फ्याक्टचेकः गृहमन्त्री गुरुङले बहिनीलाई निःशुल्क हङकङको टिकट दिन आदेश दिएको दाबी अपुष्ट
चैत २१, २०८२ १३:५४
काठमाडौँ । शुक्रबार ‘Janata Times’ नामक फेसबुक पेजबाट गृहमन्त्री सुधन गुरुङलाई जोडेर एउटा सामग्री पोस्ट भयो । उक्त पोस्टमा गृहमन्त्री गुरुङले बहिनीका लागि निःशुल्क हवाई टिकट उपलब्ध गराउन नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डलाई धम्की दिएको दाबी गरिएको थियो । सोही पोस्टलाई आधार मानेर सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताले पनि यसलाई कपी गर्दै शेयर गरेका छन् ।
तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त दाबी अपुष्ट देखिएको छ । यो सूचना सबैभन्दा पहिले फैलाउने ‘जनता टाइम्स’ले यसअघि पनि पटक-पटक भ्रामक समाचार सम्प्रेषण गर्दै आएको पाइएको छ । यसबाहेक, उक्त पोस्टमा प्रयोग गरिएका भाषा र विवरण व्यावसायिक पत्रकारिताको मर्यादाभित्र नपर्नु र अन्य कुनै पनि स्थापित तथा व्यावसायिक सञ्चारमाध्यममा यसबारे कुनै समाचार नआउनुले पनि यो सामग्री अपुष्ट रहेको पाइयो ।
दाबी
शुक्रबार ३ अप्रिल २०२६ बिहान १०ः३१ बजे ‘Janata Times’ नामक फेसबुक पेजले एक पोस्ट राख्यो । पोस्टमा क्याप्सन र पोस्टर राखिएको छ । पोस्टरमा गृहमन्त्री सुधन गुरुङको फोटो राखिएको छ । त्यसमा माथिपट्टि लेखिएको छ, “बालेन सरकारको सुशासनको नमुना ।” त्यही पोस्टरको तलपट्टि लेखिएको छ, “बहिनीलाई निशुल्क हङकङको टिकट दिन वायुसेवा निगमलाई गृहमन्त्रीको आदेश !”
उक्त पोस्टको क्याप्सनमा लेखिएको छ, “गृहमन्त्री सुधनको लोकप्रिय काम : बहिनीलाई हङकङको निशुल्क टिकट दिन वायुसेवा निगमलाई धम्कीपूर्ण निर्देशन !
बहिनीसहित टीमलाई नै निशुल्क हङकङको टिकट दिन नेपाल वायुसेवा निगमका पदाधिकारीलाई गृहमन्त्री सुधन गुरुङको आदेश दिएको पाइएको छ। फेसन डिजाइनर रहेकी बहिनीलाई पर्यटन बोर्ड र नेपाल बायु सेवा निगमका पदाधिकारीलाई धम्क्याएर गृहमन्त्री सुधनले टीमलाई नै फ्री टिकट दिन लगाएको पाइएको हो । निगम स्रोतले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार बहिनीको टीमलाई फ्री टिकट नदिए सरकारको बिरोधमा लागेको अभियोगमा ठेगान लगाउने धम्की गृह मन्त्रालयबाट आएको छ” ।
यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ७५९ रियाक्सन, ३६० कमेन्ट र ६७५ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

अनुसन्धान
टेकपाना फ्याक्टचेक डेस्कले गृहमन्त्री गुरुङले बहिनीलाई निःशुल्क टिकट मिलाउन दबाब दिएको दाबीका अन्य पोस्ट खोज्न थाल्यो । त्यसका लागि ‘सुधन गुरुङ बहिनी निगम’ जस्ता कीवर्ड खोज्ने क्रममा ‘GB Gazal’ नामका फेसबुक प्रयोगकर्ताले गृहमन्त्री गुरुङले निःशुल्क टिकट मिलाउन निगमलाई दबाब दिएको दाबी गर्दै जनता टाइम्सकै पोस्ट कपी पेस्ट गरेर राखेको पाइयो । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

‘Khataddaily-खप्तड दैनिक डटकम’ नामक फेसबुक पेजले पनि सोही पोस्ट कपी पेस्ट गरी पोस्ट गरेको पाइयो । यो सामग्री तयार पार्दासम्म १८८ पटक शेयर भएको सो पोस्टमा १३०० बढी रियाक्सन र २४५ ओटा कमेन्ट आएका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

‘Dainik Nepal’ नामक अनलाइनले जनता टाइम्सकै पोस्ट कपी पेस्ट गर्दै समाचार बनाएको पाइयो । यस अनलाइनले भिडिओ बनाएको थियो । जसलाई नवनिर्वाचित सांसद् एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो फेसबुक पेजबाट शेयर गरेका थिए । उनले लेखेका छन्, “गृह मन्त्रीले यो विषयमा सत्य तथ्य बाहिर ल्याउनु पर्छ ! सत्य भए आत्माआलोचना गर्नु अन्यथा यो खबर फैलाउनेलाई कारवाही गर्नु !” यो सामग्री तयार पार्दासम्म उक्त भिडिओ डिलिट गरिएको छ ।

