close

एआई सिर्जित सङ्गीतको बचाउमा स्पोटिफाईका सीईओ, भन्छन्: पाइरेसी भन्दा राम्रो विकल्प

टेकपाना टेकपाना

जेठ १३, २०८३ ६:४९

एआई सिर्जित सङ्गीतको बचाउमा स्पोटिफाईका सीईओ, भन्छन्: पाइरेसी भन्दा राम्रो विकल्प

काठमाडाैँ । सङ्गीत स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलेक्स नोरस्ट्रोमले कम्पनीको एआईद्वारा सिर्जित सङ्गीततर्फको कदमको बचाउ गरेका छन् । उनले कम्पनीको एआई सङ्गीत फिचरले प्रयोगकर्ता र कलाकार दुवैलाई पाइरेसी तथा अनियन्त्रित एआई सामग्री भन्दा राम्रो विकल्प प्रदान गर्ने बताएका हुन् ।

गत साता स्पोटिफाइले नयाँ फिचर सार्वजनिक गर्दै प्रिमियम प्रयोगकर्ताले सहभागी कलाकारहरूको गीत प्रयोग गरेर एआईमार्फत आफ्नै रिमिक्स र कभर भर्सन बनाउन सक्ने जनाएको थियो । कम्पनीले युनिभर्सल म्युजिक ग्रुपसँग सम्झौता गरी उक्त फिचर ल्याइएको हो । उक्त घोषणापछि स्पोटिफाइको शेयर मूल्य एक सातामै १६ प्रतिशतले बढेको थियो ।

फाइनान्सियल टाइम्ससँगको कुराकानीमा स्पोटिफाईको एआई सङ्गीतलाई मान्यता दिने कदमको बचाउ गर्दै नोरस्ट्रोमले ‘नियन्त्रित’ विकल्प उपलब्ध गराउन खोजिएको बताएका छन् । उनका अनुसार कलाकारहरूले आफ्ना सिर्जना प्रयोग गर्न अनुमति दिन सक्ने र त्यसबाट आम्दानी पनि गर्न सक्नेछन् । यस्ता काम अनधिकृत रूपमा गर्ने धेरै प्रयास भइरहेका कारण नियन्त्रित विकल्प दिन खोजिएको उनको भनाइ छ ।

स्पोटिफाइको नयाँ एआई फिचर प्रयोग गर्न अतिरिक्त शुल्क लाग्ने बताइएको छ । नोरस्ट्रोमका अनुसार स्पोटिफाईको एआई फिचरले एउटै गीतलाई १० हजार भर्सनमा बदल्न सक्ने क्षमता दिनेछ । यद्यपि, यो फिचर कसरी सञ्चालन हुनेछ भन्ने विस्तृत जानकारी सार्वजनिक गरिएको छैन । 

प्रयोगकर्ताले बनाएका एआई रिमिक्स अरूसँग साझा गर्न मिल्छ वा निजी रूपमा मात्र राख्न सकिन्छ भन्ने कुरामा पनि कम्पनीले स्पष्ट बनाएको छैन । त्यस्तै, एआईबाट तयार पारिएका सामग्रीलाई स्पोटिफाइले कसरी लेबल गर्छ भन्ने विषय पनि अन्योलमै छ ।

यता, द गार्डियनसँग कुरा गर्दै कलाकारहरूको कपीराइट अधिकार संरक्षण अभियानमा सक्रिय सङ्गीतकार एड न्युटन-रेक्सले सहमतिमा आधारित एआई सङ्गीत अन्य विकल्प भन्दा राम्रो हुने बताएका छन् । एआई सङ्गीत बनाउने नै हो भने कलाकारको अनुमति लिएर बनाइएको सङ्गीत स्पष्ट रूपमा राम्रो हुने उनको भनाइ छ ।

तर उनले यस्तो फिचरले मानव कलाकारमाथि एआई सङ्गीतको प्रतिस्पर्धा अझ बढाउन सक्ने चेतावनी पनि दिएका छन् । यदि प्रयोगकर्ताले बनाएका एआई रिमिक्स सार्वजनिक रूपमा साझा गर्न पाए भने प्लेटफर्ममा एआई सामग्रीको बाढी आउन सक्ने र यसले अन्य गीतलाई नै ओझेलमा पार्ने जोखिम हुन्छ ।

पछिल्लो समय एआई सङ्गीतप्रति माग तीव्र रूपमा बढिरहेको देखिन्छ । गत वर्ष एआईद्वारा सिर्जित तीन गीतले स्पोटिफाइको सूचीसहित विभिन्न म्युजिक चार्टहरूमा शीर्ष स्थान हासिल गरेका थिए । यसले प्रमुख प्लेटफर्महरूमा एआई गीतको प्रभाव बढ्दै गएको र मािनसले बनाएको सङ्गीतसँग छुट्याउन कठिन बन्दै गएको संकेत गरेको छ ।

न्युटन-रेक्सका अनुसार एआई सङ्गीतको गुणस्तर छोटो समयमै उल्लेखनीय रूपमा सुधारिएको छ । एआई अहिले सङ्गीत उद्योगसहित समग्र सिर्जनात्मक क्षेत्रका लागि ठुलो चुनौती बनेको छ । बेलायत सरकारले मार्चमा एआई कम्पनीलाई अनुमति बिना प्रतिलिपि अधिकारयुक्त सामग्री प्रयोग गर्न दिने योजना कलाकारहरूको विरोधपछि फिर्ता लिनुपरेको थियो । उक्त विरोधमा एल्टन जोन र डुवा लिपा लगायत हजारौँ कलाकार सहभागी भएका थिए ।

पछिल्लो अध्यावधिक: जेठ १३, २०८३ ७:५४