काठमाडौँ । एप्पलको नयाँ मोडेल आईफोन १७ प्रो र प्रो म्याक्स प्रयोगकर्ताले कम प्रकाश (लो-लाइट) मा फोटो खिच्दा पुराना मोडेलको तुलनामा कम सुविधा पाउने भएका छन् । विशेषगरी ब्याकग्राउन्ड ब्लर बनाएर कलात्मक फोटो खिच्न सकिने ‘पोर्ट्रेट मोड’ मा अब ‘नाइट मोड’को सुविधा उपलब्ध नहुने भएको हो ।
एप्पलको आधिकारिक वेबसाइटमा राखिएको सपोर्ट गाइड अनुसार आईफोन १७ प्रो सिरिजमा यो फिचर हटाइएको छ । यसलाई एप्पल केन्द्रित समाचार प्लेटफर्म नाइनटुफाइभ म्याकले पनि पुष्टि गरेको छ ।
कुन-कुन मोडेलमा छ यो सुविधा ?
एप्पलको सपोर्ट पेजका अनुसार पोर्ट्रेट मोडमा नाइट मोड प्रयोग गर्न सकिने सूचीमा आईफोन १२ देखि १६ सम्मका प्रो मोडेलहरू मात्र समावेश छन्:
-
आईफोन १६ प्रो / प्रो म्याक्स
-
आईफोन १५ प्रो / प्रो म्याक्स
-
आईफोन १४ प्रो / प्रो म्याक्स
-
आईफोन १३ प्रो / प्रो म्याक्स
-
आईफोन १२ प्रो / प्रो म्याक्स
यो आकर्षक फिचर भने एप्पलको सबैभन्दा पछिल्लो र महँगो ‘आईफोन १७ प्रो’ यो सूचीमा अटाएको छैन । गत महिना रेडिटमा धेरै प्रयोगकर्ताले आफ्नो नयाँ फोनमा यो फिचर नभएको गुनासो गरेका थिए । द भर्जका प्रविधि पत्रकार टम वारेनले पनि आफ्नो आईफोन १७ प्रोमा पोर्ट्रेट मोड प्रयोग गर्दा नाइट मोडको बटन हराएको र सुरुमा आफूले यसलाई कुनै बग भएको ठानेको बताएका छन् । सामान्य फोटो मोडमा देखिने नाइट मोडको बटन पोर्ट्रेट मोडमा स्विच गर्नासाथ गायब हुने गरेको छ ।
आईफोन १७ प्रोमा सामान्य फोटो मोड, सेल्फी र टाइम-ल्याप्स भिडिओमा भने नाइट मोड अझै प्रयोग गर्न सकिन्छ । तर, कम प्रकाशमा ‘डेप्थ-अफ-फिल्ड’ इफेक्ट सहितको स्पष्ट फोटो खिच्न रुचाउने प्रयोगकर्ताका लागि भने यो फिचर हट्नुले फोनको स्तर खस्किएको महसुस गराएको छ ।
एप्पलले आफ्नो फ्ल्यागसिप फोनबाट यो फिचर किन हटायो वा भविष्यमा सफ्टवेयर अपडेटमार्फत फिर्ता ल्याउँछ कि ल्याउँदैन भन्नेबारे हालसम्म स्पष्ट भइसकेको छैन ।
पछिल्लो अध्यावधिक: मंसिर २०, २०८२ १२:३
