सामाजिक सञ्जालका यी चर्चित अनुहारहरू, जसको ‘क्रेज’ मतपत्रमा देखिएन
फागुन २८, २०८२ १६:९
काठमाडौँ । नेपालमा प्रतिनिधि सभा निर्वाचनको तयारी चलिरहँदा गत महिना छिमेकी देश बंगलादेशमा आम निर्वाचन सम्पन्न भयो । १२ फेब्रुअरीमा भएको निर्वाचनमा फेसबुकमा करिब ७५ लाख फलोअर रहेकी चर्चित नेतृ तास्निम जारा पराजित भएको विषयलाई नेपाली मिडियाले प्राथमिकताका साथ प्रकाशन गरे ।
त्यही समय नेपालमा पनि सामाजिक सञ्जालमा भाइरल र चर्चित अनुहारहरू चुनावी मैदानमा होमिँदै थिए । बङ्गलादेशको उदाहरणपछि सामाजिक सञ्जालको पपुलारिटीले वास्तविक मतदाताको मन जित्न सक्छ कि सक्दैन भन्ने बहस थालियो ।
यतिबेला प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत १६५ ओटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । अन्तिम नतिजा हेर्दा सामाजिक सञ्जालमा लाखौँ फलोअर कमाएका कतिपय चर्चित उम्मेदवारहरू मतपेटिकामा भने निकै पछि परेको देखिएको छ ।
तिनै ‘भाइरल’ उम्मेदवारहरू मध्येका एक हुन्, ऋषि धमला । प्राइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ लगायतका कार्यक्रमबाट देशैभर चिनिएका धमलाको फेसबुक पेजमा सात लाख ५२ हजारभन्दा धेरै फलोअर छन् ।
आफ्नो छविलाई भोटमा बदल्ने दाउसहित उनी मधेस झरेर चुनावी मैदानमा होमिए । आम जनता पार्टीबाट ‘मोबाइल’ चुनाव चिह्न लिएर उनले रौतहट-४ बाट उम्मेदवारी दिएका थिए । मनोनयन दर्ता लगत्तै धमलाले तीव्र रूपमा घरदैलो अभियान चलाए । खेतमा उखु बोकेको, पसलमा जेरी पकाएकोदेखि स्थानीयका दुःख सुनेर भावुक हुँदै रोएकोसम्मका उनका भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भए ।
तर, जब निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भयो, जनमत धमलाको पक्षमा देखिएन । भाइरल धमला जम्मा ६५५ मत प्राप्त गर्दै रौतहट-४ का उम्मेदवारहरूमध्ये छैटौँ स्थानमा सीमित भए । सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पौडेलले ३६ हजार ८७६ मत प्राप्त गर्दै प्रतिनिधि सभामा आफ्नो सिट सुरक्षित गरे ।
धमला मात्र होइनन्, सामाजिक सञ्जालमा चर्चित कयौँ उम्मेदवारहरू प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएका थिए । तीमध्ये कतिपयलाई डिजिटल दुनियाँमा लाखौँ फलोअर हुँदा मतपत्रमा भने सय कटाउन पनि मुस्किल भएको देखिएको छ ।
त्यसको अर्को उदाहरण हुन्, राष्ट्र निर्माण दल नेपालका लागि पर्सा क्षेत्र नं १ बाट उम्मेदवारी दिएका मोहम्मद उमर खान । फेसबुक र टिकटकमा गरेर ५० लाखभन्दा धेरै फलोअर रहेका खानले चुनावमा २४० मतमात्रै प्राप्त गरे । खान पर्सा-१ बाट मत पाउनेहरूको सूचीमा एघारौँ स्थानमा छन् ।
आफूलाई ताइक्वान्दो खेलाडी र समाजसेवी बताउने उमर खानको फेसबुक अकाउन्टमा २० लाख भन्दा धेरै फलोअर छन् । ३२ लाखभन्दा बढी फलोअर टिकटक अकाउन्टमा छन् । यता खानले २४० मत प्राप्त गर्दा सोही क्षेत्रबाट रास्वपाका बुद्धिप्रसाद पन्तले २७ हजार २७४ मत पाएर विजयी भएका छन् ।
रास्वपाबाट कालिकोटमा उम्मेदवारी दिएका प्रकाश न्यौपाने टिकटकमा निकै चर्चित छन् । उनको तीन लाख ५३ हजारभन्दा धेरै फलोअर छन् । निर्वाचनमा भने न्यौपानेले तीन हजार १०१ मत मात्र पाउन सके । उक्त निर्वाचन क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीका महेन्द्रबहादुर शाहीले ११ हजार ७३४ मत सहित जीत आफ्नो नाममा गरेका छन् ।
त्यस्तै, चलचित्र क्षेत्रबाट राजनीतिमा होमिएकी नायिका निशा अधिकारीका लागि पनि यो निर्वाचन सुखद रहेन । काठमाडौँ-५ बाट गतिशील लोकतान्त्रिक पार्टीको ‘ब्याट्री’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएकी अधिकारीले जम्मा ९१ मत मात्र प्राप्त गरिन् । निर्वाचन परिणामअनुसार उनी नवौँ स्थानमा खुम्चिइन् । जब कि, सामाजिक सञ्जालमा उनको उपस्थिति निकै बलियो छ । फेसबुकमा दुई लाख ७ हजार र इन्स्टाग्राममा २ लाख ३ हजारभन्दा बढीले उनलाई पछ्याइरहेका छन् । अधिकारी पराजित भएको सोही क्षेत्रबाट रास्वपाका सस्मित पोखरेल ३० हजार ७३७ मतका साथ विजयी भए ।
