काठमाडौँ । सन् १९७६ को सुरुतिर क्यालिफोर्नियामा, स्टिभ वोज्नियाकले एउटा कम्प्युटर सर्किट बोर्डको डिजाइन भर्खरै पुरा गरेका थिए, जसलाई उनले एक स्थानीय क्लबका साथी सौखिनहरूसँग साझा गर्न चाहन्थे । उनका साथी स्टिभ जब्सले ती बोर्डहरू उत्पादन गर्ने र बेच्ने व्यापारिक अवसर देखे र त्यहीँबाट एप्पलको जन्म भयो ।
सन् १९७६ अप्रिल १ का दिन स्टिभ जब्स, स्टिभ वोज्नियाक र रोनाल्ड वेनले क्यालिफोर्नियाको एउटा सानो ग्यारेजबाट सुरु गरेको यो यात्राले बुधबार ५० वर्ष पार गरेको छ । जुन प्रविधि र मानवीय जीवनशैलीलाई नै परिवर्तन गर्ने एक विश्वव्यापी शक्ति बनेको छ ।
यो ऐतिहासिक अवसरमा एप्पलले क्यालिफोर्नियास्थित आफ्नो मुख्यालयमा रहेको 'स्टिभ जब्स थिएटर' बाट एक विशेष कार्यक्रमको विश्वव्यापी प्रसारण गर्यो । वार्षिकोत्सव मनाउन एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले कम्पनीको विगतको समीक्षा गर्दै भविष्यका लागि नयाँ मार्गचित्र प्रस्तुत गरे । कुकका अनुसार यो उत्सव 'कनेक्सन, क्रियसन, लर्निङ र एक्सपिरियन्स' (सम्पर्क, सिर्जना, सिकाइ र अनुभव) गरी चार मुख्य स्तम्भहरूमा केन्द्रित रहेको छ ।

