close

डेटिङ एपमा भेटिएका ‘ठेकेदार’ ९ लाख ठगेर बेपत्ता, न्याय खोज्दै साइबर ब्युरो पुगिन् ३७ वर्षीया महिला

टेकपाना टेकपाना

जेठ ९, २०८३ १०:२

एआई सिर्जित तस्बिर एआई सिर्जित तस्बिर

काठमाडौँ । राजधानीकी ३७ वर्षीया बिनिता शर्मा (नाम परिवर्तन) डिभोर्सी हुन् । उनी आफ्नो लागि उपयुक्त जीवनसाथीको खोजीमा डेटिङ एप प्रयोग गरिरहेकी थिइन् । त्यही क्रममा उनको सम्पर्क आकर्षक व्यक्तित्व देखिने ४५ वर्षीय एक पुरुषसँग भयो । आफूलाई ठेकेदार बताउने ती पुरुषले सिङ्गल भएको समेत दाबी गरेका थिए ।

साइबर ब्युरोका प्रवक्ता एसपी दिलिपकुमार गिरीका अनुसार दुई हप्ताको सामान्य संवादपछि उनीहरू ह्वाट्सएपमा जोडिए । घटनाको बेलिविस्तार लगाउँदै एसपी गिरी भन्छन्, “उनीहरूबिच कुराकानी बाक्लिँदै गयो र विचारहरू पनि मिल्न थाले । दुबै सिङ्गल भनेपछि स्वाभाविक रूपमा उनीहरू नजिकिए पनि । त्यसै क्रममा उनीहरूले भेट्ने निधो गरे ।”

एसपी गिरीका अनुसार ती पुरुषले भेट्नका लागि यस्तो ठाउँ रोजेका थिए जहाँ उनी सजिलै कसैको नजरमा नपरून् र कुनै प्रमाण नमेटियोस् । “महिलाले खुला र राम्रो ठाउँमा भेट्ने प्रस्ताव गरे पनि पुरुषले अनेक बहाना बनाएर टारे,” गिरी भन्छन्, “यसको मुख्य उद्देश्य भविष्यमा हुन सक्ने अनुसन्धानबाट बच्न कुनै पनि प्रमाण वा भिडियो फुटेज नछोड्नु थियो ।”

यसरी उनीहरू भेटिरहन थाले । युवकले आफूलाई एक विकट जिल्ला तर हुनेखाने परिवारको सदस्यका रूपमा प्रस्तुत गरेका थिए । भेटकै क्रममा एक पटक युवकले ती महिलालाई आफ्नो योजना सुनाए, “म समस्यामा भएको जस्तो देखिन्छु नि है ? त्यो किन भने मलाई केही दिनअघि मात्रै २५ करोडको एउटा टेन्डर पर्‍यो । हाम्रो फेरि सबै पैसा बैंककै डिपोजिट हुन्छ । कत्तिमा बैंक नै ग्यारेन्टी बसेको हुन्छ । तर, सरकारी कर्मचारीले पास गर्नै मानेका छैनन् । तिमीलाई पनि थाहा छ नि, कस्ता हुन्छन् सरकारी कर्मचारी । पैसा नभई काम नै गर्दैनन् ।” 

महिलाले ती युवकको आशय बुझिनन् । उनले ‘तपाईंले के भन्न खोज्नु भएको हो, मैले बुझिनँ’ भनिन् । यवक सोझै आफ्नो आवश्यकतामा पुगे, “अहिलेका लागि नौ लाख रुपैयाँ बुझाउनु पर्ने भयो । फाइदा हुने खालको राम्रै टेन्डर हो । दुई तीन करोड नै आउँछ । तर, अहिले मसँग भएको पैसा नै होल्ड भयो ।”

