close

गुगल क्रोमलाई टक्कर दिन ओपनएआईले ल्यायो नयाँ वेब ब्राउजर ‘च्याटजीपीटी एटलस’

टेकपाना टेकपाना

कात्तिक ६, २०८२ ८:२

गुगल क्रोमलाई टक्कर दिन ओपनएआईले ल्यायो नयाँ वेब ब्राउजर ‘च्याटजीपीटी एटलस’

काठमाडौँ । च्याटजीपीटी निर्माता ओपनएआईले गुगल क्रोम जस्ता प्रतिस्पर्धीलाई चुनौती दिन एआई सञ्चालित नयाँ वेब ब्राउजर ‘च्याटजीपीटी एटलस’ सार्वजनिक गरेको छ । मङ्गलबार सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै कम्पनीले नयाँ वेब ब्राउजर घोषणा गरेको हो । 

गुगल क्रोम विश्वकै सबैभन्दा चर्चित वेब ब्राउजर मानिन्छ । त्यसैलाई टक्कर दिने उद्देश्यका साथ ओपनएआईले यो ब्राउजर बजारमा ल्याएको हो । मङ्गलबार नै एप्पलको म्याकओएस अपरेटिङ सिस्टममा नयाँ वेब ब्राउजर उपलब्ध भइसकेको छ । म्याक प्रयोगकर्ताले यहाँ क्लिक गरेर ब्राउजर डाउनलोड गर्न सक्छन् । 

यससँगै च्याटजीपीटी एटलसले सर्चमा महत्वपूर्ण भूमिका खेल्ने एड्रेस बारको अवधारणालाई पूर्ण रूपमा हटाएको छ । अन्य ब्राउजरको माथिपट्टिको भागमा एड्रेसबार हुन्छ, जहाँ ‘techpana.com’ जस्ता वेबसाइट वा किवर्ड खोज्दा रिजल्ट देखिन्छन् । प्रायः अधिकांश ब्राउजर यही अवधारणाबाट सञ्चालित हुँदै आएका थिए । ओपनएआईले भने एड्रेसबार बिनाको वेब ब्राउजर ल्याएको छ । यसमा च्याट गरेरै विभिन्न विषयको जानकारी खोज्न सकिने कम्पनीले जनाएको छ ।

ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानका अनुसार यो ब्राउजर ‘च्याटजीपीटी वरिपरि निर्मित’ छ । एटलसको आगमनसँगै ओपनएआईले एआई क्षेत्रमा गरेको ठुलो लगानीलाई आम्दानीमा बदल्ने र आफ्नो बढ्दो प्रयोगकर्ता आधारलाई थप विस्तार गर्ने नयाँ तरिका खोजिरहेको देखिन्छ ।

ओपनएआईले एटलसमा सशुल्क ‘एजेन्ट मोड’ पनि उपलब्ध गराउने बताएको छ । यस टुलले च्याटबटका प्रयोगकर्ताका लागि सर्च गर्न सहयोग गर्नेछ । यो एजेन्ट मोड सुविधा सशुल्क च्याटजीपीटी ग्राहकका लागि मात्र उपलब्ध हुनेछ । 

कम्पनीले आफ्ना प्रयोगकर्तालाई अनलाइन सेवामा आकर्षित गर्न विभिन्न नयाँ फिचरको घोषणा गरेको छ । यस अन्तर्गत ई-कमर्स साइट ‘एस्टी’ र सपिफाई, बुकिङ साइट एक्सपेडिया र बुकिङ डटकमसँग साझेदारी गरेको छ ।

यस महिनाको सुरुमा ओपनएआईको ‘डेभडे’ कार्यक्रममा अल्टम्यानले च्याटजीपीटीका साप्ताहिक सक्रिय प्रयोगकर्ता संख्या ८० करोड पुगेको घोषणा गरेका थिए ।

“सुरुवाती प्रयोगकर्ताले नयाँ ओपनएआई ब्राउजरको परीक्षण गर्नेछन् भन्ने मलाई विश्वास छ,” मुअर इन्साइट्स एण्ड स्ट्राटेजीका सीईओ र प्रमुख विश्लेषक प्याट मूअरहेडले भने ।

तर, उनले एटलसले क्रोम वा माइक्रोसफ्ट एजलाई गम्भीर चुनौती दिने कुरामा शंका व्यक्त गरे । उनले अगाडि भने, “सुरुवाती र कर्पोरेट प्रयोगकर्ताले यो क्षमता आफ्नो मनपर्ने ब्राउजरमा उपलब्ध नभएसम्म पर्खनेछन् ।” मुअरहेडले माइक्रोसफ्ट एजले आज पनि यस्ता धेरै क्षमता प्रदान गरिरहेको बताए ।

गुगल क्रोमका हकमा प्रयोगकर्तालाई अभ्यस्त राख्न कम्पनीले विभिन्न एआई फिचर परीक्षण गरिरहेको छ । खासगरी कम्पनीले आफ्नो एआई मोडेल जेमिनाई क्रोममा इन्टिग्रेट गरेर सर्च ब्राउजिङ एक्सपेरियन्स स्तरीय बनाउन लागि परेको छ । तर, यता फरक अवधारणा सहित ओपनएआईको ब्राउजर उपलब्ध भएको छ । सबै प्रयोगकर्तालाई यो ब्राउजर कहिले उपलब्ध हुन्छ भन्ने जानकारी बाहिर आइसकेको छैन ।

पछिल्लो अध्यावधिक: कात्तिक ६, २०८२ १०:२८