close

२०२७ मा आउने आईफोन '१९' मा सेल्फी क्यामेरा स्क्रिन मुनी लुकाएर ल्याउने योजनामा एप्पल

टेकपाना टेकपाना

कात्तिक २५, २०८२ १०:२१

२०२७ मा आउने आईफोन '१९' मा सेल्फी क्यामेरा स्क्रिन मुनी लुकाएर ल्याउने योजनामा एप्पल

काठमाडौँ । एप्पलले आफ्नो २० औँ वार्षिकोत्सवको अवसरमा सन् २०२७ मा ल्याउने आईफोनको सेल्फी क्यामेरा स्क्रिनमुनि पूरै लुकाउने योजना बनाएको बुझिएको छ । एक चिनियाँ लिकरले यो जानकारी बाहिर ल्याएका हुन् ।

यो नयाँ योजनाले सन् २०२७ को एप्पलको फ्ल्यागशिप आईफोनको डिस्प्लेमा कुनै पनि कटआउट नदेखिने भन्ने पहिलेका रिपोर्टहरूलाई पुष्टि गरेको छ । चीनको सामाजिक सञ्जाल वेइबोमा डिजिटल च्याट स्टेसन नामक अकाउन्टले एप्पल अन्डर-स्क्रिन क्यामेरा प्रविधिको विकास सन् २०२७ मा अपनाउने निर्धारित तालिका अनुसार अगाडि बढिरहेको बताएको छ ।

अन्डर-स्क्रिन क्यामेराको यो प्रविधि आईफोन १८ प्रो मोडेलहरूमा अन्डर-स्क्रिन फेस आईडी प्रविधि सुरु भएको एक वर्षपछि आउने बताइएको छ । एप्पलले २० औँ वार्षिकोत्सवको आईफोनका लागि र्‍याडिकल रिडिजाइनमा काम गरिरहेको खबर छ ।

जसमा चारै किनारमा घुमेको पूर्ण रूपको बेजल-रहित डिस्प्ले समावेश हुन सक्छ । यसबाहेक एप्पलले आईफोन १९ नामकरणलाई छोड्ने बलियो अपेक्षा पनि छ । यसअघि पनि सन् २०१७ मा १० औँ वार्षिकोत्सवको बेला एप्पलले आईफोन ९ लाई छोडेर आईफोन एक्स सार्वजनिक गरेको थियो ।

हाल धेरै एन्ड्रोइड फोनहरूमा अन्डर-डिस्प्ले सेल्फी क्यामेरा सुविधा भए पनि लेन्स डिस्प्लेका तहहरू पछाडि बस्ने भएकाले तस्विरको गुणस्तर सामान्यतया कमजोर हुने गर्छ । एप्पलले यसै कारणले गर्दा यो प्रविधि अपनाउन आनाकानी गरिरहेको थियो ।

यद्यपि कम्पनीले त्यसको समाधानका लागि काम गरिरहेको रिपोर्ट छ । एप्पलको कोरियाली आपूर्तिकर्ता एलजी इनोटेकले निष्क्रिय हुँदा देखिने प्वाल नछाड्ने अन्डर-डिस्प्ले क्यामेराहरू विकास गरिरहेको छ । यी प्रणालीहरूले फ्री-फर्म अप्टिक मल्टिपल-लेन्स एरे प्रयोग गर्दछन् । यसको उद्देश्य तस्विर बिग्रिने समस्यालाई कम गर्न र चमक सुधार गर्नु हो, जसले स्क्रिन पछाडि क्यामेरा राख्दा हुने प्रकाशको क्षतिलाई पूर्ति गर्छ ।

जेपी मोर्गनले हालै एप्पलको पहिलो फोल्डेबल डिभाइसमा भित्री डिस्प्लेमुनि उद्योगकै पहिलो २४-मेगापिक्सेलको क्यामेरा हुने खबर ल्याएको थियो । सामान्यतया अन्डर-स्क्रिन क्यामेराहरूले ४ वा ८ मेगापिक्सेल मात्र प्रयोग गर्ने भएकाले यो रिपोर्टले एप्पलले प्रकाश प्रसारण र तस्विरको गुणस्तरमा ठुलो सफलता हासिल गरेको सङ्केत गरेको छ । एलजी इनोटेकको प्रविधि फोल्डेबल आईफोनमा प्रयोग हुन्छ वा हुँदैन भन्ने स्पष्ट छैन ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०८२ १०:२१