राष्ट्रिय आविष्कार केन्द्रमा अनुसन्धानपछि श्रेष्ठले स्वदेशमै थाले भेन्डिङ मसिनको उत्पादन
चैत २५, २०८२ १५:११
काठमाडौँ । विद्यार्थीकालमा बाराको सिमराका जीवन श्रेष्ठलाई विदेशी चलचित्रले निकै लोभ्याउँथ्यो । फिल्ममा देखिने आधुनिक सहर र त्यहाँ प्रयोग हुने मसिनहरू उनका लागि कौतूहलका विषय बन्थे । विशेषगरी भेन्डिङ मसिनमा सिक्का पैसा राखेर कोल्ड ड्रिङ्क्स किनेको दृश्य देख्दा उनी सोच्थे- ‘नेपालमा पनि यस्तै मसिनबाट सामान किन्न पाए कति राम्रो हुन्थ्यो ।’
बाल्यकालमा देखेको त्यही सपनाले अहिले ३० वर्षीय श्रेष्ठलाई उद्यमी बनाएको छ । उनले किशोरावस्थामा देखेको सपनालाई पूरा गर्दै नेपालमै भेन्डिङ मसिन तयार पारेर व्यावसायिक रूपमा विक्री समेत सुरु गरेका छन् ।
सन् २०२१ देखि ‘भेन्डिङ किङ’ नामक कम्पनी सञ्चालनमा ल्याएर उनले आफ्नो व्यावसायिक यात्रा अगाडि बढाए । कम्पनीका संस्थापक श्रेष्ठ भन्छन्, “७/८ कक्षामा पढ्दाखेरि नै मलाई भेन्डिङ मसिनले लोभ्याएको रहेछ । तर मैले यसको बारेमा चाहिँ रिसर्च गर्ने मौका राष्ट्रिय आविष्कार केन्द्रमा गएपछि पाएँ ।”
सन् २०१५ मा राष्ट्रिय आविष्कार केन्द्रमा गएका उनले विभिन्न मसिनहरू बनाए । त्यहीँ रहँदा करिब दुई वर्ष लगाएर भेन्डिङ मसिनको प्रोटोटाइप तयार पारे । उक्त प्रोटोटाइपलाई केन्द्रमा नै छाडेर आफ्ना अनुसन्धानलाई लिएर भेन्डिङ किङ सुरु गरे । सन् २०२४ को अन्त्यतिरबाट नेपालमा नै पूर्ण रूपमा मसिन तयार गरेर विक्री थालेको उनी सुनाउँछन् ।

उनी भन्छन्, “सुरुमा यो मसिन विक्री गर्दा क्यूआर स्क्यान गरेर अनलाइन भुक्तानी गरेर सामान खरिद गर्न सक्नेगरी बनाएका थियौँ । अहिले दोस्रो चरणमा क्यूआर र नगद दुबै माध्यमबाट भुक्तानी गरेर मसिनमा राखेका सामानहरू किन्न सक्ने बनाएका छौँ ।”
भेन्डिङ किङले सबैभन्दा पहिला विक्री गरेको मसिन विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा राखिएको छ । उनी भन्छन्, “विराट अस्पतालमा सुरुमा एउटा मात्र राखेको भएपनि अहिले थप दुई ओटा जडान भइसकेका छन् ।”
यस्तै, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, चितवनको भरतपुर महानगरपालिका, काठमाडौँको महाराजगन्जस्थित बिगमार्ट, पोखरा, कोहलपुर, कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी, सनवे कलेज लगायतका स्थानमा यो मसिन राखिएको छ ।
हाल विक्री भइरहेका मसिनहरू चकलेट, चिप्स लगायतका स्न्याक र फ्रुटी, जुस आदि बेभरेजहरू राखिने मसिन हुन् । कम्पनीले पेय पदार्थको तापक्रम मिलाएर राख्ने गरेर पनि भेन्डिङ मसिन तयार पारिरहेको छ । रेडबुल, एक्सट्रिम जस्ता पेय पदार्थ विक्री गर्ने कम्पनीहरूका लागि यसखाले भेन्डिङ मसिन तयार पार्ने काम भइरहेको श्रेष्ठ बताउँछन् ।

