काठमाडौँ । एप्पलले आफ्नो नयाँ आईफोन १८ प्रो मोडेलका लागि नयाँ र आकर्षक रातो रङलाई प्राथमिकता दिने तयारी थालेको छ । ब्लुमबर्गका मार्क गुर्म्यानलाई उद्धृत गर्दै इनग्याजेटले उल्लेख गरे अनुसार कम्पनीले यस पटक 'लुबुुटिन रेड' (Louboutin red) लाई फ्ल्यागशिप रङको रूपमा परीक्षण गरिरहेको हो ।
यसअघि एप्पलले कस्मिक ओरेन्ज कलरमा ल्याएर चिनियाँ बजारमा ठुलो सफलता पाएको थियो । जसलाई फ्यानहरूले अनौपचारिक रूपमा 'हर्मेस ओरेन्ज' (Hermès orange) नाम दिएका थिए ।
रातो रङले चिनियाँ बजारमा आईफोनको बिक्री अझै बढाउन मद्दत गर्नेछ । चिनियाँ संस्कृतिमा रातो रङलाई भाग्यशाली र सम्पन्नताको प्रतीक मानिने भएकाले यो नयाँ रङ एप्पलका लागि 'स्टाटस सिम्बोल' बन्न सक्ने देखिएको छ ।
आईफोनका लागि बैजनी (purple) र खैरो (brown) रङका बारेमा पनि बजारमा चर्चा चलेको छ । तर ती रङहरू मुख्य रातो रङकै विभिन्न संस्करण वा 'शेड्स' हुन सक्ने अनुमान गरिएको छ । एप्पलका लागि यो आफ्नो परम्परागत शान्त र साधारण रङको शैलीबाट बाहिर निस्केर गरिएको एउटा साहसी प्रयास हुनेछ ।
एप्पलले यसअघि पनि 'प्रोडक्ट रेड'सँगको सहकार्यमा रातो रङका आईफोनहरू बजारमा ल्याइसकेको छ । आईफोन एसई, आईफोन १४ र आईफोन १४ प्लसमा गाढा रातो रङको विकल्प दिइएको थियो । तर प्रो मोडेलका लागि यो स्तरको प्रिमियम रङको प्रयोग एउटा नयाँ प्रयोग हुनेछ ।
यद्यपि एप्पलले आफ्नो बहुप्रतीक्षित 'फोल्डेबल आईफोन' का हकमा भने अलि सुरक्षित बाटो रोज्ने देखिएको छ । गुर्म्यानका अनुसार फोल्डेबल फोनका लागि कम्पनीले कुनै भड्किलो रङको प्रयोग नगरी आफ्ना आधारभूत र साधारण रङहरू नै कायम राख्ने सम्भावना बढी छ ।
पछिल्लो अध्यावधिक: फागुन ११, २०८२ ८:४०
