फ्याक्टचेक: गृहमन्त्री गुरुङले चिनको नाका भ्रमण गरेपछि अघोषित नाकाबन्दी भएको दाबी भ्रामक
चैत १५, २०८२ १९:५५
काठमाडौँ । गृहमन्त्री बनेको २४ घण्टा नबित्दै सुधन गुरुङले चीनको नाका भ्रमण गरेको दाबी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । श्रम संस्कृति पार्टीका संस्थापक तथा सांसद हर्क साम्पाङले आइतबार (२९ मार्च) बिहान एक पोस्ट गर्दै यस्तो दाबी गरेका हुन् । साम्पाङसहित अन्य प्रयोगकर्ताहरू पनि समान किसिमको दाबी सहित पोस्ट र भिडिओ सामग्री सामाजिक सञ्जालमा राख्दै भाइरल गराइरहेका छन् ।
तर टेकपानाको तथ्यजाँचबाट उक्त दाबी भ्रामक रहेको पाइएको छ । गुरुङ मन्त्री बनेपछि आइतबार दिउँसो (२९ मार्च) सम्म कुनैपनि नाकामा गएका छैनन् । गुरुङ सांसद निर्वाचित भएको केही समय पछि अर्थात् कम्तीमा पनि दुई हप्ता पहिले सिन्धुपाल्चोकको तातोपानी नाका पुगेर भन्सारका कर्मचारीहरूसँग कुराकानी गरेका थिए । यता पहिरोका कारण पछिल्ला केही दिनदेखि चीनबाट तातोपानी नाकाहुँदै कम कन्टेनरहरू भित्रिरहेका छन् । पहिरोका कारण कम सामग्री पठाउन नेपाल पक्षबाट नै चीन पक्षलाई आग्रह गरेको सन्दर्भलाई तोडमोड गरेर भ्रामक सूचना फैलाइएको टेकपानाको तथ्यजाँचबाट पुष्टि भएको हो ।
दाबी
हर्क साम्पाङले फेसबुक पेज ‘Harka Sampang A Revolution’ बाट आइतबार बिहान ७:२८ मा एक पोस्ट गरेका छन् । सुधन गुरुङ गृहमन्त्री भएको २४ घण्टा नपुग्दै चीनको नाकामा पुगेको र चीनले अघोषित रूपमा नाकाबन्दी समेत गरेको भन्दै उनले पोस्टमा लेखेका छन्, “२४ घण्टा नपुग्दै चीनको नाकामा पुग्न भ्याएछ गृह मन्त्री ! चीनले अघोषित नाकाबन्दी नि लाएछ ! यो सरकार कस्को इशारामा चल्दैछ ? लिपुलेक तिर नि पुग्नु है हेर्न !”
उक्त पोस्टमा यो सामग्री तयार पार्दा सम्म २६ हजार भन्दा धेरैले रियाक्सन गरेका छन् भने सात हजार १०० भन्दा धेरैले कमेन्ट गरेका छन् । हेर्नुहोस् पोस्ट,आर्काइभ लिङ्क र स्क्रिनशट ।

अनुसन्धान
टिकटक प्रयोगकर्ता ‘aanjankhadka’ ले २८ मार्च २०२६ राति ९ बजे सुधन गुरुङले चीनको नाका भ्रमण गरे लगत्तै नाकाबन्दी भएको दाबी सहित भिडिओ सार्वजनिक गरेको पाइयो । “गृहमन्त्री सुदन गुरुङ को तातोपानी भन्सार नाका भ्रमण गरे लगत्तै चिन ले गर्यो नाकाबन्दि” क्याप्सनसहित उनले पोस्ट गरेका छन् ।
भिडिओमा उनले भनेका छन्, “गृहमन्त्री सुदन गुरुङले तातोपानी नाका, भन्सार नाकाको भ्रमण गरे लगत्तै चाइनाले अहिले त्यहाँको नाका बन्द गरिदिएको छ र कन्टेनर पनि कटौती गरिदिएको भन्ने कुरा चाहिँ अब समाचार यताउति सुन्नमा आएको छ । के हो कसो हो हैन ? अब सुदन गुरुङले त्यहाँको तातोपानी भन्सार नाका अनुगमन गर्ने बित्तिकै चाहिँ चाइनाले नाकाबन्दी गरिदियो। भनेपछि अब के हुने हो अवस्था ? अन्योल छ अब फिलिपिन्सले उता इजरायल इजरायलको कारणले गर्दाखेरी चाहिँ अब देशमा राष्ट्रिय संकट काल घोषणा गरिसक्यो । अब नेपालमा चाइनाले अब बोर्डर बन्द गरिहाल्यो । अब एउटा इन्डिया तिरबाट खुल्ला छ । अब त्यो पनि बन्द गर्दे हुन्थ्यो मेरो लागि चाहिँ हैन, त्यो पनि बन्द गर्दे हुन्थ्यो त्यो बोर्डर पनि । नाकाबन्दी त्यताबाट पनि लागे कमसेकम काठमाडौँमा थुप्रिएर ती अहिले आन्दोलन गर्दै यता र दायाँ र बायाँ अशान्ति मच्चाउँदै हिँड्नेहरू कमसेकम आफ्नो-आफ्नो घर जान्थे अनि ती बाँझो खेतबारी कमसेकम जोत्थे होलान् नि हैन ? हराभरा हुन्थ्यो होला नि । अब के हुने हो अवस्था अन्योल छ । अब फिलिपिन्सले संक्रमण काल राष्ट्रिय संक्रमण संक्रमण काल चाहिँ घोषणा गर्देको, विश्वमा वर्ल्डमै पहिलो देश भइसक्यो यो युद्धको कारणले गर्दा । अब नेपाल पनि लगभग लगभग त्यही अवस्थामा होला हैन ?”
हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट ।

हर्क साम्पाङको स्टाटसलाई नै आधार बनाएर ‘नेपाल फेस’ नामक अनलाइन न्युज पोर्टलले एक समाचार सार्वजनिक गरेको फेला पर्यो । उक्त समाचारको शीर्षकमा लेखिएको छ, “मन्त्री भएको २४ घन्टा नबित्दै चीनको नाका तातोपानी पुग्नेले लिपुलेकतिर नि हेर्नू : हर्क साम्पाङ”
तर उक्त समाचारको शीर्षकमा भनिएको जस्तो ‘तातोपानी नाका’ भनेर हर्क साम्पाङले आफ्नो स्टाटसमा भने किटानी गरेका छैनन् । समाचारको लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट ।
२८ मार्च राति ९:५५ मा फेसबुक प्रयोगकर्ता ‘Madhav Pandey’ ले “कति सक्तिसाली गृहमन्त्री पाइलाटेक्नेबित्तिकै नाकै बन्द हुने ! #sudangurung #nepalSarkar #allfolwors !” क्याप्सनसहित भिडिओ सामग्री सार्वजनिक गरेको फेला पर्यो । उक्त समाचारमा गृहमन्त्री सुधन गुरुङले चीनको तातोपानी नाकाको अनुगमन गरे लगत्तै नाकाबन्दी लगाएको दाबी गरिएको छ । हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।

हामीले उक्त भिडिओबाट किफ्रेम निकालेर सर्च गर्यौँ । सर्च गर्दा उक्त समाचार ‘Motivate News’ नामक फेसबुक पेजबाट प्रकाशित भएको भिडिओ सामग्रीलाई डाउनलोड गरेर ‘Madhav Pandey’ ले सार्वजनिक गरेको पाइयो । तर ओरिजिनल भिडिओलाई मोटिभेसन न्युजले आफ्नो फेसबुक पेजबाट हटाइ सकेको छ ।
हामीले गृहमन्त्री सुधन गुरुङले मन्त्री बनेको २४ घण्टा पनि नबित्दै नाकाको भ्रमण गरेको दाबी सामाजिक सञ्जालमा भाइरल भएको पाइएपछि यस विषयसँग सम्बन्धित समाचार खोज्ने प्रयास गर्यौँ । ‘सुधन गुरुङ live’, ‘गृहमन्त्री गुरुङ’, ‘गृहमन्त्री गुरुङ नाका’, ‘चिनियाँ नाका गृहमन्त्री निर्देशन’, ‘गृहमन्त्री गुरुङ नाका स्थलगत भ्रमण’ लगायतका किवर्ड राखेर गुगल एड्भान्स सर्चका साथै फेसबुक, युट्युब, एक्स लगायतका सामाजिक सञ्जालमा सर्च गर्यौँ । तर सुधन गुरुङ गृहमन्त्री हुने बित्तिकै नाका भ्रमणमा गएको दाबीलाई पुष्टि गर्न सक्ने प्रमाणहरू फेला परेनन् ।
यद्यपि गुरुङ गृहमन्त्री बन्नु अघि सिन्धुपाल्चोकको तातोपानी नाकामा पुगेको समाचार भने फेला पर्यो । ‘कर्मचारी प्रेस’ नामक अनलाइन न्युज पोर्टलले ११ चैत (२५ मार्च) मा “सुधन गुरुङको अनाधिकृत निर्देशनपछि चीन-नेपाल व्यापार प्रभावित, जाँच कडाइका कारण कन्टेनर चीनमै रोकिए” शीर्षकमा समाचार राखेको फेला पर्यो । उक्त समाचारमा ‘गत आइतबार’ सुधन गुरुङले तातोपानी नाकाको भ्रमण गरेको भनेर उल्लेख गरिएको छ । हामीले कर्मचारी प्रेसले राखेको सुधन गुरुङको तस्बिर गुगल रिभर्स इमेज सर्च गरेर हेर्यौँ । यसरी हेर्दा उक्त तस्बिर १५ मार्च (चैत १ गते) राति ८:०० बजे ‘Namaste Sindhupalchowk’ नामक फेसबुक पेजमा राखिएको फेला पर्यो । उक्त तस्बिरमा सुरक्षाकर्मी वरिपरि देखिएका छन् भने त्यसको बिचमा सुधन गुरुङ छन् ।
Ningma Thilen ले १५ मार्च दिउँसो ३:२१ मा सार्वजनिक गरेको एउटा भिडिओ फेला पर्यो । २७ सेकेन्ड लामो रिल्समा गुरुङले सेतो खादा लगाएका छन् । उक्त खादामा रातो रङमा ‘तातोपानी भन्सार’ लेखिएको छ । भिडिओमा गुरुङ सुरक्षाकर्मी र अन्य व्यक्तिसँग कुराकानी गरिरहेको देखिएका छन् । उक्त भिडिओलाई यो सामग्री तयार पार्दा सम्म चार लाख ८८ हजारभन्दा धेरैले हेरिसकेका छन् । हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।
