विद्युतीय कारोबार र राज्यविरुद्धको कसुरमा दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता
जेठ ११, २०८३ १५:४४
काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय पर्साले विवादित मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता गरेको छ । सोमबार पर्सा जिल्ला अदालतमा प्रसाईंविरुद्ध दुई कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता मनोज प्रसाद गुप्ताले जानकारी दिए ।
उनका अनुसार प्रसाईंविरुद्ध विद्युतीय कारोबार र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ ।
सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा दिएका अभिव्यक्तिलाई आधार मान्दै पर्सा प्रहरीले ४ जेठमा प्रसाईंलाई पक्राउ गरेको थियो । त्यसयता पटक-पटक म्याद थप हुँदै उनी जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन् ।
मुद्दा दर्ता भएसँगै सोमबार उनलाई जिल्ला अदालतमा उपस्थितिका लागि पठाइएको न्यायाधिवक्ता गुप्ताले जानकारी दिए ।
पछिल्लो अध्यावधिक: जेठ ११, २०८३ १६:२०