प्यूठान-१ मा पनि यो पटक भाइरालिटीले काम गरेन । आफूलाई ‘५१ वर्षको जेन-जी युवा’ भनेर चिनाउने सूर्यबहादुर थापा क्षेत्री निर्वाचनका समयमा निकै भाइरल भए । मतदातासँग नाचेको र खेतबारीमा सघाएको भिडिओका कारण उनको चर्चा चुलिएको थियो । फेसबुकमा ७७ हजार र एक्समा ६१ हजार फलोअर रहेका थापाले १६ हजार ७१० मत प्राप्त गर्दै तेस्रो स्थानमा चित्त बुझाउनुपर्यो । उनलाई रास्वपाका ३१ वर्षीय सुशान्त वैदिकले २७ हजार ४६९ मतसहित पराजित गरे ।
सामाजिक अभियन्ताको छवि बनाएका हेमराज थापाको पपुलारिटी पनि मतमा बदल्न सकेन । फेसबुकमा ६ लाख ४२ हजारभन्दा धेरै फलोअर रहेका थापाले सुदूरपश्चिमको बाजुराबाट उम्मेदवारी दिएका थिए । तर, उनले जम्मा ६ हजार ३५ मत प्राप्त गर्दै तेस्रो स्थानमै चित्त बुझाउनुपर्यो । बाजुराबाट नेपाली काँग्रेसका जनकराज गिरी १७ हजार १७३ मतसहित निर्वाचित भए ।
पत्रकारितामार्फत चर्चामा आएका दिवाकर साहले धनुषा-३ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनको व्यक्तिगत पेजमा ८२ हजार र उनले सञ्चालन गर्ने ‘एचटीपी खबर’ मा सात लाख बढी फलोअर छन् । ‘आँप’ चुनाव चिह्न लिएर मैदानमा उत्रिएका साहले सातौँ स्थानमा रहँदै जम्मा ३९८ मत मात्र पाए । सोही क्षेत्रबाट रास्वपाका मनिष झाले ४३ हजार ९८८ मत ल्याएर सानदार जीत हासिल गरे ।
झापा-२ मा त झन् सामाजिक सञ्जालका दुई चर्चित अनुहारको उपस्थिति थियो । चर्चित कानुन व्यवसायीहरू युवराज सङ्ग्रौला र स्वागत नेपालले त्यहाँबाट उम्मेदवारी दिएका थिए । जसमध्ये सङ्गौलाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । फेसबुकमा ६४ हजार र एक्समा १० हजार फलोअर रहेका सङ्ग्रौलाले ३०५ मत पाए । स्वागत नेपालले भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवारी दिएका थिए । फेसबुकमा एक लाख १५ हजार फलोअर रहेका उनले तीन हजार ९६६ मत प्राप्त गरे । यो क्षेत्रबाट रास्वपाकी इन्दिरा राना मगर ६० हजार ११० मतसहित निर्वाचित भइन् ।
यस्तै, जेनजी आन्दोलनका क्रममा घाइतेको उद्धार गरेर चर्चामा आएकी किशोरी कार्कीले ओखलढुङ्गा-१ बाट उज्यालो पार्टी नेपालको उम्मेदवारी दिएकी थिइन् । ५५ हजार फेसबुक फलोअर भएकी कार्कीले जम्मा ९६५ मत पाइन् । सो क्षेत्रबाट रास्वपाका विश्वराज पोखरेल १३ हजार ९५३ मतसहित विजयी भए ।
सामाजिक सञ्जालका चर्चित अनुहारहरू संसदको यात्रामा पनि
यद्यपि, सबै भाइरल अनुहारले भने यो निर्वाचनमा हार ब्यहोर्नु परेन । सामाजिक सञ्जालको पपुलारिटीलाई लोभलाग्दो मतमा परिणत गर्दै संसदको यात्रा गर्ने उम्मेदवारहरू पनि यो पटक चुनावमा देखिए ।
यसको सबैभन्दा ठुलो उदाहरण रास्वपाले प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन्द्र शाह (बालेन) हुन् । फेसबुकमा ३७ लाखभन्दा बढी फलोअर रहेका बालेनले झापा-५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई करिब ५० हजारको मतान्तरले पराजित गरे ।
यस्तै, सामाजिक सञ्जालमा चर्चित अभियन्ता आशिका तामाङले धादिङ-१ बाट रास्वपाको तर्फबाट जीत हासिल गरिन् । फेसबुकमा २५ लाख फलोअर रहेकी तामाङ अब संसदमा देखिनेछिन् । ८ लाख ४६ हजार फलोअर रहेका केपी खनालले कैलाली-२ बाट र एक लाख ६१ हजार फलोअर रहेका खगेन्द्र सुनारले बाँके-३ बाट रास्वपाकै तर्फबाट संसदको यात्रा तय गरे ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्व शिक्षामन्त्री महावीर पुन म्याग्दीबाट ‘त्रिभुज’ चिह्न लिएर स्वतन्त्र सांसदका रूपमा निर्वाचित भए । त्यस्तै, ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले रास्वपाबाट उम्मेदवारी दिएर गोरखा-२ मा जीत हासिल गरे । यता, भक्तपुर-२ मा एमालेका सचिव महेश बस्नेतलाई पराजित गर्दै पूर्वपत्रकार राजीव खत्री सांसद चुनिएका छन् । चार लाख ६ हजार फेसबुक फलोअर रहेका खत्री पनि सामाजिक सञ्जालको पपुलारिटीलाई भोटमा बदल्न सफल भए ।
पछिल्लो अध्यावधिक: फागुन २९, २०८२ १४:७
