close

एसईई पछिको खाली समयमा १५ वर्षीय प्रान्जलले भाइब कोडिङको सहयोगमा बनाए ‘डाक्टर एआई’

टेकपाना टेकपाना

जेठ १४, २०८३ ८:५९

एसईई पछिको खाली समयमा १५ वर्षीय प्रान्जलले भाइब कोडिङको सहयोगमा बनाए ‘डाक्टर एआई’

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएपछिको खाली समय सदुपयोग गर्दै काठमाडौँ कपनका प्रान्जल रेग्मीले स्वास्थ्यसँग सम्बन्धी सल्लाह दिने प्लेटफर्म तयार पारेका छन् । १५ वर्षीय रेग्मीले ‘डाक्टर एआई’ नामक प्लेटफर्म तयार पारेका हुन् ।

प्रविधिको क्षेत्रमा रुचि राख्ने प्रान्जलले घरमै बसेर विकास गरेको यो एआईले स्वास्थ्य सम्बन्धी सामान्य जिज्ञासाको समाधान दिनुका साथै औषधि र शुल्कका बारेमा समेत जानकारी प्रदान गर्छ । करिब दुई हप्ताको समय लगाएर उनले यो एआई प्लेटफर्म तयार पारेका हुन् । 

उनी भन्छन्, “भाइब कोडिङ सिक्न थालेको त लगभग एक वर्ष भइसक्यो । डाक्टर एआई तयार पार्न चाहिँ हरेक दिन थोरै समय दिँदा २० दिन जति लाग्यो ।”

कसरी तयार भयो ‘डाक्टर एआई’ ?

प्रान्जलले यो एआई तयार पार्न ‘लार्ज ल्याङ्ग्वेज मोडेल’ (एलएलएम) र सफ्टवेयर तथा एप्लिकेसन बनाउन प्रयोग गरिने एआई प्लेटफर्म रेप्लिट प्रयोग गरेका छन् । उक्त प्लेटफर्म तयार पार्न आफैँले कोडिङ गर्नुको सट्टा भाइब कोडिङको प्रयोग गरेको उनले बताए ।

प्रान्जल भन्छन्, “अहिले पहिलाजस्तो हातैले कोडिङ गरिरहनु पर्ने आवश्यकता नै छैन । राम्रोसँग प्रम्प्ट दियो भने चाहेजस्तो एप एआईले नै तयार पारिदिन्छ । त्यसका लागि कन्सेप्ट चाहिँ आफ्नो चाहियो ।”

प्रान्जलले तयार पारेको प्लेटफर्म https://nepalhealthguide.com/ मा उपलब्ध छ । यो प्लेटफर्मको ‘Consultation’ सेक्सनमा गएर एआईसँग आफ्नो स्वास्थ्य समस्याका बारेमा अङ्ग्रेजी वा नेपाली भाषामा बोलेर प्रश्न सोध्न सकिन्छ । 

जहाँ एआईले बिरामीको उमेर र स्वास्थ्य समस्याका लक्षणहरूको बारेमा फलोअप प्रश्नहरू सोध्छ । त्यसपछि उसले लक्षणहरूको आधारमा बिरामीमा देखिन सक्ने स्वास्थ्य समस्या, कस्तो औषधि कहाँबाट किनेर खाने र शुल्क कति पर्छ लगायतका जानकारी उपलब्ध गराउँछ ।

यस्तै ‘Hospitals’ सेक्सनमा काठमाडौँ र ललितपुरसहित नेपालका मुख्य सहरमा भएका अस्पतालहरूको सम्पर्क नम्बर लगायतका विवरण राखिएका छन् । जहाँ फरक फरक किसिमका स्वास्थ्य परीक्षणका लागि अस्पतालमा सेवा भए/नभएको विवरण पनि समेटिएको छ ।

अर्कातर्फ ‘Emergency’ सेक्सनमा एम्बुलेन्स, दमकल, नेपाल प्रहरी र ट्राफिक प्रहरी लगायत आपत्कालीन सम्पर्क नम्बरहरू राखिएका छन् । सुरुमा प्यारासिटामोल जस्ता सामान्य औषधिको मात्र जानकारी दिने यो एआईले अहिले पेन्टोज लगायतका अन्य औषधिको मूल्य र उपलब्धताका बारेमा पनि बताउन थालेको प्रान्जल बताउँछन् ।  

नेपालका मेडिकल पसलहरूमा पाइने सामग्री र यिनीहरूको मूल्यका बारेमा पनि एआईबाट नै तथ्याङ्क सङ्कलन गरेर प्रयोग गरिएको रेग्मीले बताए । उनले भने, “च्याटजीपीटीलाई नै सोधे पनि त्यसले जवाफ दिन्छ । तर, नेपालको सन्दर्भमा थप उपयोगी हुने गरी यो एआई तयार पारिएको हो ।”

पडकास्ट हेर्ने क्रममा आफूलाई स्वास्थ्य सम्बन्धी जानकारी दिने प्लेटफर्म बनाउने विचार आएको रेग्मीले बताए । जसलाई उनले भाइब कोडिङको माध्यमबाट मूर्त रूप दिएका हुन् ।

यो एआई तयार पार्न प्रान्जलले ‘रेप्लिट’ को २० डलरको सब्सक्रिप्सन लिएका थिए । भाइब कोडिङ गर्दा यसको डेटाबेस तथा सुरक्षा व्यवस्थापनमा ध्यान दिनुपर्ने भएकाले सब्सक्रिप्सन लिइएको उनले सुनाए ।

एसईईको नतिजा आइसक्दा प्रान्जलले आगामी दिनमा पनि सफ्टवेयर विकास र नयाँ/नयाँ प्रविधिको क्षेत्रमा काम गर्ने योजना बनाएका छन् । त्यसैले कक्षा ११ मा कम्प्युटर इन्जिनियरिङ विषय लिएर पढ्ने योजना बनाएको उनले सुनाए । पढाइसँगै डाक्टर एआईलाई थप परिष्कृत बनाउने कामलाई पनि निरन्तरता दिने उनको योजना छ ।

पछिल्लो समय कोडिङका लागि धेरै मेहनत गर्नु नपर्ने भए पनि आधारभूत ज्ञान भने हुनुपर्ने उनको भनाई छ । रेग्मी भन्छन्, “फ्रन्टइन्डको लागि भाइब कोडिङ निकै प्रभावकारी छ । तर, एउटा राम्रो सफ्टवेयर बनाउन ‘ब्याकइन्ड’ कसरी चल्छ भन्ने कुराको आधारभूत ज्ञान भने डेभलपरलाई हुनुपर्छ ।”

एआईबाट तयार पारिएको डाक्टर एआईबाट सामान्य सल्लाह लिए पनि यसले दिने सल्लाहलाई लाइसेन्स प्राप्त चिकित्सकको विकल्पको रूपमा भने लिन नहुने उनले स्पष्ट पारे ।

 

पछिल्लो अध्यावधिक: जेठ १४, २०८३ १०:११