिक भएको पाँच दिनभित्रै १० लाखभन्दा बढी डाउनलोड भएर कीर्तिमान कायम गरेको छ । यो आँकडा कम्पनीकै चर्चित च्याटबट च्याटजीपीटीले सुरुवाति दिनमा बनाएको कीर्तिमानभन्दा पनि छिटो हो ।

आकर्षक र वास्तविक लाग्ने किसिमका भिडिओ बनाउने यो एप विभिन्न कारणले चर्चा र विवादमा तानिएको छ । खासगरी प्रतिलिपि अधिकार (कपीराइट) र मृत सार्वजनिक व्यक्तित्वको तस्बिरको प्रयोगका कारण यसको आलोचना भइरहेको छ ।

अमेरिकाको एप्पल एप स्टोरमा शीर्ष स्थानमा पुगेको यो एपले शब्दकै भरमा १० सेकेन्ड लामा यथार्थपरक देखिने भिडिओ बनाउँछ । सोराका प्रमुख बिल पिबल्सले सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत ५ दिनमै सोराको डाउनलोड १० लाख नाघेको जानकारी दिएका हुन् । 

उनका अनुसार हाल यो एप उत्तरी अमेरिकामा ‘इन्भिटेसन’ पाएका प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । सीमित क्षेत्रका त्यो पनि सीमित प्रयोगकर्ता माझ उपलब्ध भएकाले यसको कीर्तिमानी डाउनलोड सङ्ख्या आश्चर्यजनक छ । 

च्याटजीपीटी सार्वजनिक भएको सुरुको हप्ता अमेरिकामा मात्रै उपलब्ध गराइएको थियो । जब कि सोरा भने हाल अमेरिका र क्यानडामा अफर गरिएको छ ।

एपफिगरको तथ्याङ्कले क्यानडामा ४५ हजार मात्रै इन्स्टल भएको देखाएको छ । यसरी अमेरिकाकै आईओएस एप स्टोरलाई आधार मान्दा पनि सोराको डाउनलोड च्याटजीपीटीभन्दा प्रभावशाली छ । 

यस सफलताका बीच सोराले प्रतिलिपि अधिकार र मृत सार्वजनिक व्यक्तित्वको तस्बिर व्यवस्थापनमा देखाएको कमजोरीले अनलाइनमा चर्को आलोचना खेपिरहेको छ । प्रयोगकर्ताले एपबाट बनाएका भिडिओ सामाजिक सञ्जालमा सजिलै पोस्ट गर्न सक्ने भएकाले सामाजिक सञ्जाल फिड यस्ता भिडिओले भरिएका छन् । 

दिवङ्गत वैज्ञानिकद्वय अलबर्ट आइन्स्टाइन र स्टफिन हकिङको झगडा परेको देखिने एआई भिडिओ पनि उत्तिकै भाइरल भइरहेको छ । केही भिडिओमा माइकल ज्याक्सन र टुपाक शकुर जस्ता दिवङ्गत सङ्गीतकारलाई देखाइएको छ । 

सन् २०१४ मा निधन भएका चर्चित अमेरिकी अभिनेता तथा हास्यकलाकार रोबिन विलियम्सकी छोरी जेल्डा विलियम्सले तीन दिनअघि मानिसहरूलाई आफ्नो बुबाको एआई-सिर्जित भिडिओ पठाउन बन्द गर्न आग्रह गरेकी थिइन् ।  यस विषयमा ओपनएआईका एक प्रवक्ताले अमेरिकी समाचार साइट एक्सियोसलाई ईमेलमार्फत ऐतिहासिक व्यक्तित्वको चित्रणलाई अनुमति दिनुमा ‘वाक स्वतन्त्रताको बलियो चासो’ रहेको बताएका छन् । 

तर, प्रवक्ताका अनुसार ‘हालै निधन भएका’ सार्वजनिक व्यक्तित्वका लागि आधिकारिक व्यक्तिले उनीहरूको तस्विर प्रयोग नगर्न अनुरोध गर्न सक्नेछन् । यद्यपि कम्पनीले ‘हालै’ भन्नाले कति समयलाई जनाउँछ भन्ने स्पष्ट पारेको छैन ।

 

पछिल्लो अध्यावधिक: असोज २५, २०८२ ११:३०