close

नागरिकको डेटा सुरक्षित नभए असफल मात्र हैन, निकै महँगो साबित हुनसक्छ डिजिटल नेपाल

विजय लिम्बु विजय लिम्बु

चैत १८, २०८२ ९:२१

नागरिकको डेटा सुरक्षित नभए असफल मात्र हैन, निकै महँगो साबित हुनसक्छ डिजिटल नेपाल

मैले वर्षौंदेखि दक्षिण एसियाका सरकारले डिजिटल रूपान्तरणका लागि देखाएको हतारो नजिकबाट नियालिरहेको छु । खासगरी यसमा के देखिन्छ भने नयाँ पोर्टलहरू लन्च हुन्छन्, मन्त्रीहरूले गर्वका साथ ड्याशबोर्ड देखाउँछन् र यसैमा नागरिक खुसी हुन्छन् । तर त्यसको ६ महिना नबित्दै कतै न कतै डेटा ब्रिच हुन्छ । कुनै ह्याकर फोरममा नागरिकका संवेदनशील विवरण विक्रीका लागि राखिन्छन् । 

सरकारी अधिकारीले ‘हामी यसलाई गम्भीरताका साथ लिइरहेका छौँ’ भन्ने एउटा बेतुकको विज्ञप्ति निकाल्छन् । त्यसपछि परिस्थिति फेरि जस्ताको तस्तै रहन्छ । यस पटक नेपालको हकमा स्थिति फरक हुनेछ भन्ने मलाई आशा छ । तर वर्तमान अवस्था हेर्दा म त्यति ढुक्क हुन सकिरहेको छैन ।

सपना ठुलो छ, तर उत्तिकै जोखिम पनि

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को १०० बुँदे ‘शासकीय सुधार कार्यसूची’ मा समावेश एजेन्डा नेपालको इतिहासकै सबैभन्दा साहसिक कदममध्ये एक हो । सरकारी कार्यालय धाउनु नपर्ने गरी फेसलेस राहदानी वितरण, एउटै राष्ट्रिय परिचयपत्रबाट सबै सरकारी सेवाको पहुँच, नागरिकको आर्थिक सम्पत्तिको डिजिटल अभिलेख, सबै सरकारी अस्पतालमा इलेक्ट्रोनिक स्वास्थ्य रेकर्ड र १७ वटै मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयसँग प्रत्यक्ष जोड्ने एउटै केन्द्रीकृत प्लेटफर्म बनाउने योजना कार्यसूचीमा अटाएका छन् ।

यो पक्कै पनि प्रभावशाली छ । उत्तिकै आवश्यक पनि हो । तर यसको जग भने सन् २००८ मा लेखिएको साइबर सुरक्षा कानुनको फ्रेमवर्कमा आधारित छ ।

यसको अर्थ के हो भने नेपालको आधारभूत साइबर कानुन ‘विद्युतीय कारोबार ऐन २०६३’ को मस्यौदा आईफोन बन्नुभन्दा अघि नै तयार पारिएको थियो । यो कानुन क्लाउड कम्प्युटिङ र र्‍यान्समवेयर जस्ता आधुनिक डिजिटल जोखिम देखा पर्नुभन्दा पहिले नै लागु भएकाले यसले अहिलेका यस्ता समस्यालाई पर्याप्त रूपमा सम्बोधन गर्न सकेको छैन । 

गोपनीयता ऐन २०७५ र राष्ट्रिय परिचयपत्र सम्बन्धी ऐन २०७६ जस्ता नयाँ कानुन त आए । तर ती सबै टुक्रा-टुक्रामा छन् । तिनले एउटा पूर्ण डिजिटल गभर्नेन्स प्रणालीलाई समेट्न सकेका छैनन् । 

