close

लेनोभोले ल्यायो ८० हजार पर्ने स्मार्ट चस्मा, लाइभ अनुवाददेखि टेलिप्रम्प्टर मोडसम्मका फिचर

टेकपाना टेकपाना

कात्तिक १८, २०८२ २१:४६

लेनोभोले ल्यायो ८० हजार पर्ने स्मार्ट चस्मा, लाइभ अनुवाददेखि टेलिप्रम्प्टर मोडसम्मका फिचर

काठमाडौँ । लेनोभोले चीनमा आफ्नो नयाँ उत्पादन एआई ग्लासेज भी वन सार्वजनिक गरेको छ । यो चस्माको मूल्य ३,९९९ युआन (लगभग ५६२ अमेरिकी डलर अर्थात् करिब ८० हजार रुपैयाँ) रहेको छ ।

गिजमो चाइनाका अनुसार प्रयोगकर्ताहरूले यो चस्मा ९ नोभेम्बरदेखि जेडी डटकममार्फत खरिद गर्न सक्नेछन् । यो उत्पादन मुख्यतया हलुका आराम र एआई सञ्चालित कार्यक्षमतामा केन्द्रित छ । लेनोभोले स्मार्ट सुविधाहरू चाहने प्रयोगकर्ताहरूलाई लक्षित गर्दै यसलाई ल्याएको हो ।

लेनोभो एआई ग्लासेज भीवनको तौल ३८ ग्राम मात्र रहेको छ । यसमा रेजिन डिफ्रेक्सन लाइट वेभगाइड डिस्प्ले (resin diffraction light waveguide display) प्रयोग गरिएको छ, जसले २,००० निट्ससम्मको पिक ब्राइटनेसलाई सपोर्ट गर्दछ ।

चस्माका लेन्सको मोटाइ १.८ एमएम रहेको छ । यसमा १५×११ एमएमको आई बक्स रेन्ज (eye box range) रहेको छ, जसले लगाउने व्यक्ति थोरै चालमा भएको बेला पनि दृश्यहरूमा एकरूपता कायम राख्न मद्दत गर्दछ ।

लेनोभोका अनुसार यसको डिजाइनले नाक र कानमा पर्ने दबाबलाई कम गर्छ, जसले यो चस्मालाई लामो समयसम्म दैनिक प्रयोगका लागि उपयुक्त बनाउँछ ।

एआई ग्लासेज भीवनमा ह्यान्ड्स-फ्री कल र स्टेरियो अडियोका लागि डुअल माइक्रोफोन र डुअल स्पिकर सेटअप समावेश गरिएको छ । लेनोभोले यस उपकरणमा आफ्नो तियान्क्सी (Tianxi) इन्टेलिजेन्ट असिस्टेन्ट एकीकृत गरेको छ ।

यो असिस्टेन्टले आवाजमा आधारित कमान्ड, तत्काल अनुवाद (रियल-टाइम ट्रान्सलेसन) र जानकारी सोधपुछलाई सपोर्ट गर्दछ । यसको अनुवाद सुविधाले प्रयोगकर्ताको दृश्यावलोकन क्षेत्र (फिल्ड अफ भ्यु) भित्र सिधै द्विभाषी आवाज र लिखित सञ्चार सक्षम पार्छ, जसले यसलाई भिजुअल इन्टरप्रेटरको रूपमा काम गर्न मद्दत गर्छ ।

टेलिप्रम्प्टरको सुविधा

लेनोभोले कन्टेन्ट निर्माताहरू र पब्लिक स्पिकरहरूका लागि डिजाइन गरिएको इनबिल्ट टेलिप्रम्प्टर मोड पनि यसमा थपेको छ । कम्पनीको स्मार्ट रिङ्ग एक्सेसरीसँग जोडिएको खण्डमा प्रयोगकर्ताहरूले भ्युअरहरूबाट नजर नहटाई स्क्रिप्ट स्क्रोल गर्न वा स्लाइड नियन्त्रण गर्न सक्छन् ।

चस्माको साइड टेम्पल्स (कानमा अड्याउने भाग) मा टच कन्ट्रोल प्यानल रहेको छ । जसले प्रयोगकर्ताहरूलाई कल, मेसेज र अन-स्क्रिन सामग्री सजिलै व्यवस्थापन गर्न दिन्छ ।

यस उपकरणमा एउटा एआई नेभिगेसन प्रणाली पनि छ, जसले रियल-टाइम भिजुअल र अडियो मार्गदर्शन प्रदान गर्दछ । यद्यपि, यो सुविधाले हाल एन्ड्रोइड स्मार्टफोनहरूमा मात्र काम गर्दछ ।

डिस्प्ले मोडका लागि यसले मोनोक्युलर र बिनोक्युलर दुवै मोडहरूलाई सपोर्ट गर्दछ । एआई ग्लासेज भीवनको ब्याट्री लाइफको कुरा गर्दा यसले टेलिप्रम्प्टर मोडमा ४ घण्टासम्म साथ दिन्छ ।

त्यस्तै ट्रान्सलेसन मोडमा ८ देखि १० घण्टासम्म, अधिकतम ब्राइटनेस र भोलुममा प्लेब्याक गर्दा २.६ घण्टासम्म यसको ब्याट्री टिक्न सक्छ । यसको स्ट्यान्डबाइ समय भने २५० घण्टासम्म रहेको छ ।

यसले फास्ट चार्जिङ पनि सपोर्ट गर्छ । फुल चार्ज हुन लगभग ४० मिनेट लाग्छ । कनेक्टिभिटीका लागि यसमा ब्लुटुथ ५.४ को प्रयोग गरिएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १८, २०८२ २१:४७