काठमाडौँ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस-एक्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो मागलाई सम्बोधन गर्न अन्तरिक्षमा १० लाख भूउपग्रहहरू प्रक्षेपण गर्न अनुमति माग्दै आवेदन दिएको छ । रोयटर्सका अनुसार, स्पेस-एक्सले अमेरिकी सङ्घीय सञ्चार आयोग (एफसीसी) मा शुक्रबार यो निवेदन दर्ता गराएको हो ।
कम्पनीले "अर्बौँ प्रयोगकर्ताहरूलाई एआई कम्प्युटिङ क्षमता प्रदान गर्नका लागि अर्बिटल डेटा सेन्टर (अन्तरिक्षमा आधारित डाटा सेन्टर) निर्माण गर्ने लक्ष्य राखेको छ । जमिनमा ठुला गोदामहरूमा शक्तिशाली कम्प्युटरहरू राखेर अहिलेका डेटा सेन्टरहरू सञ्चालन गरिन्छ, जसलाई चिसो बनाउन ठुलो मात्रामा ऊर्जा र पानीको आवश्यकता पर्छ ।
एआईको बढ्दो प्रयोगका कारण जमिनमा रहेका डेटा सेन्टरहरूको क्षमता अपुग हुन थालेको स्पेस-एक्सको दाबी छ । अन्तरिक्षमा सौर्य ऊर्जाबाट चल्ने यी डेटा सेन्टरहरू जमिनको तुलनामा बढी किफायती, ऊर्जाको हिसाबले कुशल र वातावरणमैत्री हुने कम्पनीको तर्क छ ।
यस परियोजनालाई स्पेस-एक्सले मानव सभ्यताको विकासको एक महत्त्वपूर्ण कडीका रूपमा व्याख्या गरेको छ । कम्पनीले यसलाई कार्दाशेभ २-स्तरको सभ्यता (Kardashev II-level civilisation) बन्ने दिशामा पहिलो कदम भनेको छ । यस्तो सभ्यताले सूर्यको पूर्ण शक्तिलाई उपयोग गर्न सक्ने क्षमता राख्छ ।
मस्कले सामाजिक सञ्जाल एक्स मार्फत यो योजनाको बचाउ गर्दै भनेका छन्, "अन्तरिक्ष यति विशाल छ कि मानिसको बुझाइभन्दा बाहिर छ । यी स्याटलाइटहरू एक-अर्काबाट यति टाढा हुनेछन् कि एउटाबाट अर्को देख्न पनि गाह्रो हुनेछ ।"
यद्यपि यो योजनाका कारण अन्तरिक्षमा ट्राफिक जाम र सुरक्षाको विषयलाई लिएर विज्ञहरूले चिन्ता प्रकट गरेका छन् । हाल स्पेस एक्सको स्टारलिङ्क नेटवर्क अन्तर्गत करिब १० हजार स्याटलाइट सञ्चालनमा छन् । बीबीसीको रिपोर्ट अनुसार १० लाख थप स्याटलाइट थपिँदा अन्तरिक्षमा फोहोर बढ्ने र स्याटलाइटहरू एक-अर्कामा ठोकिने जोखिम उच्च हुन्छ ।
खगोलविद्हरूले पनि यसअघि नै स्टारलिङ्कका कारण टेलिस्कोपबाट गरिने अनुसन्धानमा बाधा पुगेको गुनासो गरिसकेका छन् । बीबीसीसँग कुरा गर्दै एक विज्ञले अन्तरिक्षमा हार्डवेयरहरूलाई सुरक्षित र चिसो राख्न निकै महँगो र जटिल हुने बताएका छन् ।
स्पेस एक्सको योजना अनुसार यी स्याटलाइट पृथ्वीबाट ५०० देखि २,००० किलोमिटरको उचाइमा रहनेछन् । यो परियोजना कहिलेसम्ममा सम्पन्न हुनेछ भन्ने बारेमा भने आवेदनमा कुनै ठोस समयसीमा उल्लेख नगरिएको बीबीसीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: माघ १८, २०८२ १४:२९
