नेपालमा ईभीको मोटर क्षमता परीक्षण गर्ने स्पष्ट मापदण्ड नहुँदा अन्योल बढ्यो: नाइमा
जेठ २, २०८३ २१:२५
एआई सिर्जित तस्बिर
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले नेपालमा विद्युतीय सवारी साधन (ईभी) को मोटर क्षमता परीक्षण र प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय मापदण्ड नहुँदा बजारमा अन्योल सिर्जना भएको बताएको छ ।
शनिबार एक विज्ञप्ति जारी गर्दै नाइमाले ईभीको प्राविधिक मूल्याङ्कनका लागि आवश्यक संस्थागत परीक्षण प्रणाली र एकीकृत कार्यविधि पूर्ण रूपमा कार्यान्वयनमा नआएको औंल्याएको हो । यही नीतिगत र प्राविधिक अस्पष्टताका कारण हाल विभिन्न तहमा भ्रम र फरक-फरक व्याख्या उत्पन्न भइरहेको संस्थाको ठहर छ ।
नाइमाले केवल वेबसाइटमा देखिएका विवरण, मोडेलको नाम वा बाह्य जानकारीका आधारमा मात्र मोटर क्षमताको निष्कर्ष निकाल्नु प्राविधिक रूपमा त्रुटिपूर्ण हुने स्पष्ट पारेको छ । “विश्व ओटोमोबाइल उद्योगमा एउटै मोडलका सवारी साधन विभिन्न देश, नियामकीय संरचना तथा बजार आवश्यकताअनुसार फरक-फरक प्राविधिक स्पेसिफिकेशनमा उत्पादन हुनु सामान्य अन्तर्राष्ट्रिय अभ्यास हो,” विज्ञप्तिमा भनिएको छ ।
यस विषयमा नाइमाले यसअघि नै अर्थ, उद्योग र भौतिक पूर्वाधार मन्त्रालयसँगको छलफलमा स्पष्ट र व्यावहारिक व्यवस्थाका लागि आग्रह गरिसकेको जनाएको छ । हाल नेपालमा आयात भइरहेका ईभीहरू अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीले जारी गरेका आधिकारिक प्राविधिक विवरण र परीक्षण प्रतिवेदनकै आधारमा भित्रिरहेको दाबी नाइमाको छ ।
अपुष्ट सूचना र फरक व्याख्याले उपभोक्ताको विश्वास, लगानीको वातावरण र विद्युतीय सवारी क्षेत्रको दीर्घकालीन विकासमा असर पुग्ने भन्दै नाइमाले सरकारलाई तत्काल स्पष्ट प्राविधिक कार्यविधि र परीक्षण पूर्वाधार विकास गर्न माग गरेको छ । सम्बन्धित सरकारी निकायहरूबीच एकरूप व्याख्या सुनिश्चित गर्न र आधिकारिक उत्पादकका प्रमाणित विवरणलाई आधार मान्न पनि संस्थाले सुझाव दिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २, २०८३ २१:२५