चर्चा नभएको राष्ट्रिय परिचयपत्रको समस्या 

मलाई सबैभन्दा बढी चिन्ता लाग्ने विषय नै यही हो । सम्पूर्ण १०० बुँदे सूचीभित्रका डिजिटल एजेन्डा एउटै कुरामा टिकेका छन् । त्यो हो, हरेक सरकारी सेवा प्राप्त गर्नका लागि राष्ट्रिय परिचयपत्रलाई एकमात्र सर्वमान्य आधार मानिनु । यो सिङ्गो देशको लागि एउटा यस्तो जोखिमपूर्ण विन्दु हो, जहाँ केही गडबड भयो भने सम्पूर्ण प्रणाली नै ध्वस्त हुन सक्छ ।

इन्जिनियरिङमा ‘कहिल्यै पनि सिङ्गल पोइन्ट अफ फेलियर नबनाउनु’ भन्ने नियम छ । तर, नेपालले ३ करोड जनताका लागि ठ्याक्कै त्यही गरिरहेको छ । यदि एउटा मात्र प्रणालीमा गल्ती भयो वा डेटा चोरी भयो भने देशको पुरा सिस्टम नै ठप्प हुन सक्छ । त्यसैले राष्ट्रिय परिचयपत्र जोखिम मात्र नभई टिकिङ क्लक (जुनसुकै बेला निम्तिन सक्ने सङ्कट) पनि हो ।

यसको व्यवहारिक अर्थ के होला, एक पटक सोच्नुस् त । यदि कसैले राष्ट्रिय परिचयपत्रको डेटाबेस ब्रिच गर्‍यो भने (म यहाँ ‘यदि’ भन्दा पनि ‘कुनै दिन’ भन्न खोजिरहेको छु किनभने ढिलो-चाँडो हरेक ठुला डेटाबेसमाथि आक्रमणको प्रयास हुन्छ नै) उनीहरूले कुनै एक प्रकारको डेटा मात्र चोर्दैनन् । उनीहरूले तपाईंको स्वास्थ्य विवरण, आर्थिक विवरण, नागरिकताका कागजात र यदि तपाईं सरकारी कर्मचारी हुनुहुन्छ भने तपाईंको रोजगारीको विवरणमा पहुँच पाउने मास्टर कि (स्केलेटन की) नै पाउँछन् । अर्थात् तपाईंसँग जोडिएका सबैथोकको एक्सेस उनीहरूसँग हुन सक्छ ।

नेपालमा पहिचान व्यवस्थापन र गोपनीयता सम्बन्धी कानुन नभएका होइनन् । तर, यसमा स्पष्ट प्राविधिक र सञ्चालन मापदण्ड तोक्ने विस्तृत कानुनी संरचनाको भने अभाव छ । जसले निम्न कुराहरूलाई समेट्न सकोस्:

  • डेटा स्टोरेज र इन्क्रिप्सन

  • एक्सेस कन्ट्रोल र अथेन्टिकेसन

  • बायोमेट्रिक डेटा प्रोटेक्सन

  • इन्सिडेन्ट रेस्पोन्स र सिस्टम कम्प्रोमाइज

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ ले कसलाई परिचयपत्र वितरण गर्ने भन्ने खुलाएको छ । तर डेटा सङ्कलन गरिसकेपछि त्यसलाई कसरी सुरक्षित राख्ने भन्ने विषयलाई भने यसले नजरअन्दाज गरेको छ । यो मस्यौदाको कमजोरी मात्र नभई डिजाइनकै कमजोरी हो । तीन करोड नागरिकको कहिल्यै प्रतिस्थापन गर्न नमिल्ने बायोमेट्रिक डेटाको व्यवस्थापन गर्ने सन्दर्भमा यो भिन्नताले अत्यन्तै ठुलो अर्थ राख्छ ।

भारतले ‘आधार’ जस्तै मिल्दोजुल्दो एकल-पहिचान प्रणाली निर्माण गर्‍यो र त्यो लागु भएपछि देखिएका सुरक्षा कमजोरी समाधान गर्न वर्षौं समय खर्चियो । इस्टोनियाको डिजिटल आईडी प्रणालीलाई प्रायः सबैभन्दा उत्कृष्ट नमुना मानिन्छ । तर त्यसलाई पनि हालको सुरक्षा परिपक्वताको स्तरमा पुग्न करिब दुई दशक लाग्यो । यता नेपालले भने आवश्यक कानुनी तथा प्राविधिक सुरक्षा संरचना स्थापना नै नगरी राष्ट्रिय परिचयपत्रलाई तुरुन्तै विभिन्न प्रणालीको मेरुदण्ड बनाउने प्रस्ताव गरिरहेको छ ।

