काठमाडौँ । ओपनएआईका सीईओ साम अल्टम्यानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा लाग्न आँटेका युवालाई परम्परागत सल्लाहभन्दा आफ्नै अन्तर्ज्ञानमा विश्वास गर्न सुझाव दिएका छन् । भारतको नयाँ दिल्लीस्थित ‘इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी’को भ्रमणका क्रममा उनले एआई युगमा युवाले गर्ने गल्ती र सम्भावनाका विषयमा आफ्नो धारणा राखेका हुन् ।
एआईलाई आफ्नो करिअर बनाउन खोजिरहेका युवाले गर्ने सबैभन्दा ठुलो गल्ती के हो भन्ने प्रश्नको जवाफ दिँदै अल्टम्यानले आफ्नो दृष्टिकोण प्रस्तुत गरे ।
"I think listening to old people is the biggest mistake young people make. I think the traditional career advice is probably not going to work as well."
— Rohan Paul (@rohanpaul_ai) February 23, 2026
Sam Altman was answering the quetsion -
"what is the biggest mistake you see young people make right now when they apparently… pic.twitter.com/rz3uM6tRNg
“मलाई लाग्छ पाका मानिसको कुरा सुन्नु युवाले गर्ने सबैभन्दा ठुलो गल्ती हो । आगामी दिनमा संसार कस्तो हुनेछ भन्ने अनुमान गर्न र परिवर्तनको दर बुझ्न तपाईंहरूले मेरो अन्तर्ज्ञानलाई पनि विश्वास गर्नु हुँदैन,” उनले भने, “युवाले नै यसलाई सबैभन्दा राम्रोसँग बुझ्छन् । तपाईंले प्राप्त गर्न गइरहेको संसार धेरै फरक हुनेछ, त्यसैले तपाईंले छिट्टै आफ्नो अन्तर्ज्ञानको विकास गरी त्यसमा विश्वास गर्नुपर्छ । परम्परागत करियरको सल्लाह अब सायद प्रभावकारी हुनेछैन ।”
तीव्र रूपमा परिवर्तन भइरहेको सूचना प्रविधिको युगमा अल्टम्यानले आत्मविश्वास र लचकतामा जोड दिएका छन् । एआईको बढ्दो प्रभावका कारण परम्परागत रोजगारी र राज्य वा अन्य पक्षको हस्तक्षेपसम्बन्धी पुराना मान्यता अब करियर छनौटको लागि उपयोगी सूचक नहुन सक्ने उनको भनाइ थियो । उनले विद्यार्थीलाई आफ्नै निर्णयमा विश्वास गर्न र परिवर्तनलाई स्वीकार गर्न आग्रह गरे ।
रोजगारीमा एआईको प्रभावबारे बोल्दै उनले यस विषयमा अतिवादी धारणा नबनाउन आग्रह गरे । “केही रोजगारी पूर्ण रूपमा हराएर जानेछन्,” उनले भने । तर, समयसँगै नयाँ प्रकारका काम सिर्जना हुने कुरामा जोड दिए ।
उनले अगाडि भने, “जसले एआईको बारेमा आफू मात्र उत्साहित वा मात्र त्रसित भएको बताउँछ, ऊ धेरै विचारशील छैन । तपाईंहरूमध्ये धेरैले भविष्यमा त्यस्ता कामहरू गर्नुहुनेछ जुन आजको दिनमा एउटा अवधारणाको रूपमा पनि अवस्थित छैनन् ।”
पछिल्लो अध्यावधिक: फागुन १६, २०८२ १३:४४
