close

अब चेक काट्नु नपर्ने, बीमा सम्बन्धी सबै भुक्तानी विद्युतीय प्रणालीमार्फत

टेकपाना टेकपाना

माघ १, २०८२ १८:२३

एआई सिर्जित तस्बिर एआई सिर्जित तस्बिर

काठमाडौँ । बीमा क्षेत्रमा हुने सबै प्रकारका भुक्तानीहरू आजदेखि अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत हुने भएको छ । नेपाल बीमा प्राधिकरणले दिएको निर्देशनअनुसार बीमा कम्पनीहरूले गर्ने हरेक कारोबार अब डिजिटल माध्यमबाट मात्र गर्नुपर्ने भएको हो ।

प्राधिकरणले गत २२ पुसमा एक परिपत्र जारी गर्दै १ माघदेखि सबै भुक्तानीहरू विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो । यो नियम नेपालमा हाल सञ्चालित जीवन बीमा, निर्जीवन बीमा, लघु बीमा, पुनर्बीमा र बीमा दलाल कम्पनीहरू सबैका लागि लागु हुनेछ ।

प्राधिकरणको परिपत्रमा भनिएको छ, “बीमा कम्पनी वा सम्बद्ध संस्थाहरूबाट हुने सबै प्रकारका भुक्तानीहरू २०८२ माघ १ गतेदेखि सोझै सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन निर्णयानुसार यो परिपत्र गरिएको छ ।”

यो व्यवस्था कार्यान्वयनमा आएपछि अब बीमा कम्पनीहरूले चेक वा नगद मार्फत भुक्तानी गर्न पाउने छैनन् । प्राधिकरणले गत भदौमा जारी गरेको ‘सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य तथा आमविनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८२’ लाई टेकेर यो नयाँ नियम ल्याएको हो । उक्त निर्देशिकामा बीमा शुल्क (प्रिमियम) संकलन गर्दा पनि सुरक्षित विद्युतीय भुक्तानी प्रणालीको प्रयोग गर्नुपर्ने उल्लेख छ ।

निर्देशिकाको प्रावधानअनुसार, बीमा कम्पनीले बीमालेख अन्तर्गतको दाबी भुक्तानी गर्दा अनिवार्य रूपमा प्रचलित कानुन बमोजिम भुक्तानी पाउने व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खातामै रकम जम्मा गरिदिनुपर्नेछ । बीमा क्षेत्रमा पारदर्शिता कायम गर्न र वित्तीय जोखिम न्यूनीकरण गर्न प्राधिकरणले यो कडा कदम चालेको हो ।

 

पछिल्लो अध्यावधिक: माघ २, २०८२ १०:५०