ह्वाट्सएपमा ‘डाक्टर सन्नी’ को प्रेमजालमा पर्दा दाङकी महिलाले यसरी गुमाइन् झन्डै २० लाख
जेठ ६, २०८३ २१:०
सांकेतिक तस्बिर
काठमाडौँ । अपरिचित ह्वाट्सएप मेसेजको रिप्लाई दिँदा दाङकी एक महिलाले छोटो समयमा झन्डै २० लाख रुपैयाँ गुमाएकी छिन् । डाक्टरको नक्कली परिचय बनाएका एक व्यक्तिले ती महिलालाई यसरी झुक्याए कि उनले आफ्नै साथीको रकमसमेत सापटी लिएर गुमाउन पुगिन् । आखिर कसरी कुनै अपरिचित नम्बरबाट आएको ह्वाट्सएप मेसेज रिप्लाई दिंदै लाखौं रकम गुम्यो त ?
यो एक महिनाअघिको घटना हो । दाङकी ३७ वर्षीय रेश्मा शर्मा (नाम परिवर्तन)लाई ब्राजिलको एक नम्बरबाट मेसेज आयो । प्रोफाइलमा सेतो एप्रोन लगाएका डाक्टर जस्ता देखिने व्यक्तिको फोटो थियो । नाम थियो ‘डा. सन्नी’ ।
आकर्षक देखिने ती ‘डाक्टर’ले रेश्मालाई उनको परिचय दिन भने । अस्पतालमा काम गरिरहेको देखिने फोटो पठाए । घरमा फुर्सदिलो समय बिताइरहेकी विवाहित महिला रेश्मालाई पनि समय बिताउने अवसर थियो । त्यहीमाथि विदेशी डाक्टरसँग कुरा गर्दै थिइन् उनी ।
डा. सन्नीले रेश्मालाई उनको परिवार, पारिवारिक अवस्था, बस्ने ठाउँ, पढाइ लेखाइ, उनले गर्ने काम सबै सोधे । र, नजिकिन खोजेको सङ्केत दिए । र, साथी बन्ने प्रस्ताव राखे । रेश्मालाई त्यो प्रस्ताव त्यति अगतिलो लागेन । उनले साथी बन्ने प्रस्ताव स्वीकारिन् र समय बिताउन मेसेज गर्न थालिन् । यसरी एक हप्ता भएपछि डा. सन्नीले युवतीलाई उपहारको प्रस्ताव गरे । “म यहाँ जनरल फिजिसियन हुँ,” उनले रेश्मालाई भने, “तपाईंलाई अप्ठ्यारो लाग्दैन भने म तपाईंलाई १० हजार डलर पठाउन सक्छु ?”
रेश्माले त्यो दिनको विनिमय दर हेरिन् - एक अमेरिकी डलर बराबर १५० रुपैयाँ थियो । अर्थात् उनी १५ लाख रुपैयाँ उपहार पाउँदै थिइन् । “१५ लाख भनेपछि त महिला दङ्ग परिन्,” नेपाल प्रहरीको साइबर ब्युरोका एसपी दिलिपकुमार गिरी टेकपानासँग भन्छन्, “उसले केही दिन कुरा गर्दा नै ती महिलालाई धेरै विश्वस्त बनाइसकेको रहेछ ।”
रकम पाउन रेश्माले आफ्नो बैंक खाताको विवरण डा. सन्नीलाई उपलब्ध गराइन् । सन्नीले भने, “मैले पठाइसकेको छु । तिम्रो खातामा केही समयमा डिपोजिट हुन्छ होला ।”
रेश्मालाई ‘होला पनि’ भन्ने लाग्यो । तर, त्यति विश्वास पनि लागिसकेको थिएन । किनभने केही समयअघि मात्र अनलाइनमा चिनजान भएको व्यक्तिले के स्वार्थले त्यत्रो रकम पठाउला भन्ने शंका उनको मनमा थियो । यद्यपि, विदेशमा काम गर्ने डाक्टरका लागि त्यति रकम त के हो र भन्ने पनि लाग्यो उनलाई । र, उनी रकम पाउने प्रतीक्षामा थिइन् ।
रकम आउँछ भन्ने आशमा बसेकी उनलाई ह्वाट्सएपमा नेपाली नम्बरबाट कल आयो । कल गर्ने व्यक्तिले आफू बैंकको कर्मचारी हुँ भने । “तपाईंको खातामा १० हजार डलर आएको रहेछ । तर, तपाईंलाई थाहै छ यो रकम त धेरै हो । त्यसैले तपाईंले पहिले कर तिर्नुपर्ने हुन्छ । म क्यूआर कोड पठाइदिन्छु त्यसमा ३५ हजार रुपैयाँ डिपोजिट गर्नुहोला ।”
यति भएपछि रेश्माले बैंकका कर्मचारी भनिएका व्यक्तिले पठाएको क्यूआर कोडमा रकम पठाइदिइन् । “रकम पठाउन ती महिलालाई समस्या थिएन । किनभने उनका श्रीमान् विदेशमा कमाइरहेका थिए । र, रकम महिलाकै खातामा आउँथ्यो,” प्रहरी उपरीक्षक गिरीले भने । यसरी फरक-फरक समयमा फरक फरक क्यूआर कोड पठाउँदै बैंकका कर्मचारी भनिएका व्यक्तिले रकम पठाउन लगाए । रेश्मालाई पनि ती व्यक्तिको भनाइ जायज नै लागिरहेको थियो ।
तर, पटक पटक साढे आठ लाख रुपैयाँ पठाइसक्दा पनि रेश्माको खातामा रकम आएन । उनी आत्तिइन् । र, आफ्नो गुनासो सन्नीलाई राखिन् । सन्नीले विश्वस्त बनाउँदै भने, “त्यस्तो नहुन पर्ने केही प्राविधिक समस्या पो आयो कि ?”
