close

फ्याक्टचेक: बालेनलाई प्रम स्वीकार्न हरि ढकालले आनाकानी गरे भन्दै रास्वपा र बालेनको एकता हुनुअघिको भिडिओ भाइरल

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

फागुन २८, २०८२ २३:४८

फ्याक्टचेक: बालेनलाई प्रम स्वीकार्न हरि ढकालले आनाकानी गरे भन्दै रास्वपा र बालेनको एकता हुनुअघिको भिडिओ भाइरल

काठमाडौँ । सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा चितवन-१ बाट नवनिर्वाचित सांसद हरि ढकालले बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीका रूपमा स्वीकार गर्न आनाकानी गरेको भन्दै एक भिडिओ भाइरल भइरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक मतगणनाको काम सकिएर रास्वपाले बहुमत पाइसकेको अवस्थामा सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भएको पाइएको हो ।

टेकपाना फ्याक्टचेक डेस्कको अनुसन्धानबाट उक्त भाइरल भिडिओ रास्वपा र बालेनको एकताभन्दा पहिलेको रहेको पाइएको छ । गत पुसमा रवि लामिछाने र बालेनको वार्ता भइरहेको समयमा लिइएको अन्तर्वार्तालाई हाल निर्वाचित सरकार गठनको तयारी भइरहेको समयमा भ्रमपूर्ण तरिकाले प्रस्तुत गरिएको पुष्टि भएको छ ।

दाबी 

सञ्चारमाध्यम ‘जनआस्था’ ले आफ्नो फेसबुक पेजमा १७ सेकेन्ड लामो रास्वपा नेता हरि ढकालको अन्तर्वार्ताको क्लिप सार्वजनिक गरेको छ । ‘प्रधानमन्त्री स्वीकार्न कन्जुस्याइँ’ क्याप्सनमा १२ मार्च २०२६ दिउँसो २:१९ मा उक्त अन्तर्वार्ता सार्वजनिक गरेको हो । भिडिओमा हरि ढकालले अन्तर्वार्ता लिइरहेका व्यक्तिलाई बालेनलाई प्रधानमन्त्रीका रूपमा स्वीकार्न तयार रहेको विषयमा स्पष्ट बताइरहेका छैनन् । 

यस्तो छ अन्तर्वार्ता 

प्रश्नकर्ता: बालेनलाई प्रधानमन्त्री स्वीकार्न तयार हो ?

हरि ढकाल: कल्ले ?

प्रश्नकर्ता: तपाईँले, रास्वपाले, सभापतिले

हरि ढकाल: मैले एक जनाले स्वीकारेर स्वीकारिन्छ कि ? पार्टीले स्वीकार्नु पर्छ ?

प्रश्नकर्ता: त्यही त हामी सोध्दै छौँ

हरि ढकाल: पार्टीले स्वीकार्नु पर्छ कि ? नेतृत्वले स्वीकार्नुपर्छ ? 

हरि ढकाल: सबै छलफल व्यापक हुँदै छ । 

हेर्नुहोस् भिडिओ, रेकर्डेड भिडिओ र स्क्रिनशट । 

अनुसन्धान

फेसबुक पेज ‘Nepalese Diaspora’ ले बालेनलाई प्रधानमन्त्री स्वीकार नगर्ने सङ्केत रास्वपा नेता हरि ढकालले देखाएको दाबी गर्दै सोही भिडिओ सार्वजनिक गरेको फेला पर्‍यो । “अन्ततः बालेन लाई प्रधानमन्त्री नसुकारर्ने संकेत देखाउदै रा स्व पा नेता हरि ढकाल” शीर्षकमा ११ मार्च साँझ ६:१९ मा उक्त भिडिओ सार्वजनिक गरिएको हो ।

भिडिओलाई यो सामग्री तयार पार्दासम्म १२ हजार ८०० भन्दा धेरैले रियाक्सन गरेका छन् भने १६८ भन्दा धेरै पटक शेयर गरिएको छ । भिडिओलाई ६ लाख ७६ हजारभन्दा धेरैले हेरि सकेका छन् । हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।



‘Dharan Online News’ नामक फेसबुक पेजले पनि सोही भिडिओ राखेको फेला पर्‍यो । ‘मैले एक जनाले स्वीकार गरेर हुन्छ कि पार्टीले स्विकार्नु पर्छ - हरि ढकाल’ शीर्षकमा ११ मार्च २०२६ राति ११:२३ मा उक्त भिडिओ पोस्ट गरेको हो ।

हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट । 

“राजनेता हरि ढकालको कुरो 😜” क्याप्सनसहित एक्स प्रयोगकर्ता ‘Bhim Adhikari’ ले १२ मार्च दिउँसो ३:५५ मा सोही भिडिओ राखेका छन् ।  हेर्नुहोस् पोस्ट र स्क्रिनशट । 

११ मार्च २०२६ साँझ ७:१० मा फेसबुकमा ‘Hulak Sanchar’ ले पनि सोही बालेनलाई एक्लैले प्रधानमन्त्री स्वीकार्न नसक्ने हरि ढकालले बताएको दाबी सहित पोस्ट गरेको फेला पर्‍यो ।  उक्त पोस्टको क्याप्सनमा लेखिएको छ, “बालेनलाई प्रधानमन्त्री स्विकार गर्न म एक्लैले स्विकारेर हुदैन पार्टिले स्विकार्नु पर्छ,नेतृत्वले स्विकार्न पर्छ:हरि ढकाल #haridhakal #Balenshah” । हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

 

