सन् २०२३ देखिका डेढ लाख बढी ड्राइभिङ लाइसेन्स वितरण गर्दै यातायात व्यवस्था कार्यालय कास्की
जेठ १२, २०८३ १५:४६
काठमाडौँ । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, कास्कीले सन् २०२३ देखि रोकिएका एक लाख ५० हजारभन्दा बढी ‘ब्याकलग’ लाइसेन्स र नयाँ प्रणालीअनुसार छापिएका लाइसेन्सहरू वितरण सुरु गरेको छ । कार्यालयले हालै एक सूचना जारी गर्दै नयाँ, नवीकरण तथा वर्ग थपका लागि राजस्व बुझाएका सेवाग्राहीको लाइसेन्स कार्यालय आइपुगेको जानकारी दिएको हो ।
कास्की कार्यालयले विशेषगरी गत २ वैशाखदेखि २८ वैशाखसम्म राजस्व बुझाएका सेवाग्राहीहरूको लाइसेन्स वितरणलाई प्राथमिकतामा राखेको छ । सरकारले आवेदन दिएको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने निर्णय लागु गरेपछि कास्की कार्यालयमा प्राप्त भएको यो पहिलो खेप हो ।
गत चैत अन्तिम साता सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नयाँ सेवाग्राहीको लाइसेन्स २४ घण्टामै छापिने दाबी गरेका थिए । यद्यपि, २४ घण्टाभित्रै मुद्रण भएका लाइसेन्ससमेत सम्बन्धित यातायात कार्यालयमा पुगेर वितरण हुन करिब एक महिना लागेको छ ।
यातायात व्यवस्था कार्यालय कास्कीका सूचना अधिकारी गोविन्द चौधरीका अनुसार सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स २४ घण्टामा छापे पनि यातायात व्यवस्था विभागहुँदै पोखरासम्मको ढुवानी र प्रक्रियाका कारण सेवाग्राहीको हातमा पुग्न समय लागेको हो ।
“मुद्रण केन्द्रले २४ घण्टामा छापे पनि ढुवानी र प्राविधिक प्रक्रियाका कारण यहाँ आइपुग्न केही समय लागेको हो,” चौधरीले टेकपानासँग भने, “अहिले नयाँ प्रणालीअनुसारका तीन-चार हजार लाइसेन्स प्राप्त भएका छन् । ती पनि वितरण सुरु गरिसकेका छौँ ।”
यसैगरी, कार्यालयले १ जनवरी २०२३ देखिका ब्याकलग लाइसेन्सहरू पनि वितरण गरिरहेको छ । यसमध्ये करिब ४० हजार लाइसेन्स अझै छापिएर आउन बाँकी रहेको कार्यालयले जनाएको छ ।
लाइसेन्स लिन आउनुअघि आफ्नो लाइसेन्स प्रिन्ट भए/नभएको अनलाइनमार्फत जाँच गरेर मात्र कार्यालयमा आउन उनले सेवाग्राहीलाई आग्रह गरे । सेवाग्राहीले विभागको आधिकारिक वेबसाइट वा यहाँ क्लिक गरेर आफ्नो लाइसेन्सको अवस्था बुझ्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: जेठ १२, २०८३ १६:७