यस्तै, अस्पतालहरूमा औषधि विक्रीका लागि मेडिसिन भेन्डिङ मसिन समेत पारिरहेको उनले सुनाए । श्रेष्ठ भन्छन्, “वीर अस्पताल र नर्भिक अस्पतालमा मेडिसिन भेन्डिङ मसिनका लागि सम्झौताको तयारी भइरहेको छ । त्यसपछि हामी अस्पतालमा औषधिहरू राख्न चाहिने उचित तापक्रम मिलाउन सकिने मसिन तयार पार्छौँ ।”
उनका अनुसार चिसो बनाएर राख्ने रेफ्रिजेरेटरसहितको भेन्डिङ मसिनलाई ५०० देखि ७५० वाट विद्युत् आवश्यक पर्छ भने नन रेफ्रिजेरेटर भेन्डिङ मसिनले ४० वाट विद्युत् खपत गर्छ ।
उक्त मसिनमा कहिलेकाहीँ बत्ती जाँदा वा इन्टरनेटको समस्या भएर रकम भुक्तानी गरिसक्दा पनि सामान नआउने समस्या भने देखिने गरेका छन् । इन्टरनेट वा बत्तीका कारण पैसा काटिने तर सामान नआउने अवस्थामा ग्राहकले रिफन्ड पाउने व्यवस्था मिलाइएको छ । ९९% ग्राहकको पैसा सफलतापूर्वक रिफन्ड गर्न सफल भएको पनि उनले बताए ।

उनका अनुसार ग्राहकको माग र आवश्यकताअनुसार दुईदेखि पाँच लाख ५० हजार रुपैयाँसम्ममा भेन्डिङ मसिन तयार पार्न सकिन्छ । संस्थापक श्रेष्ठ भन्छन्, “कारखाना सानो भएकाले अहिले अर्डर आएपछि मात्र बनाउने गरेका छौँ । अर्डर दिएको एक महिनाभित्र डेलिभर गर्न सक्ने क्षमता हामीसँग छ ।”
मसिनमा एक वर्षको वारेन्टी दिने गरिएको छ । बजारमा विक्री भएका मसिन बिग्रिएर मेन्टिनेन्स गर्नुपर्ने अवस्था हालसम्म नआएको उनले दाबी गरे । यो मसिनमा भेन्डिङ किङको टोलीले नै विकास गरेको एप्लिकेसन समावेश गरिएको छ । एन्ड्रोइड र आईओएस दुबै माध्यममा उपलब्ध उक्त एपबाट मसिनमा कुन सामान राख्ने, कति रकमको राख्ने, समानको मूल्य कति राख्ने, फोटो राख्ने भन्ने तय गर्न सकिन्छ । यस्तै, मसिन चलेको छ वा छैन भनेर लाइभ स्टाटस पनि एपबाट हेर्न सकिने सुविधा छ ।
चिडियाखाना, पार्क, बस स्टेसन लगायतका सार्वजनिक स्थानमा यो मसिन राख्न सकिने उनी बताउँछन् । श्रेष्ठ भन्छन्, “पसल नराखी मसिन र केही विद्युत् महसुल तिरेर नै व्यापार गर्न सकिन्छ । तर सार्वजनिक स्थानमा यो मसिन राख्न चाहिँ यत्तिकै मिलेन । हामीले स्थानीय सरकारहरूसँग पनि सहकार्य गरेर बसपार्क जस्ता सार्वजनिक ठाउँमा भेन्डिङ मसिन राख्ने योजना बनाइरहेका छौँ ।”
कसरी तयार हुन्छ भेन्डिङ किङ ?
मसिनमा प्रयोग हुने फलामका पाता नेपालकै स्थानीय बजारबाट किन्ने गरिएको श्रेष्ठ बताउँछन् । फलामको पातालाई किनेर लेजर कटिङ, बेन्डिङ र पाउडर कोटिङ गरिन्छ । मसिनको आन्तरिक सफ्टवेयर र एप पनि नेपालमै तयार पारिएको हो । उनले भने, “मसिनमा राखिएको टचिङ डिस्प्ले, मोटर र कन्ट्रोलर चाहिँ हामीले पनि आयात नै गर्नुपर्ने हुन्छ ।”

हाल भेन्डिङ किङमा आठ जना कार्यरत रहेको उनले बताए । “यहाँ काम गर्ने सबैमा नेपालमै केही गर्नुपर्छ भन्ने जोस छ । त्यसैले हामी भेन्डिङ मसिन मात्र नभई अन्य मसिनहरू पनि बनाउने तयारीमा छौँ,” श्रेष्ठले भने ।
भेन्डिङ मसिनका साथै रेस्टुरेन्टहरूमा खाना अर्डर गर्न सक्ने ‘किओस्क मसिन’ पनि तयार पारिएको छ । हाल महाराजगन्जको भाटभटेनीमा एउटा मसिन राखिएको उनले सुनाए । उनका अनुसार उक्त किओस्क मसिन ८० देखि ९५ हजार रुपैयाँसम्ममा कम्पनीले उत्पादन गर्दै आएको छ ।