विश्वास दिलाउन सन्नीले स्क्रिनशट पनि पठाए । यता बैंकका कर्मचारी भनिएका व्यक्तिले पनि स्क्रिनशट पठाइएका थिए । यी प्रमाण भएपछि रेश्मालाई सन्नीको कुरामा विश्वास लाग्यो । तर, रकम अड्किनुको कारण के हो भन्ने स्पष्ट खुलेको थिएन । न सन्नीले नै भनेका थिए । यता बैंकका कर्मचारीले भने रकम पठाउने व्यक्तिको खातामा समस्या भएकाले होल्ड भइरहेको भन्दै रेश्मालाई रोकिरहेका थिए ।
रेश्माले बारम्बार रकम नआउनुको कारण सोधेपछि सन्नीले भने, “त्यसो भए म नेपालमै आउँछु । त्यहीँ भेटौंला । म अरू पनि उपहार ल्याउँछु ।”
अब रेश्मा विश्वस्त भइन् । किनभने पहिलेदेखि नै ती डाक्टर भनिएका व्यक्तिले नेपाल भ्रमण गर्ने इच्छा देखाएका थिए । ती व्यक्ति नेपाल आउने भएपछि रेश्माले आफ्नो नजिककी साथीलाई यो सबै कुरा सुनाइन् । रेश्माको भनाइमा लागेर उनकी साथी पनि लोभिइन् । र, ‘कसरी हुन्छ सहकार्य गरौं’ भनिन् । यता रेश्माकी साथीका श्रीमान् पनि विदेशमा नै थिए । सुरुवातमा कसरी सहकार्य गर्ने भन्ने केही थिएन । जेहोस् जस्तो परिस्थिति आउँछ, त्यसमा दुबैले सामाना गरेर समाधान गर्ने मौखिक समझदारी गरे ।
यता सन्नीले आफ्नो फोटो पठाइरहेका थिए । उनले सबैभन्दा पहिले प्लेन टिकेटको फोटो पठाए । त्यसपछि ब्राजिलको विमानस्थलमा आफू देखिएको भिडिओ नै उपलब्ध गराए । निरन्तर रेश्मासँग च्याटमा कुरा गरिरहेका पनि थिए । त्यसको दुई दिनपछि सन्नीले आफू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको जानकारी दिए । “मैले तिमीलाई त्यो बेला केही भनेको थिइनँ, सरप्राइज दिन्छु भनेर । अहिले त मलाई रोक्यो । यहाँ मैले आठ तोला सुन, १५ हजार डलर पनि ल्याएको छु । यहाँ भन्सारका कर्मचारीले तपाईंको नेपालको साथीसँग कुरा गर्छौं भनेका छन् । तिमीलाई उनीहरूले कल गर्छन् होला ।”
लगत्तै रेश्मालाई अर्को नेपाली नम्बरबाट ह्वाट्सएपमा फोन आयो । ती व्यक्तिले आफू भन्सारको कर्मचारी भन्दै नम्र भाषामा आफ्नो परिचय दिए । “तपाईंको मान्छे आउनु भएको रहेछ । सुन पनि छ, डलर पनि छ । तपाईंले यसको भन्सार शुल्क तिर्नुपर्छ । यसका लागि चार लाख रुपैयाँ पठाउनुस् ।”
रेश्माले आफ्नो साथीलाई यो सबै कुरा सुनाइन् । साथीले पनि ‘हुन्छ, पठाऔं’ भन्ने कुरा राखिन् । र, दुबै जना मिलेर चार लाख रुपैयाँ भन्सारका कर्मचारी भनिएका व्यक्तिले पठाएको क्यूआरमा ट्रान्सफर गरे । त्यसपछि पनि अनेक बहाना गरी थप सात लाख आठ हजार रुपैयाँ पठाउन लगाए । “तपाईंले यहाँ आवश्यक सबै रकम तिर्नुभयो । तर, यी विदेशी व्यक्तिको जिम्मा तपाईंले लिनुपर्छ । तपाईं काठमाडौँ आउनु पर्ने भयो,” भन्सारका कर्मचारीका रूपमा प्रस्तुत भएका व्यक्तिले रेश्मालाई भने ।