सुधन गुरुङ कम्तीमा पनि दुई हप्ता अघि तातोपानी नाकामा गएको देखिने भिडिओ सामग्री फेला पारेपछि हामीले तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडाललाई चीनको अघोषित नाकाबन्दीको सम्बन्धमा गरिएको दाबीका बारेमा प्रश्न गर्यौँ । टेकपाना फ्याक्ट चेक टिमसँग टेलिफोन सम्पर्कमा जोडिएका उनले चीनले अघोषित नाकाबन्दी गरेको समाचार सत्य नभएको बताए ।
उनले भने, “उहाँ मन्त्री भएपछि आउनुभएको होइन र सांसद भएपछि चाहिँ एक पटक आउनु भएको थियो । यहाँ के-कसो छ भनेर सोधखोज गर्नुभएको थियो । हामीले यहाँको अवस्थाका बारेमा जानकारी गराएका थियौँ ।”
तर कुनै एउटा सांसद गएको कारण नै भन्सार नाकामा कन्टेनर आउन कम हुने कुरामा सत्यता नभएको बताउँदै उनले थपे, “माननीयहरू भन्सार नाकामा आएर सोधखोज गर्नु सामान्य कुरा हो । यदि हामीलाई असजिलो परेको छ भने यसको पनि जानकारी गराउँछौँ । यो सामान्य विषय हो । कहाँदेखि आएको सामान माननीय आउने बित्तिकै कमी हुने वा धेरै हुने हुन्छ र ! यो सत्य होइन ।”
पछिल्लो चार दिनदेखि तातोपानी नाकाको सडक अवरुद्ध भएका कारण चीनबाट नै कम कन्टेनर पठाउन नेपाल पक्षबाट अनुरोध गरिएको उनले बताए । उनका अनुसार कोदारीमा सुक्खा पहिरो गएको र त्यसमाथी पानी पर्दा थप सडक अवरुद्ध भएको हो ।
प्रमुख भन्सार अधिकृत चुँडालले भने, “तीन चार दिनदेखि बाटो अवरुद्ध भएको छ । त्यसैले बाटोमा कन्टेनरहरू अस्तव्यस्त भएका कारण केही दिन कम कन्टेनर पढाउन र बाटो मर्मत भएपछि बाँकी कन्टेनर पठाइदिन भनेर चीन पक्षलाई अनुरोध गरेका छौँ । त्यसले गर्दा गाडीहरू आउन कम भएका हुन् ।आजसम्म पनि बाटो बनाउने काम भइरहेको छ । सायद आज बाटो बनिसक्यो भने भोलिदेखि कन्टेनरहरू सामान्य रूपमा आउन थाल्छन् होला ।”
दाबी
नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार सम्हालेको २४ घण्टा नबित्दै चीनसँगको सीमा नाका भ्रमण गरे र त्यस लगत्तै चीनले नेपालमाथि 'अघोषित नाकाबन्दी' लगायो ।
दाबीकर्ता
श्रम संस्कृति पार्टीका संस्थापक तथा सांसद हर्क साम्पाङ, टिकटक प्रयोगकर्ता ‘aanjankhadka’ फेसबुक प्रयोगकर्ता ‘Madhav Pandey’ 'नेपाल फेस' सहित सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
गृहमन्त्री नियुक्त भएपछि सुधन गुरुङ कुनै पनि नाकाको भ्रमणमा गएका छैनन् । उनी करिब दुई हप्ता अघि (सांसदको हैसियतमा) तातोपानी नाका भने पुगेका थिए । जसलाई अहिले मन्त्री भएपछिको भ्रमण भनी गलत व्याख्या गरिएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालका अनुसार चीनले कुनै नाकाबन्दी गरेको छैन । कोदारी क्षेत्रमा गएको सुक्खा पहिरो र वर्षाका कारण सडक अवरुद्ध भएकोले बाटो मर्मत नहुन्जेल कम कन्टेनर पठाउन नेपाल पक्षले नै चिनियाँ पक्षलाई अनुरोध गरेको हो । सोही कारण केही दिनदेखि नेपालमा कन्टेनर कम भित्रिएका हुन् ।
निष्कर्ष
गृहमन्त्री गुरुङ मन्त्री भएपछि चिनियाँ नाकाको भ्रमणमा गएको र चीनले नाकाबन्दी गरेको दाबी भ्रामक हो ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: चैत १५, २०८२ १९:५५
