एसईई उत्तीर्ण १०० विद्यार्थीलाई छात्रवृत्ति दिँदै एनसेल, साथमा १ वर्षसम्म डेटा र भ्वाइस सेवा निःशुल्क
जेठ ४, २०८३ २२:२१
काठमाडौँ । एनसेल फाउन्डेसनले ‘प्रोजेक्ट शिक्षा’सँगको सहकार्यलाई निरन्तरता दिँदै यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरूका लागि देशव्यापी ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा गरेको छ । यसअन्तर्गत एनसेल फाउन्डेसनले १०० जना जेहेन्दार विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्नेछ ।
यो छात्रवृत्ति सातै प्रदेशमा सञ्चालन गरिने लिखित परीक्षा र अन्तर्वार्ताका आधारमा योग्य विद्यार्थी छनोट गरी वितरण गरिने फाउन्डेसनले जनाएको छ ।
छात्रवृत्तिका अतिरिक्त छानिएका विद्यार्थीहरूले एनसेलको तर्फबाट १२ महिनासम्म निश्चित डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा निःशुल्क प्राप्त गर्नेछन् । यसले उनीहरूलाई डिजिटल सिकाइ, नयाँ अवसरको खोजी र आफ्ना शैक्षिक आकाङ्क्षाहरूसँग निरन्तर जोडिन मद्दत पुर्याउने फाउन्डेसनको भनाइ छ
एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले यस पहलका बारेमा भनिन्, “भौगोलिक अवस्थिति वा आर्थिक अवस्थाले कुनै पनि युवाको भविष्य रोकिनु हुँदैन भन्ने हाम्रो दृढ विश्वास छ । पारदर्शी छनोट प्रक्रियामार्फत हामी क्षमता भएका तर अवसरबाट वञ्चित विद्यार्थीसम्म पुगेर एक समावेशी भविष्य निर्माणमा योगदान दिइरहेका छौँ ।”
हन्ड्रेड ग्रुपद्वारा सञ्चालित ‘प्रोजेक्ट शिक्षा’ले पनि यस कार्यक्रमअन्तर्गत थप ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछ । सन् २०१७ देखि सञ्चालित यो परियोजनाले नेपालभरका एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि अर्थपूर्ण शैक्षिक अवसरहरू सिर्जना गर्दै आएको छ ।
गत वर्ष पनि एनसेल फाउन्डेसनले यसै कार्यक्रममार्फत देशभरका ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो । ती विद्यार्थीहरू हाल विभिन्न शैक्षिक संस्थाहरूमा कक्षा १२ मा अध्ययनरत रहेको एनसेलले जनाएको छ ।
पछिल्लो अध्यावधिक: जेठ ४, २०८३ २२:२३