बिनितालाई ती पुरुष मन परेको थियो । तर, उनले भनेको जति नौ लाख रुपैयाँ उनीसँग थिएन । “युवक हेर्दा पनि हुनेखाने देखिन्थ्यो, खर्च पनि गरेको जस्तो देखायो,” एसपी गिरी भन्छन्, “यस्तो बेला साथ दिएन भने भोलि यो मान्छे पनि गुम्छ भन्ने पीर महिलालाई भयो । तर, उनीसँग सात लाख रुपैयाँ मात्र रहेछ ।”

अब बाँकी दुई लाख रुपैयाँको बस्दोबस्त गर्नुपर्ने भयो बिनिताले । त्यसपछि उनले आफ्नो साथीको सल्लाह लिइन् । र, नगद रकम झिकेर युवकको हातमा पारिन् । “केही दिन उनीहरूबिच राम्रै कुरा भयो,” एसपी गिरी थप्छन्, “तर, विस्तारै ठेकेदार भनेको मान्छे टाढिन थाल्यो । पहिले निरन्तर फोन लाग्ने ह्वाट्सएपमा पनि सम्पर्क हुन छाड्यो । न मेसेज नै डेलिभर भयो ।” पछिल्लो समय अन्तिम पटक युवकले ह्वाट्सएपमा फोन उठाए । तर, आफू ठुलोबुबाको क्रिया बसेकाले बाहिर जान नमिल्ने बताउन थाले । “पछिल्लो समय कुरा हुँदा उसले आफू दाइलाई सघाइरहेको बताएका रहेछन्,” एसपी गिरी भन्छन्, “तर, त्यो पनि सबै बहाना हो भन्ने देखिन्छ । अहिले पनि भेट्छु भनेरै पर्खाइ रहेको छ ।” 

पहिलो पटक डेटिङ एपमा भेटिएकाले यो उजुरी साइबर ब्युरोमा दिनुपर्ने भन्ने बिनिताले ठानिन्  । तर, उनले सबै नगद पुरुषको हातमै दिएकी थिइन् ।

“ती महिला कति सोझी मान्छे भने नि, न फोटो छ ती युवकको, न केही अरू प्रमाण,” एसपी गिरी भन्छन्, “सुरुमा डेटिङ एपमा भेटेको भएर त साइबर अपराधको घटना कसरी हुन्छ, न रकम पठाउन डिजिटल माध्यमको प्रयोग भएको छ । कसैले सुझाव दिएपछि ब्युरो आएको देखियो ।”

साइबर ब्युरोले बिनितालाई उनको नजिकको प्रहरी कार्यालयमा उजुरी दिन सुझायो । “यदि फेरि भेट्न खोज्यो भने त्यही बहानामा भेट्नुस् र हामीलाई खबर गर्नुहोला भनेका छौं,” एसपी गिरी भन्छन्, “तर, उसले भेट्छ भन्ने हामीलाई लाग्दैन ।”

कुनै पनि अपरिचित व्यक्तिलाई केही समयमा चिनजान गरेकै भरमा विश्वास गरेर रकम नदिन एसपी गिरीको सुझाव छ । उनी थप्छन्, “डलर साट्ने भनेर अनलाइन माध्यमबाट चिनजान गर्ने र पछि भौतिक रूपमा रकम लिएर नक्कली रकम हात पारेर बेपत्ता हुने गिरोह पनि सक्रिय छ । यसबाट जोगिनका लागि मान्छे आफैँ सचेत हुनुपर्छ । बुझेर मात्र कारोबार गर्ने बानी बसाल्नु पर्‍यो, आफूभन्दा बुझ्ने वा त्यो क्षेत्रमा सक्रिय भएको व्यक्तिको सुझाव लिनुपर्‍यो । रकमको कारोबार गर्दा भरसक प्रमाण राख्नुपर्‍यो । यसो गर्दा मात्र मान्छे सुरक्षित हुन सक्छ । र, यदि ठगीमा परिहाल्यो भने पनि सहज रूपमा अनुसन्धान गर्ने वातावरण बन्छ ।”

*समाचारकाे शीर्षक सच्याइएकाे छ । स.

पछिल्लो अध्यावधिक: जेठ ११, २०८३ १२:१२