डेटा सुरक्षा निकायको अभाव

गोपनीयता ऐन २०७५ ले नागरिकको जानकारी अनिवार्य रूपमा सुरक्षित राख्नुपर्ने व्यवस्था गरेको छ । तर, गोपनीयताका यी नियम कार्यान्वयन गर्ने, डेटा चोरीको अनुसन्धान गर्ने, दोषीलाई दण्ड दिने वा नागरिकको आफ्नो व्यक्तिगत डेटामाथिको अधिकारलाई सुरक्षित गर्ने एउटा छुट्टै ‘डेटा प्रोटेक्सन अथोरिटी’ (डेटा सुरक्षासम्बन्धि प्राधिकरण) नेपालमा छैन ।

सन् २०२६ भइसक्यो, तर त्यस्तो ‘प्राधिकरण’ अझै स्थापना हुन सकेको छैन । यसैबिच, सरकारले नेपालको इतिहासमै पहिलो पटक नागरिकका धेरैभन्दा धेरै डेटालाई केन्द्रीकृत गर्नेतर्फ कदम चालिरहेको छ । स्वास्थ्य विवरण, आर्थिक विवरण, गुनासो, निजामती कर्मचारीको कार्यसम्पादन विवरण; यी सबै सरकारी प्रणालीमा भण्डारण भइरहेका छन् । तर, यी डेटा कसरी भण्डारण गरिन्छ, यसमा कसले पहुँच पाउँछ वा डेटा चुहावट हुँदा त्यसको व्यवस्थापन कसरी गरिन्छ भनेर अनुगमन गर्ने कुनै स्वतन्त्र नियामक निकाय छैन ।

यो सामान्य प्रशासनिक कमजोरी मात्र नभई नेपालको डिजिटल सुशासन संरचनाकै एउटा संस्थागत कमजोरी हो । ‘डेटा संरक्षण प्राधिकरण’ स्थापना गर्न नयाँ डेटा संरक्षण कानुन बनाएर वा विद्यमान कानुनमा संशोधन गरेर स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने हुन्छ । हरेक ठुला डिजिटल प्रणाली जिम्मेवारपूर्ण डेटा व्यवस्थापनमा नै निर्भर हुने भएकाले यसलाई दीर्घकालीन सुधारको विषयको रूपमा नभई तत्कालको प्राथमिकताका रूपमा लिइनुपर्छ ।

यदि केही गलत भइहाल्यो भने के हुन्छ ?

आज नभए भोलि, कुनै न कुनै प्रणालीमा समस्या अवश्य आउँछ । यो निराशावादभन्दा पनि जटिल प्रणालीको प्रकृति नै यस्तै हुन्छ । त्यसपछि के हुन्छ त ? मुख्य प्रश्न नै यही हो ।

हाल नेपालमा डेटा चुहावट हुँदा अनिवार्य रूपमा जानकारी गराउनुपर्ने (breach notification) स्पष्ट र विस्तृत कानुनी संरचना छैन । उदाहरणका लागि यदि डिजिटल स्वास्थ्य विवरण प्रणाली कम्प्रोमाइज (ह्याक) भयो भने प्रभावित बिरामीलाई निश्चित समयभित्र जानकारी दिनैपर्ने कुनै ठोस कानुनी बाध्यता छैन । त्यसैगरी यदि कुनै आर्थिक वा प्रशासनिक डेटाबेसको डेटा ब्रिच भयो भने समयमै नियामक निकाय वा सर्वसाधारणलाई जानकारी गराउनुपर्ने कुनै मापदण्डसहितको कानुनी दायित्व हामीकहाँ छैन ।