यहाँ गुगलमा इन्डेक्स भएको स्क्रिनशट राखिएको छ ।

यही सञ्चार माध्यमले राखेको भिडिओ अन्य फेसबुक प्रयोगकर्ताले डाउनलोड गरेर शेयर गरेका छन् । हेर्नुहोस् स्क्रिन रेकर्ड ।
टेकपाना फ्याक्टचेक डेस्कले यस विषयमा अनुसन्धान गर्न सबैभन्दा पहिले जनता टाइम्सकै पोस्टलाई आधार बनायो । यसमा जनता टाइम्सलाई नेपाल वायुसेवा निगम स्रोतले यो सूचना दिएको दाबी गरिएको छ । जनता टाइम्सको वेबसाइट ‘जनताटाइम्स डटकम’ रहेको पाइयो । तर, वेबसाइटमा यो समाचार भेटिंदैन । समाचार माध्यमले आफ्नै वेबसाइटमा यस्तो ‘सामग्री’ किन राखेन ? यसले पनि यो सामग्री अपुष्ट भन्ने विषयलाई थप जोड दिन्छ ।
पेजमा राखिएको पोस्टमा प्रयोग गरिएको समाचार पनि पत्रकारको आधारभूत सिद्धान्त बाहिर रहेको छ । गृहमन्त्री गुरुङले कहिले दिए निःशुल्क टिकेट उपलब्ध गराउने निर्देशन, बहिनी भनिएको छ कसकी बहिनी हुन् अनि उनको नाम के हो ? टिम भनिएको छ, कतो टिम हो ? कहिले जान लागेको हो ? केही पनि विवरण छैन । सनसनीपूर्ण शीर्षक राखेर ‘७६’ शब्दमा ‘समाचार’ लेखिएको छ ।
यसमा ‘धम्की’, ‘निर्देशन’, ‘दबाब’ भन्ने शब्द प्रयोग गरिएको छ तर प्रमाण उपलब्ध गराएको छैन । स्रोतको हवाला दिंदै पत्रकारिताको आधारभूत सिद्धान्त नै बेवास्ता गरी पोस्ट राखिएको छ ।
यसलाई थप विश्लेषण गर्दा हामीले यस सञ्चार माध्यमका अन्य कमजोरी पनि फेला पार्यौं । टेकपानाले गरेका अन्य फ्याक्टचेकले यस पेजले बारम्बार भ्रामक तथा मिथ्या सामग्री फैलाएको देखियो । ‘फ्याक्टचेकः मोदीले नेपाललाई गाभेर अखण्ड भारत बनाउन चाहेको भन्दै भाइरल भएको भिडिओ डिपफेक’, ‘फ्याक्टचेकः नझुक्किनुस् ! शिक्षामन्त्री पोखरेलले बोर्डिङ स्कुल खारेज गर्ने भनेका छैनन्, भाइरल पोस्ट फेक हुन्’ लगायतमा यस पेजले भ्रामक तथा मिथ्या सूचना राखेको देखिन्छ ।
डेस्कले गृहमन्त्री गुरुङले वायुसेवा निगम र पर्यटन बोर्डलाई दबाब दिएको विषयमा कुनै व्यावसायिक सञ्चारमाध्यमले समाचार राखेका छन् वा छैनन् भन्ने खोज्यो । त्यस क्रममा कुनै पनि विश्वसनीय सञ्चार माध्यमले यस विषयमा समाचार नराखेको फेला पर्यो । यी विभिन्न तथ्यलाई विश्लेषण गर्दा गृहमन्त्री सुधन गुरुङले बहिनीलाई हङकङको निःशुल्क टिकेट मिलाउन नेपाल वायुसेवा निगन र नेपाल पर्यटन बोर्डलाई दबाब दिएको भन्ने दाबी अपुष्ट देखिन्छ ।
दाबी
गृहमन्त्री सुधन गुरुङले आफ्नी फेसन डिजाइनर बहिनी र उनको टिमलाई हङकङ जानका लागि निःशुल्क हवाई टिकट उपलब्ध गराउन नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डलाई धम्कीपूर्ण आदेश दिए ।
दाबीकर्ता
मुख्य रूपमा ‘Janata Times’ नामक फेसबुक पेज । साथै, यसलाई कपी-पेस्ट गरी शेयर गर्ने फेसबुक प्रयोगकर्ता ‘GB Gazal’, फेसबुक पेज ‘Khataddaily’, ‘Dainik Nepal लगायत ।
तथ्य
१. दाबी गरिएको सामग्रीमा कुन मितिमा आदेश दिइएको हो, बहिनीको नाम के हो र टिममा को-को छन् भन्ने जस्ता कुनै पनि ठोस विवरण खुलाइएको छैन ।
२. यो सूचना सबैभन्दा पहिले फैलाउने ‘Janata Times’ पेजले यसअघि पनि पटक-पटक भ्रामक र मिथ्या समाचार सम्प्रेषण गरेको तथ्य फेला परेको छ ।
३. कुनै पनि स्थापित, विश्वसनीय र व्यावसायिक सञ्चारमाध्यमले यस विषयमा कुनै समाचार प्रकाशित गरेका छैनन् ।
४. दाबी गरिएको पोस्टमा प्रयोग गरिएको भाषा व्यावसायिक पत्रकारिताको मर्यादाभित्र नरहेको र दाबी पुष्टि गर्ने कुनै प्रमाण वा स्रोत उल्लेख नगरिएको पाइएको छ ।
५. 'Dainik Nepal' ले यस सम्बन्धमा बनाएको भिडिओ पछि डिलिट गरिएको पाइएको छ ।
निष्कर्ष
गृहमन्त्री सुधन गुरुङले बहिनीलाई निःशुल्क हङकङको टिकट दिन निगमलाई आदेश दिएको भन्ने दाबीलाई पुष्टि गर्ने कुनै आधार नभेटिएकाले यो सामग्री अपुष्ट देखिन्छ ।
प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: बैशाख ५, २०८३ ७:४६