“रेश्मा त्यो सबै रकम आफैँ हाल्ने पक्षमा थिइन् । तर, त्यत्रो रकम जाँदा परिवारलाई थाहा हुने आशंकाले उनले साथीलाई त्यसमा मिसाएकी थिइन् । उही स्वभावकी रेश्माकी साथीले पनि सबै कुरा पत्याइन् । र, भनेको जति रकम दिइन्,” एसपी गिरीले घटना सुनाए ।
रेश्मा काठमाडौँ आइन् । तर, न सन्नीको न भन्सारका कर्मचारीकै फोन लागिरहेको थियो । मान्छे बेपत्ता भएको ठानेर रेश्मा खोजीका लागि सहयोग माग्दै साइबर ब्युरो पुगिन् । “साइबर ब्युरोमा उनले सबै कुरा सुनाइन् । हामीले उनी ठगीमा परेकी हुन् भन्ने थाहा पायौं । र, उनलाई सुझाव दियौं,” एसपी गिरीले भने, “तर महिलालाई विश्वास नै लागिरहेको थिएन ।”
त्यहीबेला सन्नीको ह्वाट्सएपमा फोन आयो । उनी कतिबेला पोखरा छु भन्थे, कतिबेला बुटवल त कतिबेला काठमाडौंमा । रेश्मालाई पहिले विमानस्थलमा गएर सन्नी नेपाल आएका हुन् कि होइनन् भन्ने बुझ्नु थियो । उनी निरन्तर प्रहरीलाई विमानस्थलमा गइदिनु पर्यो भन्ने आग्रह गरिरहेकी थिइन् । “हामीले तपाईं ठगीमा पर्नुभयो । यो सबै रकम मनी म्युल अकाउन्टमा गइसकेको छ । उजुरी दिनुस्, हामी अनुसन्धान गर्छौं भन्यौँ । तर, उनलाई हाम्रो कुरा विश्वास नै लागिरहेको थिएन,” गिरीले सुनाए, “उनलाई यसरी त्यो व्यक्तिले विश्वास दिलाएको थियो उनी ठगीमा परेको छु भन्नेमा विश्वास नै गर्न सकिरहेकी थिइनन् ।” अन्तमा प्रहरीले महिलालाई निवेदन लेख्न लगायो र उजरी दर्ता गर्यो ।
यो घटना एउटा प्रतिनिधि मात्र हो । साइबर ब्युरोमा अरूले नै सुझाएर उजुरी दिन जाने तर त्यसपछि पनि ठगिने पीडितको सङ्ख्या बढ्दै गएको एसपी गिरीको भनाइ छ । उनले भने, “यी महिलालाई त आफू ठगीमा परेको छु भन्ने विश्वास मान्नै गाह्रो भयो । तर, यस्ता पीडितहरू पनि हुनुहुन्छ जसले उजुरी दिइसक्नु भएको हुन्छ, यता अनुसन्धान भइरहेको हुन्छ । तर, उता स्क्यामरले अन्य प्रलोभन देखाएर थप रकम लुटिदिन्छ ।”
यस्ता प्रकृतिका घटनाबाट जोगिन मान्छे आफैँ सचेत हुनुपर्नेमा एसपी गिरीको जोड छ । यसका लागि आफूले थाहा नभएको क्षेत्रमा काम गर्दा वा लगानी गर्न खोज्दा बुझ्ने व्यक्तिको सल्लाह लिन उनी सुझाउँछन् । “अन्तिममा धेरै रकम कमाएर देखाइदिन्छु भन्ने इख हुन्छ मान्छेमा, जसले गर्दा आफूले के गरिरहेको छु भन्ने कसैलाई भन्दैनन्,” उनले भने, “अनलाइन स्क्यामरले यही भावनाको फाइदा उठाएर ठग्छन् । कसैले कुनै पनि आर्थिक लाभको प्रलोभन देखाएको छ भने कम्तिमा आफ्नो नजिकको मान्छे, बुझ्ने मान्छेको सल्लाह चाहिँ लिनुपर्छ ।”
पछिल्लो अध्यावधिक: जेठ ६, २०८३ २१:४४