यो कुनै काल्पनिक चिन्ता होइन । सार्वजनिक सेवाका पोर्टल र प्रशासनिक डेटाबेस लगायतका सरकारी प्लेटफर्ममा डेटा बाहिरिने र सिस्टम कम्प्रोमाइज हुने थुप्रै घटना नेपालले पहिले नै भोगिसकेको छ । यस्ता घटनामा प्रायः एउटै प्रवृत्ति देखिन्छ । त्यो हो, डेटा ब्रिच हुन्छ, एउटा सामान्य विज्ञप्ति जारी गरिन्छ । तर, त्यसपछि कुनै व्यवस्थित अनुगमन नै हुँदैन । स्पष्ट कानुनी दायित्वको अभावले नै यस प्रकारको प्रवृत्तिलाई प्रश्रय दिइरहेको देखिन्छ ।

अन्य देशले स्पष्ट कानुनी व्यवस्था मार्फत यो कमजोरीलाई सम्बोधन गरिसकेका छन् । उदाहरणका लागि युरोपेली सङ्घको ‘जनरल डेटा प्रोटेक्सन रेगुलेसन’ (जीडीपीआर) ले निश्चित प्रकारका डेटा ब्रिचका घटनालाई ७२ घण्टाभित्र रिपोर्ट गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । अस्ट्रेलिया जस्ता देशहरूले डेटा ब्रिचका घटना भोगे पछि अनिवार्य रूपमा जानकारी दिनुपर्ने प्रणाली लागु गरेका छन् ।

यस विपरीत नेपालसँग भने योसँग तुलना गर्न योग्य कुनै कानुनी संयन्त्र अझै बन्न सकेको छैन ।

त्यसोभए नेपालले अझै के सुधार्न सक्छ ?

मेरो विचारमा यो एजेन्डा अगाडि बढाउनु एकदमै सही छ । नेपाललाई यसको आवश्यकता पनि छ । बालेन शाहलाई सत्तामा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको ‘जेन-जी’ पुस्ताले वास्तवमै काम गर्ने सरकार धेरै लामो समयदेखि पर्खिरहेको छ ।

तर गलत तरिकाले गरिएको डिजिटल रूपान्तरण असफल हुने मात्र नभई निकै महँगो साबित हुन्छ । सार्वजनिक रूपमा उदाङ्गो हुन्छ र यसले वर्षौंसम्म जनताको विश्वास गुमाउने वातावरण सिर्जना गर्छ । मैले अन्य देशमा पनि यस्तो परिस्थिति सिर्जना भएको देखेको छु । वास्तवमा सरकारी प्रणालीबाट आफ्नो डेटा चोरी हुँदा नागरिक ह्याकरसँग रिसाउँछन् नै साथसाथै समग्र डिजिटल सरकारप्रतिकै विश्वास पनि गुम्न पुग्छ । एक पटक त्यस्तो अविश्वासको खाडलमा परिसकेपछि त्यहाँबाट बाहिर निस्कन सकस हुन्छ ।

राम्रो कुरा के हो भने नेपालसँग अझै पनि यसको जग बलियो बनाउने समय बाँकी नै छ । सबै प्रणाली पूर्ण रूपमा सञ्चालनमा आइसकेका छैनन् । राष्ट्रिय परिचयपत्र अझै पनि हरेक ठाउँमा अनिवार्य सर्वमान्य आधार बनिसकेको छैन । आर्थिक अभिलेख प्रणाली पनि पूर्ण रूपमा सञ्चालनमा आइसकेको छैन । हामीसँग अझै सम्भवतः ६० देखि ९० दिनको समय छ । यो अवधिमा कानुनी पूर्वाधार र सुरक्षा परीक्षणमा सही लगानी गर्न सकियो भने, घटना भइसकेपछि मर्मत गर्नुको सट्टा यी प्रणालीलाई कसरी सुरक्षित रूपमा निर्माण गर्ने भनेर सुरुमै सही दिशा दिन सकिन्छ ।

नेपाल सरकारले के गर्नुपर्छ ?

