close

फेसबुक, इन्स्टा र ह्वाट्सएपमा प्रिमियम सब्सक्रिप्सन ल्याउँदै मेटा, विज्ञापनरहित फिचरमा पैसा लाग्ने

टेकपाना टेकपाना

माघ १३, २०८२ १३:५६

फेसबुक, इन्स्टा र ह्वाट्सएपमा प्रिमियम सब्सक्रिप्सन ल्याउँदै मेटा, विज्ञापनरहित फिचरमा पैसा लाग्ने

काठमाडौँ । सामाजिक सञ्जालको दिग्गज कम्पनी मेटा प्लेटफर्मले आफ्ना लोकप्रिय एप फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा सशुल्क प्रिमियम सब्सक्रिप्सन योजना परीक्षण गर्ने तयारी थालेको छ । आगामी केही महिनाभित्रै विभिन्न देशहरूमा रोलआउट हुने अपेक्षा गरिएको यस योजनाले सशुल्क प्रयोगकर्ताहरूलाई एड्भान्स आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षमता र थप नयाँ क्रियटिभ फिचरमा पहुँच दिनेछ ।

मेटाले भर्खरै करिब दुई अर्ब डलरमा खरिद गरेको सिङ्गापुरस्थित एआई स्टार्टअप म्यानस (Manus) का एआई एजेन्टलाई यस प्रिमियम योजनाको मुख्य हिस्सा बनाउने देखिएको छ । म्यानसका एआई एजेन्ट सामान्य च्याटबट भन्दा फरक छन्; जसले न्यूनतम मानवीय अन्तरक्रियामा यात्राको योजना बनाउने, प्रिजेन्टेसन तयार गर्ने वा अन्य जटिल कार्यहरू स्वचालित रूपमा सम्पन्न गर्न सक्ने दाबी गरिएको छ ।

यसका साथै मेटाले आफ्नो भाइब्स (Vibes) नामक एआई भिडिओ तयार पार्ने टुलमा पनि प्रिमियम पहुँच उपलब्ध गराउनेछ । भाइब्सको आधारभूत संस्करण निःशुल्क रहे पनि एड्भान्स फिचरहरू प्रयोग गर्नका लागि प्रयोगकर्ताले शुल्क तिर्नुपर्ने हुन सक्छ ।

ह्वाट्सएपमा पनि प्रयोगकर्ताका लागि एउटा महत्त्वपूर्ण परिवर्तनको सङ्केत देखिएको छ । ह्वाट्सएपले आफ्नो स्टाटस र च्यानल खण्डमा विज्ञापनहरू देखाउन सुरु गरेको छ ।

हालै एपको नयाँ संस्करणमा भेटिएका विवरणहरू अनुसार, यी विज्ञापनहरू हटाउन र पूर्ण रूपमा विज्ञापन रहित अनुभव लिनका लागि प्रयोगकर्ताले मासिक शुल्क तिर्नुपर्ने गरी सब्सक्रिप्सन योजना ल्याउने तयारी कम्पनीले थालेको हो ।

मेटाले फेसबुकमा केही प्रयोगकर्ताहरूका लागि लिङ्क शेयरिङमा पनि परीक्षण गरिरहेको छ । बेलायत र अमेरिकाका केही प्रयोगकर्ताहरूले प्राप्त गरेको नोटिफिकेसन अनुसार, निश्चित सङ्ख्याभन्दा बढी लिङ्क भएका पोस्टहरू शेयर गर्नका लागि अब सब्सक्रिप्सन लिनुपर्ने हुन सक्छ ।

मेटाले एपका आधारभूत सेवाहरू भने सबैका लागि निःशुल्क नै रहने र यो नयाँ प्रिमियम योजना मेटा भेरिफाइड (ब्लु टिक) भन्दा छुट्टै हुने स्पष्ट पारेको छ । ओपनएआई, गुगल र एन्थ्रोपिक जस्ता एआई क्षेत्रका प्रतिस्पर्धीहरूसँग जुधिरहेको मेटाका लागि यो नयाँ सशुल्क मोडेल एउटा महत्वपूर्ण व्यावसायिक मोड हुने अपेक्षा गरिएको छ।

कम्पनीले यो योजना पूर्ण रूपमा लागु गर्नुअघि प्रयोगकर्ताहरूबाट प्रतिक्रिया र सुझावहरू लिने बताएको छ ।

पछिल्लो अध्यावधिक: माघ १३, २०८२ १४:२५