वार्षिकोत्सवको अवसरमा एप्पलले आफ्ना सबैभन्दा प्रभावशाली उत्पादनहरूको पुनरावलोकन गरेको छ । सन् १९७७ मा सार्वजनिक भएको एप्पल II देखि हालैको भिजन प्रोसम्मको यात्राले व्यक्तिगत कम्प्युटिङ कसरी विकसित भयो भन्ने देखाउँछ । सन् १९८४ को म्याकिन्टोस, सन् २००१ को आईपड र विशेष गरी सन् २००७ मा सार्वजनिक भएको आईफोनले सञ्चार र प्रविधिको संसारमा क्रान्ति नै ल्यायो ।
५० औँ वर्ष पुगेको उपलक्ष्यमा एप्पलले आफ्नो वेबसाइटको होमपेज एक विशेष एनिमेसन भिडिओ सार्वजनिक गरेको छ । जसमा कम्पनीका पुराना र आधुनिक उत्पादनहरूलाई कलात्मक शैलीमा चित्रण गरिएको छ । साथै एप्पल पार्क भिजिटर सेन्टरमा '५० इयर्स अफ इनोभेसन' नामक प्रदर्शनी सुरु गरिएको छ । जहाँ कम्पनीका पुराना स्केच र दुर्लभ प्रोटोटाइपहरू राखिएका छन् ।
यो वर्ष एप्पलले भविष्यका लागि नयाँ प्रविधिहरूको पनि सङ्केत दिएको छ । यसै वर्षको सेप्टेम्बरमा एप्पलले आफ्नो पहिलो फोल्डेबल आईफोन सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । जसको मूल्य करिब २,००० अमेरिकी डलर हुनसक्ने अनुमान छ । साथै आगामी आईफोन १८ प्रो सिरिजमा 'भेरिएबल एपर्चर' भएको अत्याधुनिक क्यामेरा र टीएसएमसीको २-नानोमिटर प्रक्रियाबाट बनेको 'A20 Pro' चिप प्रयोग गरिने चर्चा छ । जसले कार्यक्षमतामा १५ प्रतिशत सुधार र ऊर्जा खपतमा ३० प्रतिशत कमी ल्याउने बताइएको छ ।
एप्पलले आफ्नो ५० औँ वार्षिकोत्सवलाई केवल व्यापारिक उत्सवमा मात्र सीमित नगरी सामाजिक उत्तरदायित्वसँग पनि जोडेको छ । कम्पनीले 'रेसियल इक्विटी एन्ड जस्टिस इनिसिएटिभ' (REJI) का लागि थप ५०० मिलियन डलर खर्च गर्ने घोषणा गरेको छ । यो रकमले पिछडिएका समुदायहरूमा डिजिटल पहुँच र कोडिङ शिक्षालाई सहयोग पुर्याउनेछ ।
वातावरणीय क्षेत्रमा एप्पलले सन् २०३० सम्ममा आफ्नो सम्पूर्ण आपूर्ति श्रृङ्खला र उत्पादन चक्रलाई 'कार्बन न्युट्रल' (Carbon Neutral) बनाउने लक्ष्यमा ठुलो प्रगति भएको जनाएको छ । हाल एप्पलका धेरै उत्पादनहरू १०० प्रतिशत पुन: प्रशोधित आल्मुनियम र अन्य धातुहरूबाट निर्माण भइरहेका छन् ।
एप्पलका विश्वभर रहेका आफ्ना करिब एक लाख ६०,००० कर्मचारीहरूलाई यो कोशेढुङ्गाको उपलक्ष्यमा विशेष उपहार र थप सुविधाहरू प्रदान गरिएको छ । साथै विश्वका विभिन्न स्थानमा रहेका एप्पल स्टोरहरूमा साङ्गीतिक कार्यक्रमहरू आयोजना गरिएका छन् । एप्पल पार्कमा प्रसिद्ध गायक पल म्याकार्टनीको निजी कन्सर्ट समेत आयोजना गरिएको थियो ।
टिम कुकले आफ्नो सन्देशमा भनेका छन्, "थिङ्किङ डिफ्रेन्ट (Thinking Different) सधैँ एप्पलको मुटुमा छ । हामी विगत ५० वर्षमा हामीसँगै हिँड्ने सबैप्रति आभारी छौँ र आगामी दिनमा पनि मानिसहरूको जीवनलाई समृद्ध बनाउने नयाँ अनुभवहरू सिर्जना गर्न प्रतिबद्ध छौँ ।"
पाँच दशकको यो यात्राले एउटा सानो स्टार्ट-अप कम्पनी कसरी विश्वको सबैभन्दा मूल्यवान् र प्रभावशाली संस्था बन्न सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण पेस गरेको छ । एप्पलको ध्यान अब अर्को ५० वर्षका लागि 'स्पेसियल कम्प्युटिङ' र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा केन्द्रित हुने देखिन्छ ।
एप्पलको इतिहास
कम्पनीले सुरुमा डेस्कटप कम्प्युटर र त्यसपछि स्मार्टफोनहरूलाई मूलधारमा ल्यायो । त्यसपछि मोबाइल एपहरूलाई लोकप्रिय बनायो र उपकरण तथा सफ्टवेयरहरू कसरी पूर्ण रूपमा एकीकृत भएर काम गर्न सक्छन् भन्ने देखाएर यसको उदयले प्रविधि उद्योग र लोकप्रिय संस्कृति दुवैलाई आकार दियो ।
तर अहिले सफ्टवेयर प्रतिद्वन्द्वीहरू अल्फाबेट र माइक्रोसफ्टले आफ्नो अग्रता कायम गर्न अर्बौँ डलर खर्च गरिरहेको बेला आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को युगमा पनि आफूलाई प्रविधि पावरहाउसको रूपमा टिकाइराख्न सक्छ कि सक्दैन भन्ने देखाउन आईफोन निर्माता कम्पनीमाथि दबाब छ । सन् २०२२ को नोभेम्बरमा ओपनएआईले च्याटजिपिटी सार्वजनिक गरेदेखि ‘म्याग्निफिसेन्ट सेभेन’ (Magnificent Seven) मध्ये एप्पलको स्टक दोस्रो सबैभन्दा खराब प्रदर्शन गर्नेमा परेको छ । सन् २०१७ देखि नै आफ्ना चिप्समा मसिन लर्निङ फिचर समावेश गरे तापनि परिमार्जित सिरी (Siri) सहितका सुविधाहरू सार्वजनिक गर्नमा भएको ढिलाइका कारण उपभोक्ताहरूले एआईको प्रयोग कसरी गर्नेछन् भन्ने कुरामा एप्पलको तयारी कमजोर रहेको सङ्केत गर्छ ।
ओपनएआई जस्ता प्रतिद्वन्द्वीहरूले पनि यस्ता एआई उपकरणहरू ल्याउने योजना बनाइरहेका छन्, जसले स्मार्टफोनको लामो समयदेखिको प्रभुत्वलाई हल्लाउने लक्ष्य राखेका छन् । यद्यपि, एप्पलका डिभाइसहरू अझै पनि निकै लोकप्रिय छन् । पछिल्लो आईफोन १७ सिरिजको तीव्र मागले डिसेम्बर त्रैमासिकको आम्दानी बढाएको छ भने ५९९ डलर मूल्यको म्याकबुक नियो (जुन कम्पनीको अहिलेसम्मकै सस्तो ल्यापटप हो) को सुरुवात पनि उत्साहजनक रहेको छ ।
स्वतन्त्र प्रविधि विश्लेषक बेन थम्पसनले मङ्गलबार Stratechery.com मा भनेका छन्, "कम्पनीले कसैले पनि यसको एकीकृत व्यापार मोडेलसँग साँचो प्रतिस्पर्धा गर्न नसक्नेरी ५० वर्ष बितायो; यसको आगामी ५० वर्षको भाग्य एआई कत्तिको प्रभावकारी हुन्छ र ओपनएआईले सक्कली एप्पललाई उछिन्न सक्छ कि सक्दैन भन्ने प्रश्नमा निर्भर हुन सक्छ ।"
यहाँ एप्पलको उदयलाई चित्रण गर्ने केही मुख्य जानकारीहरू छन्:
एप्पलको तीव्र स्टक मूल्य वृद्धि
कम्पनी सन् १९८० मा पब्लिक (Public) भएको थियो । तर २१औँ शताब्दीको सुरुतिर आईफोन सर्वाधिक बिक्री हुने उत्पादन बनेपछि र यसका डिभाइसको दायरा विस्तार भएपछि कम्पनीको शेयर नाटकीय रूपमा बढ्यो । यसको आफ्नै एम-सिरिज (M-series) चिप्सले पनि म्याकको बिक्रीमा वृद्धि गरायो, जसले स्टकलाई थप मद्दत पुर्यायो । चार्टमा देखिए अनुसार शताब्दीको सुरुवातदेखि एप्पलको शेयरमा २७,४३८% को बढोत्तरी भएको छ, जसमा भिजन प्रोको प्रक्षेपण र एप्पलको बजार मूल्य ४ ट्रिलियन डलर पुगेको माइलस्टोन छ ।