१) विस्तृत डेटा संरक्षण कानुन लागु गर्ने: वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ लाई आधार मान्दै र थप सुदृढ गर्दै एउटा विस्तृत ‘डेटा संरक्षण कानुन’ ल्याउने । यसले डेटा प्रशोधन, प्रयोगकर्ताका अधिकार (पहुँच, सच्याउने र मेटाउने), मन्जुरी, जवाफदेहिता र सीमापार डेटा सुशासन सम्बन्धी स्पष्ट सिद्धान्त स्थापित गर्न सकोस् ।

२) स्वतन्त्र डेटा संरक्षण प्राधिकरण गठन गर्ने: सार्वजनिक र निजी दुवै क्षेत्रमा डेटा संरक्षणको कायम गर्न र पालनाको अनुगमन गर्न वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ ले परिकल्पना गरेअनुरूप पर्याप्त कानुनी अधिकार, स्रोतसाधन र स्वायत्ततासहितको एक स्वतन्त्र ‘डेटा संरक्षण प्राधिकरण’ गठन गर्ने ।

३) छुट्टै साइबर सुरक्षा ऐन लागु गर्ने: विद्युतीय कारोबार ऐन, २०६३ र राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० ले पूर्ण रूपमा समेट्न नसकेका कमीकमजोरीलाई सम्बोधन गर्दै साइबर अपराध रोकथाम, महत्त्वपूर्ण पूर्वाधारको संरक्षण र ‘इन्सिडेन्ट रेस्पोन्स’का लागि स्पष्ट कानुनी संरचना र संस्थागत अधिकार प्रदान गर्ने गरी एउटा छुट्टै ‘साइबर सुरक्षा ऐन’ लागु गर्ने ।

४) राष्ट्रिय परिचयपत्रका लागि साइबर सुरक्षा निर्देशिका बनाउने: संवेदनशील बायोमेट्रिक र पहिचान सम्बन्धी डेटा सुरक्षित राख्न राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० को मर्म अनुरूप राष्ट्रिय परिचयपत्र प्रणालीका लागि एउटा विस्तृत साइबर सुरक्षा निर्देशिका तर्जुमा गर्ने ।

५) ‘डेटा ब्रिच नोटिफिकेन’लाई बाध्यकारी बनाउने: विद्यमान कानुनी संरचना (जस्तै: वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ र विद्युतीय कारोबार ऐन, २०६३) अन्तर्गत ‘अनिवार्य डेटा चुहावट जानकारी सम्बन्धी नियमावली’ जारी गर्ने । यसले डेटा चुहावट हुँदा सम्बन्धित निकाय र प्रभावित व्यक्तिलाई समयमै जानकारी गराउने कार्यलाई अनिवार्य गरोस् ।

६) ‘आईटीईआरटी’लाई सुधार र सुदृढ गर्ने: २०७५ को निर्देशिका अन्तर्गत स्थापना भएको ‘सूचना प्रविधि आकस्मिक सहायता समूह’ (Information Technology Emergency Response Team-ITERT) को स्पष्ट कार्यादेश, प्राविधिक क्षमता र सञ्चालन स्वायत्तता सुनिश्चित गर्दै यसलाई थप सुधार र सुदृढ गर्ने ।

७) राष्ट्रिय साइबर सुरक्षा केन्द्रको क्षमता अभिवृद्धि गर्ने: ‘डिजिटल नेपाल फ्रेमवर्क’ र ‘राष्ट्रिय साइबर सुरक्षा नीति, २०८०’ का लक्ष्य अनुरूप ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ को अधिकार, समन्वयकारी भूमिका र वित्तीय स्रोतमा वृद्धि गर्ने ।

निष्कर्ष

नेपालले यस्तो डिजिटल नेपाल पाउनुपर्छ, जसले काम मात्र नभई नागरिकको गोपनीयताको पनि रक्षा गरोस् । अहिले हाम्रो प्रविधिको रफ्तारभन्दा सुरक्षाका उपाय निकै सुस्त भइरहेका छन् । यो खाडललाई पुर्न अझै समय छ । तर, यो समय सधैँ रहने छैन।

(लेखक साइबर सुरक्षा विशेषज्ञ तथा उद्यमी हुन्।)

पछिल्लो अध्यावधिक: चैत १८, २०८२ ९:३२