संस्थापक श्रेष्ठले भने, “अहिले खानेकुरा अर्डर गरेर बिल प्रिन्ट गर्ने मसिन बनाएका छौँ । पछि अस्पतालहरूमा बिलमा हुने क्यूआर कोडलाई स्क्यान गरेर मसिनबाट नै रिपोर्ट लिन मिल्ने गरी परिमार्जन गर्ने योजना छ । यसका लागि वीर अस्पतालसहित विभिन्न अस्पतालसँग कुरा गरिरहेका छौँ ।”
यस्तै रिपोर्ट/रिसिप्ट प्रिन्टर, किसानहरूलाई सहजै बीउ उपलब्ध गराउन ‘सिड भेन्डिङ मसिन’, प्लास्टिक लगायतका पुनः प्रयोग गर्न मिल्ने फोहोर राखेबापत सिक्का पैसा दिने ‘रिभर्स भेन्डिङ मसिन’ को अनुसन्धानमा पनि कम्पनी जुटेको छ ।
सन् २०२६ सम्ममा १०० वटा मसिन पुर्याउने र भविष्यमा वासिङ मसिन तथा फ्रिज जस्ता घरायसी सामान पनि नेपालमै बनाउने उनको लक्ष्य छ । तर, बाह्य बजारसँग प्रतिस्पर्धा गर्न भन्सार शुल्क बाधक बनेको उनी गुनासो गर्छन् । उनी भन्छन्, “मसिन नै आयात गर्दा ५ प्रतिशत भन्सार लाग्छ । तर हामीले सामान बनाएर पार्टपुर्जा ल्याउँदा २० देखि ३० प्रतिशतसम्म शुल्क तिर्नुपर्छ । सरकारले कच्चा पदार्थमा १ प्रतिशत मात्र भन्सार शुल्क लगाए हाम्रो उत्पादन लागत पनि कम हुन्थ्यो ।”
यसले गर्दा बाहिरी बजारसँग प्रतिस्पर्धा गर्दा नेपाली सामान केही महँगो पर्न गएको उनले दुखेसो पोखे । उनी थप्छन्, “हाम्रो मसिन केही महँगो पर्न सक्छ । तर, विदेशबाट ल्याएको मसिन बिग्रिएमा बनाउन गाह्रो पर्छ । नेपालमै मसिन बनेको खण्डमा यसको मेन्टिनेन्स पनि सहजै गर्न सकिने भएकाले धेरैले नेपाली मसिन नै प्रयोग गर्न खोज्नुहुन्छ । सरकारले भन्सार शुल्क कम गरेमा हामीले पनि कम शुल्कमा मसिन तयार गर्न सक्ने थियौँ ।”
पहिलो सिजनको शार्क ट्याङ्क नेपालमा पनि भेन्डिङ किङ सहभागी भएको थियो । कम्पनीको २० करोड मूल्याङ्कन गर्दै २५ प्रतिशत इक्विटीका लागि श्रेष्ठले पाँच करोड रुपैयाँका लागि आइडिया पिचिङ गरेका थिए । तर शार्कहरूले कम्पनीको मूल्याङ्कन बढी भएको कारण देखाउँदै माग गरेको रकम लगानी गर्न तयार भएनन् ।
अब भने कुनै लगानीकर्ताबाट लगानी खोज्नुभन्दा पनि सरकारका तर्फबाट आफूजस्ता स्वदेशी उत्पादनमा केन्द्रित कम्पनीहरूलाई प्रोत्साहन आवश्यक रहेको उनले बताए । उत्पादनका लागि फ्याक्ट्री तयार पार्न सहुलियतमा ऋण उपलब्ध गराइदिएमा सहज हुने श्रेष्ठको भनाइ छ । उनी भन्छन्, “हामी एक पटकमा एक-दुई ओटा मसिन बनाउन मात्र सकिरहेका छौँ । विदेशमा एकै पटकमा हजारौँ मसिन बनाउन सक्ने क्षमताका कम्पनी छन् र त सस्तोमा मसिनहरू उपलब्ध छन् ।”
सरकारको साथ र समर्थनले मात्र नेपालमै मसिन उत्पादन र त्यसलाई व्यापक रूपमा बिक्रीको वातावरण बन्ने उनले बताए ।
पछिल्लो अध्यावधिक: चैत २५, २०८२ १८:२३
