close

प्रहरीविरुद्ध अश्लील शब्द बोलेको भन्दै कमेडियन सजन श्रेष्ठसहित ३ जनालाई ब्युरोले गरायो सचेत

टेकपाना टेकपाना

जेठ ८, २०८३ १८:११

प्रहरीविरुद्ध अश्लील शब्द बोलेको भन्दै कमेडियन सजन श्रेष्ठसहित ३ जनालाई ब्युरोले गरायो सचेत

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले पडकास्टमा प्रहरी सङ्गठनप्रति अश्लील शब्द प्रयोग गरेको भन्दै कमेडियन सजन श्रेष्ठसहित तीन जनालाई सचेत गराएको छ । ब्युरोले श्रेष्ठसहित विशाल गौतम र उत्सव सापकोटालाई बुधबार (६ जेठ) कार्यालयमा उपस्थित गराएर सचेत गराएको हो ।

‘Sajan Shrestha’ नामक युट्युब च्यानलबाट गत ४ मे मा सार्वजनिक भएको पडकास्टमा प्रहरी सङ्गठनलाई लक्षित गरी अश्लील शब्द प्रयोग भएको उजुरीपछि उनीहरूलाई बोलाइएको थियो । छलफलका क्रममा उनीहरूले पडकास्टबाट प्रहरी सङ्गठनप्रति गरिएको अश्लील टिप्पणीको क्लिप हटाउने र आगामी दिनमा त्यस्ता शब्द प्रयोग नगर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिलीप कुमार गिरीका अनुसार कुनै पनि सङ्गठन वा व्यक्तिप्रति अपमानजनक र अश्लील शब्द बोलेर सामग्री सार्वजनिक गर्नु कानुनी रूपमा गलत हुने जानकारी गराउँदै उनीहरूलाई सचेत गराइएको हो ।

एसपी गिरीले भने, “प्रहरी सङ्गठन विरुद्ध अश्लील शब्द प्रयोग भएको उजुरीका आधारमा उनीहरूलाई बोलाइएको थियो । पडकास्ट वा कुनै पनि डिजिटल प्लेटफर्ममा कसैको मर्यादामा आँच आउने गरी अश्लील सामग्री सम्प्रेषण गर्न पाइँदैन भन्ने विषयमा लिखित सहमति गराएर उनीहरूलाई छाडिएको छ ।”

पछिल्लो अध्यावधिक: जेठ ८, २०८३ १८:४८