६ महिनामा छापिए साढे १० लाख क्यूआर सहितका लाइसेन्स, आज बाँकी डेढ लाख छाप्न सम्भव होला ?
बैशाख १२, २०८३ १३:५३
काठमाडौँ । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच भएको सम्झौता अनुसार छ महिनाको अवधिमा १० लाखभन्दा बढी क्यूआर कोडमा आधारित स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएका छन् । १२ कात्तिक २०८२ मा भएको १२ लाख लाइसेन्स छाप्ने सम्झौताको म्याद आज (१२ वैशाख) सकिँदैछ । म्याद सकिने अन्तिम दिनसम्म आइपुग्दा अब करिब एक लाख ४५ हजार लाइसेन्स छाप्न बाँकी छ । एकै दिनमा यति ठुलो सङ्ख्यामा लाइसेन्स छपाइ सम्पन्न हुन्छ वा म्याद थप गरिन्छ भन्ने विषय भने बाहिर आउन बाँकी छ ।
विद्यमान लाइसेन्सको ब्याकलग (छाप्न बाँकी थुप्रिएका आवेदन) फर्छ्यौट गर्ने, अत्यावश्यक छपाइलाई प्राथमिकता दिने र सरकारी कागजातको आन्तरिक उत्पादन क्षमता बढाउने उद्देश्यका साथ यी दुई निकायबिच छ महिने सम्झौता भएको थियो ।

विभागले छपाइको सहजताका लागि सेवाग्राहीलाई तीन वर्गमा विभाजन गरी काम अगाडि बढाएको छ । जसमा वैदेशिक रोजगार, अध्ययन वा अन्तर्राष्ट्रिय यात्रामा जानेका लागि द्रुत छपाइको सुविधासहित ‘अत्यावश्यक’ वर्गमा राखिएको छ । त्यस्तै, नियमित प्रक्रियाअन्तर्गत लामो समयदेखि छपाइको पर्खाइमा रहेका आवेदनलाई ‘ब्याकलग’ र लाइसेन्स नवीकरण वा ट्रायल पास गरी राजस्व बुझाएकै दिन प्राप्त हुने नयाँ आवेदनलाई ‘दैनिक’ वर्गमा राखेर निरन्तर सेवा प्रदान गरिँदै आइएको छ ।
सुरक्षण मुद्रण केन्द्रले हालसम्म कूल सम्झौताको ८७.९ प्रतिशत अर्थात् १० लाख ५४ हजार ५९० ओटा लाइसेन्स छपाइको काम सम्पन्न गरिसकेको दाबी गरेको छ । अब एक लाख ४५ हजार ४१० ओटा लाइसेन्स छापिने प्रक्रियामा रहेका छन् । तोकिएकै समयमा सम्झौता अनुसारको काम सम्पन्न गर्न केन्द्रले सार्वजनिक बिदाका दिनमा समेत निरन्तर काम गर्दै आएको जनाएको छ । यद्यपि, आज रातिसम्म बाँकी सबै लाइसेन्स छापिएर सकिन्छन् या म्याद थपिन्छ भन्नेमा चासोको विषय बनेको छ ।
यसैबिच यातायात व्यवस्था विभागले ३० चैतसम्म देशका विभिन्न यातायात कार्यालयमा छ लाख ७३ हजारभन्दा बढी सवारी चालक अनुमतिपत्र पठाइसकेको जनाएको छ । विभागका अनुसार काठमाडौँको यातायात व्यवस्था कार्यालय चाबहिलमा एक लाख ७८ हजार ४१७ र यातायात कार्यालय ठुलोभर्याङमा ४० हजार ओटा लाइसेन्स पठाइएको छ । यसैगरी भक्तपुरको राधेराधेस्थित यातायात कार्यालयमा एक लाख ७५ हजार ५९८, यातायात व्यवस्था कार्यालय सुनसरीमा ९४ हजार र झापामा ६८ हजारभन्दा बढी लाइसेन्स वितरणका लागि पठाइसकिएको विभागले जनाएको छ ।
यता, यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र), कास्कीले भने आफूकहाँ अझै लाइसेन्स आइनपुगेको जनाएको छ । देशका अन्य यातायात कार्यालयहरूमा लाइसेन्स पुगेको समाचार सार्वजनिक भएपछि सेवाग्राहीहरू लाइसेन्स लिन कार्यालय पुग्न थालेका छन् । तर, विभागबाट हालसम्म कार्ड प्राप्त नभएको कास्की कार्यालयले जनाएको छ । विभागबाट लाइसेन्सका कार्डहरू प्राप्त हुनासाथ आधिकारिक वेबसाइटमार्फत जानकारी गराइने भन्दै कार्यालयले वेबसाइटमा सूचना हेरेर मात्रै लाइसेन्स लिन आउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १२, २०८३ १६:७
