एप्पलको सिस्टममा कमजोरी फेला पार्ने विश्वभरका ३८ अनुसन्धानकर्तामध्ये २ नेपाली
माघ ७, २०८२ १५:२२
काठमाडौँ । टेक जायन्ट एप्पलले आफ्ना विभिन्न डिजिटल प्लेटफर्मलाई सुरक्षित राख्न सघाउने साइबर सुरक्षा अनुसन्धानकर्ता (इथिकल ह्याकर) हरूको पछिल्लो सूची सार्वजनिक गरेको छ । डिसेम्बर २०२५ को सूचीमा एप्पलले विश्वभरका ३८ जना अनुसन्धानकर्तालाई समेटेको छ ।
उक्त सूचीमा दुई नेपाली पनि पर्न सफल भएका छन् ।
एप्पलको सिस्टममा रहेका सुरक्षा कमजोरी (बग) फेला पारी कम्पनीलाई सुरक्षित बनाउन योगदान पुर्याएबापत नेपालका विपिन साउद र सिन्धुराज न्यौपानेलाई सो सूचीमा समावेश गरिएको हो ।
साउद विगत पाँच महिनादेखि नेपाली साइबर सुरक्षा कम्पनी क्रिप्टोजेन नेपालमा अफेन्सिभ सेक्युरिटी एसोसिएटका रूपमा कार्यरत छन् । त्यस्तै, अर्का नेपाली अनुसन्धानकर्ता न्यौपाने विगत दुई वर्षदेखि बगभीमा अफेन्सिभ सेक्युरिटी एनालिस्टका रूपमा काम गर्दै आएका छन् ।
एप्पलले आफ्ना अपरेटिङ सिस्टम र सफ्टवेयरमा हुनसक्ने जोखिम पहिचान गरी त्यसलाई सुधार गर्न सहयोग गर्ने स्वतन्त्र अनुसन्धानकर्तालाई हरेक महिना यसरी नै सम्मान गर्दै आफ्नो वेबसाइटमा नाम समावेश गर्दै आएको छ ।
पछिल्लो अध्यावधिक: माघ ७, २०८२ १६:११
