close

जेफ बेजोसको सङ्घर्ष: अमेजनमा पहिलो १० लाख डलर लगानी जुटाउनु जीवनकै सबैभन्दा कठिन काम

टेकपाना टेकपाना

फागुन ११, २०८२ १२:३०

जेफ बेजोसको सङ्घर्ष: अमेजनमा पहिलो १० लाख डलर लगानी जुटाउनु जीवनकै सबैभन्दा कठिन काम

काठमाडौँ । अहिले अमेजन विश्वकै सबैभन्दा ठुला कम्पनीमध्येको एक हो । जसले हालै वालमार्टलाई उछिनेर फर्च्युन ५०० को पहिलो स्थान कब्जा गरेको थियो । यद्यपि अहिले भने पुनः दोस्रो स्थानमा फर्किएको छ ।

तर यो उचाइमा पुग्नुअघि यसका संस्थापक जेफ बेजोसले भोगेको सङ्घर्ष निकै प्रेरणादायी र चुनौतीपूर्ण छ । फर्च्युनका अनुसार बेजोसले अमेजन सुरु गर्नका लागि आवश्यक पहिलो १० लाख डलरको 'सिड क्यापिटल' (बीउ पुँजी) जुटाउनुलाई आफ्नो जीवनकै "सबैभन्दा गाह्रो काम" भनेका छन् ।

६० मिटिङ र ४० वटा 'हुन्न' भन्ने जवाफ

सन् १९९५ तिरको समयमा अमेजनका लागि लगानी जुटाउन बेजोसले निकै सास्ती खेप्नुपरेको थियो । उनले सम्भावित लगानीकर्ताहरूसँग ६० वटा छुट्टाछुट्टै मिटिङहरू गरेका थिए ।

तीमध्ये ४० जना लगानीकर्ताले उनलाई लगानी गर्न अस्वीकार गरेका थिए । ती ४० वटा 'हुन्न' भन्ने जवाफहरू बेजोसका लागि निकै पीडादायी थिए । किनभने प्रत्येक लगानीकर्तासँगको छलफलका लागि उनले धेरै पटक मिटिङ र निकै मेहनत गर्नुपरेको थियो ।

त्यति बेला मानिसहरूलाई इन्टरनेटको भविष्यमाथि विश्वास थिएन । त्यति बेला लगानीकर्ताहरूको पहिलो प्रश्न नै 'इन्टरनेट भनेको के हो ?' भन्ने हुन्थ्यो । यो कुरा बेजोसले एक अन्तर्वार्ताका क्रममा खुलाएका थिए ।

उनका अनुसार त्यतिखेर धेरैले 'वर्ल्ड वाइड वेब' (डब्लूडब्लूडब्लू) को नाम समेत सुनेका थिएनन् भने यसले व्यापारिक रूपमा कति ठुलो फड्को मार्नसक्छ भन्ने कसैले सोचेका पनि थिएनन् ।

लगानी जुटाउने क्रममा बेजोसले देखाएको इमान्दारीता पनि रोचक छ । उनले आफ्ना सम्भावित लगानीकर्ताहरूलाई स्पष्ट रूपमा भनेका थिए, "तपाईँको लगानी डुब्ने सम्भावना ७० प्रतिशत छ ।"

त्यति बेला त्यसो भन्नु अलि अपरिपक्वता भए पनि त्यो वास्तविकताका रहेको कुरा बेजोसले बताएका छन् । उनले अमेजनको २० प्रतिशत हिस्सालाई ५० लाख डलरको मूल्याङ्कनमा बेचेका थिए, जहाँ २० जना लगानीकर्ताले जनही करिब ५० हजार डलर लगानी गरेका थिए ।

ग्यारेजदेखि अन्तरिक्षसम्मको यात्रा

सन् १९९४ मा सिएटलको एउटा ग्यारेजबाट अनलाइन पुस्तक विक्रेताको रूपमा सुरु भएको अमेजन आज २.२६ ट्रिलियन डलरको कम्पनी बनेको छ । बेजोस अहिले पृथ्वीभन्दा बाहिर अन्तरिक्षमा आफ्नो कम्पनी ब्लु ओरिजिन मार्फत काम गरिरहेका छन् ।

उनी पृथ्वीलाई बचाउनका लागि प्रदूषण फैलाउने उद्योगहरूलाई अन्तरिक्षमा सार्नुपर्ने सोच राख्छन् । उनले आफूलाई एक 'आविष्कारक'को रूपमा चिनाउन रुचाउँछन् र हरेक दिन नयाँ कुराको खोजीमा लाग्ने बताउँछन् ।

एआई र भविष्य

अहिले बेजोसको ध्यान आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा पनि केन्द्रित छ । अमेजनभित्र अहिले एआईका हजारौँ प्रयोगहरूमा काम भइरहेको उनले जानकारी दिएका छन् । उनले एआईलाई बिजुली जस्तै एउटा आधारभूत प्रविधि मानेका छन्, जसले हरेक क्षेत्रलाई अझ राम्रो बनाउनेछ ।

अमेजनले नोभा नामक आफ्नै एड्भान्स एआई मोडेल पनि सार्वजनिक गरेको छ, जसलाई बेजोसले विश्व स्तरीय र प्रतिस्पर्धी मानेका छन् ।

अमेजनले वालमार्टको १३ वर्ष लामो वर्चस्व तोड्दै पहिलो स्थान हासिल गर्नु र जेफ बेजोस करिब २३६ अर्ब डलरको सम्पत्तिसहित विश्वकै धनी व्यक्ति बन्नु पछाडि त्यही सन् १९९५ को सङ्घर्ष र ६० मिटिङको धैर्ययता लुकेको छ ।

बेजोसका अनुसार अमेरिकाको बलियो 'रिस्क क्यापिटल' प्रणालीले गर्दा नै यस्ता साहसिक सपनाहरू साकार हुन सम्भव भएका हुन् ।

पछिल्लो अध्यावधिक: फागुन ११, २०८२ १२:३०