काठमाडाैँ । एलन मस्कले ओपनएआई विरुद्धको कानुनी लडाइँमा हार व्यहोरेका छन् । मस्कले ओपनएआई सहित यसका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यान, अध्यक्ष ग्रेग ब्रकम्यान र माइक्रोसफ्ट विरुद्ध गैरनाफामूलक परोपकारी संस्थालाई नाफामूलक कम्पनीमा परिणत गरी सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका थिए ।
मस्कले सुरुवाती चरणमा ओपनएआईमा तीन करोड ८० लाख डलर दान दिएको तर पछि आफूलाई जानकारी नै नदिई कम्पनीलाई नाफामूलक संरचनामा परिवर्तन गरिएको आरोप लगाएका थिए । तर, क्यालिफोर्नियाको ओकल्यान्डस्थित सङ्घीय अदालतमा भएको सर्वसम्मत निर्णयमा ९ सदस्यीय जूरीले मस्कका विरुद्ध फैसला गरेको हो ।
मस्कले यो मुद्दा धेरै ढिलो गरी दायर गरेको भन्दै अदालतले मस्कको पक्षमा फैसला गर्न अस्वीकार गरेको थियाे । यससँगै, मस्कसँग दान लिएपछि मानवताको हितका लागि काम गर्ने आफ्नो मूल उद्देश्यबाट विचलित भएकोमा ओपनएआईले मस्कलाई कुनै क्षतिपूर्ति दिनु पर्ने छैन । जूरीले दुई घण्टाभन्दा कम समयमै विचारविमर्श गरेर यो निर्णय सुनाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले लेखेको छ ।
अदालतको फैसलाले ओपनएआईलाई सम्भावित आईपीओमा जाने बाटो सहज बनाएको छ । जसले गर्दा ओपनएआईको मूल्याङ्कन १० खर्ब डलर पुग्न सक्छ । यता, अदालतको फैसलापछि मस्कले भने पुनरावेदन दायर गर्ने बताएका छन् । उनले एक्समा लेखेका छन्, "म नाइन्थ सर्किटमा पुनरावेदन दायर गर्नेछु, किनकि परोपकारी संस्थाहरूलाई लुट्ने नजिर स्थापित गर्नु अमेरिकामा परोपकारी कार्यका लागि अत्यन्तै विनाशकारी हुन्छ ।"
Regarding the OpenAI case, the judge & jury never actually ruled on the merits of the case, just on a calendar technicality.
— Elon Musk (@elonmusk) May 18, 2026
There is no question to anyone following the case in detail that Altman & Brockman did in fact enrich themselves by stealing a charity. The only question…
पछिल्लो अध्यावधिक: जेठ ५, २०८३ ८:१७