हामीले भाइरल भइरहेको हरि ढकालको क्लिपबाट स्क्रिनशट लिएर गुगल रिभर्स इमेज सर्च गर्‍यौँ । 

‘Loktantra Times HD’ नामको फेसबुक पेजबाट उक्त भिडिओ दुई महिनाभन्दा पहिले सार्वजनिक भएको फेला पर्‍यो । “Exclusive News Rabi Balen | रवि बाहेक विकल्प छैन, बालेन प्रधानमन्त्री रवि सभापति भनिएको खबर के हो ?” शीर्षकमा २६ डिसेम्बर साँझ ५:१२ मा सार्वजनिक भएको पोस्ट फेला पर्‍यो ।  

भिडिओको सुरुवातमा हाइलाइट राखिएको छ । जहाँ पत्रकार र हरि ढकालबिच बालेनलाई प्रधानमन्त्री स्वीकार गर्ने नगर्ने विषयमा हाल भाइरल भइरहेको क्लिपसमेत देख्न सकिन्छ । उक्त क्लिपमा बालेनलाई रास्वपाले प्रधानमन्त्रीका रूपमा अघि सार्न खोजेको बारेमा बुझ्न खोजेका छन् । तर ढकालले भने स्पष्ट जवाफ दिएका छैनन् । बरु केही घण्टा पर्खन आग्रह गरेका छन् । 

उक्त भिडिओको हाइलाइट्समा भएको कुराकानी यस्तो छ:

पत्रकार: बालेन बने प्रधानमन्त्री रविको समर्थन ।

हरि ढकाल: कसले भन्यो ?

पत्रकार: रवि र बालेन एक भइसके ।

हरि ढकाल: कसले भन्या ?

पत्रकार: प्रधानमन्त्रीमा बालेन, सकेसम्म सभापतिमा चाहिँ रवि आउन सक्छन् भन्ने कुरा ।

हरि ढकाल: कसले भन्या ?

पत्रकार: समाचारहरू हेर्नुहुन्न आजभोलिको हेडलाइन...

हरि ढकाल: बालेनले भन्नुभयो कि रवि लामिछानेले भन्नुभयो ?

पत्रकार: त्यो भाको छैन केही...

हरि ढकाल: एकछिनमा पर्खिनुस् न ।

पत्रकार: प्रधानमन्त्री स्वीकार्न तयार हो ?

हरि ढकाल: कसले ? 

पत्रकार: तपाईँले, रास्वपाले, सभापतिले ?

हरि ढकाल: मैले एकजनाले स्वीकारेर स्वीकारिन्छ कि पार्टीले स्वीकार्नुपर्छ ?

हेर्नुहोस् भिडिओ र स्क्रिनशट । 

त्यसपछि हामीले रवि लामिछाने र बालेनबिच भएको सहमति खोज्यौँ । बालेनलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने सम्झौता हरि ढकालको अन्तर्वार्ता सार्वजनिक भएको भन्दा ३ दिनपछि भएको फेला पर्‍यो । अर्थात्, बालेन र रविबिच १३ पुस (२८ डिसेम्बर) मा ‘बृहत् एकता’ सहमति भएको थियो । बालेन र रविको एकताका लागि वार्ता भइरहेको समयको अन्तर्वार्ताको क्लिपलाई हाल निर्वाचन सम्पन्न भएर रास्वपाले स्पष्ट बहुमत पाइसकेको अवस्थामा भ्रम फैलाएको पाइयो ।

दाबी

रास्वपा नेता हरि ढकालले बालेनलाई प्रधानमन्त्रीका रूपमा स्वीकार नगर्ने सङ्केत देखाए । 

दाबीकर्ता 

सञ्चारमाध्यम ‘जनआस्था’ सहित फेसबुक पेजहरू  ‘Nepalese Diaspora’, ‘Dharan Online News’, ‘Hulak Sanchar’, एक्स प्रयोगकर्ता ‘Bhim Adhikari’ लगायत । 

तथ्य 

सामाजिक सञ्जालमा भाइरल भइरहेको रास्वपा नेता हरि ढकालको भिडिओ हालको नभई दुई महिनाभन्दा पहिलेको हो । उक्त क्लिप २६ डिसेम्बर (पुस ११ गते) ‘Loktantra Times HD’ मा प्रकाशित अन्तर्वार्ताको एक अंश हो । यो अन्तर्वार्ता रवि लामिछाने र बालेन शाहबिच गत पुस १३ गते (२८ डिसेम्बर) भएको ‘बृहत् एकता’ को सहमति हुनुभन्दा अगाडिको हो । एकताको विषयमा वार्ता चलिरहेको र अन्तिम निष्कर्ष नआइसकेको तत्कालीन अवस्थामा ढकालले प्रधानमन्त्रीको विषयमा स्पष्ट जवाफ नदिई ‘पार्टीले स्वीकार्नुपर्छ, केही घण्टा कुर्नुस्’ भनेका थिए ।

निष्कर्ष 

रास्वपा नेता हरि ढकालले बालेनलाई प्रधानमन्त्रीका रूपमा स्वीकार गर्न आनाकानी गरेको भन्दै सामाजिक सञ्जालमा गरिएका दाबीहरू भ्रामक र सन्दर्भहीन छन् । हाल निर्वाचन सम्पन्न भएर रास्वपाले बहुमत ल्याइसकेको र सरकार गठनको तयारी भइरहेको समयमा रवि र बालेनबिच एकता हुनुभन्दा अगाडिको पुरानो भिडिओलाई काटेर अहिलेकै घटना जसरी प्रस्तुत गरी भ्रम फैलाइएको हो ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन २८, २०८२ २३:५८