वार्षिक आम्दानी आधा ट्रिलियन डलरको नजिक
विश्वको सबैभन्दा मूल्यवान् कम्पनीहरूमध्ये एक एप्पल, आम्दानीका हिसाबले पनि ठुला कम्पनीहरूमा पर्दछ । यसको पछिल्लो आईफोन सिरिजको तीव्र मागका कारण सेप्टेम्बरमा समाप्त हुने चालु आर्थिक वर्षमा ४६५ अर्ब डलरको बिक्री हुने अपेक्षा गरिएको छ ।

एप्पलको वृद्धिको मुख्य संवाहक बन्दै सेवा व्यवसाय
एप्पलको सेवा व्यवसाय (Services business), जसमा एप स्टोर, एप्पल म्युजिक र यसको स्ट्रिमिङ सेवा समावेश छन्, वृद्धिको प्रमुख संवाहक बनेको छ । यसको डिभाइसको विस्तार भइरहेको आधारले सब्सक्रिप्सन र एप बिक्रीमा कमिसनबाट स्थिर आम्दानी ल्याइरहेको छ । यसले गर्दा एपिक गेम्स (Epic Games) जस्ता कम्पनीहरूसँग उच्च-स्तरका विवादहरू पनि भएका छन्, जसले इन-एप भुक्तानीहरूमा एप्पलको नियन्त्रणलाई चुनौती दिने प्रयास गरेका छन् । एप्पलले समयसँगै आईफोनमाथिको आफ्नो निर्भरता कम गर्दै लगेको छ र सेवा तथा इकोसिस्टमका उत्पादनहरूले बलियो पकड बनाउँदै लगेका छन् ।

चीन र उदीयमान बजारहरूको हिस्सा बढ्दै
अमेरिकामा स्मार्टफोन बजार स्याचुरेट (Saturate) हुँदै जाँदा चीन र भारत जस्ता उदीयमान बजारहरूले एप्पलको आम्दानी बढाउन ठुलो भूमिका खेलिरहेका छन् । चार्टले देखाए जस्तै अमेरिका र युरोप बाहेक ग्रेटर चाइना र बाँकी एसिया एप्पलको आम्दानीका लागि महत्त्वपूर्ण बनेका छन् ।

एप्पल बनाउने उत्पादनहरू
सन् १९७६ मा वोज्नियाकले जब्ससँग साझा गरेको सर्किट बोर्ड एप्पल १ (Apple I) बन्यो, जुन कम्पनीको ग्यारेज स्टार्टअपदेखि कन्जुमर इलेक्ट्रोनिक्सको विशालतासम्मको यात्राको पहिलो उत्पादन थियो । वर्षौँदेखि एप्पलले आईपड (iPod) जस्ता हिट उत्पादनहरू बनाएको छ र यसको उत्पादनको सूचीमा अहिले स्मार्टवाच, वायरलेस इयरबड्स र मिक्स-रियालिटी हेडसेट भिजन प्रो (Vision Pro) समावेश छन् ।
स्टिभ जब्स र टिम कुकको नेतृत्वमा एप्पलले महत्त्वपूर्ण मोडहरू लिएको छ :
-
स्टिभ जब्सको पालामा: आईम्याक (iMac G3 - 1998), आईबुक (iBook - 1999), म्याक ओएस एक्स (Mac OS X - 2001), आईपड (iPod - 2001), आईट्युन्स स्टोर (2003), म्याकबुक प्रो (2006), आईफोन (2007), एप स्टोर (2008) र आईप्याड (2010) जस्ता हिट उत्पादनहरू सार्वजनिक भए ।
-
टिम कुकको पालामा: एप्पल वाच (2015), एयरपड्स (2016), होमपड (2018), एप्पल म्युजिक (2015), एप्पल पे (2014), एप्पल टिभी प्लस (2019), एप्पल एम-१ चिप (2020), एयरट्याग (2021), एप्पल भिजन प्रो (2023) र एप्पल इन्टेलिजेन्स (2024) मार्फत कम्पनीले आफ्नो इकोसिस्टम निर्माण गर्यो ।

पछिल्लो अध्यावधिक: चैत १९, २०८२ १०:१७
