close

ड्रोनमार्फत दुर्लभ वन्यजन्तु नाउर लखेटेको भिडिओ भाइरल, प्रशासनले सुरु गर्‍यो कारबाही प्रक्रिया

टेकपाना टेकपाना

जेठ १७, २०८३ ७:४४

ड्रोनमार्फत दुर्लभ वन्यजन्तु नाउर लखेटेको भिडिओ भाइरल, प्रशासनले सुरु गर्‍यो कारबाही प्रक्रिया

 

काठमाडौँ । उच्च हिमाली भेगको दुर्लभ वन्यजन्तु नाउरलाई ड्रोन मार्फत लखेट्दै खिचिएको एक भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । फेसबुकमा गोर्ख घर्ती नामक अकाउन्टबाट शुक्रबार सार्वजनिक ४ मिनेट २३ सेकेन्डको सो भिडिओमा बझाङको साइपाल गाउँपालिकाको उच्च पहाडी क्षेत्रमा नाउरलाई ड्रोनले निरन्तर पछ्याएको र त्रसित पारेको दृश्य देखिन्छ । 

भिडिओमा युवकले निकै गर्वका साथ आफूले चार दिनको खोजपछि नाउर भेटाएको र ड्रोनमार्फत नजिकबाट तस्बिर खिचेको दाबी गरेका छन् । भिडिओको सुरुमा उनले आफू छ देखि सात हजार फिटको उचाइमा रहेको बताउँदै ‘तपाईंहरूले नदेखेको नाउर नजिकबाट देखाउँछु’ भनी ड्रोन उडाएका छन् । ड्रोनको आवाज र उपस्थितिले डराएका नाउर भिर र खोँचमा भागाभाग गरिरहेको दृश्य भिडिओमा देखिन्छ । ड्रोनको प्रयोग गरी नाउरलाई लखेट्नु नै उक्त भिडिओको मुख्य आकर्षणका रूपमा देखाइएको छ ।

भिडिओ सार्वजनिक भएलगत्तै सर्वसाधारणले यसको आलोचना गरेका छन् । ६ लाख २० हजारभन्दा बढी भ्युज प्राप्त यो भिडिओमा झन्डै ४० हजार रियाक्सन र ७५३ बढी कमेन्ट आएका छन् भने ३८२ पटक शेयर भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘वन्यजन्तुलाई यसरी दुःख दिनु गैरकानुनी र अमानवीय कार्य’ भन्दै कारबाहीका लागि आवज उठाएका छन् । तेज विक्रम शाहीले कमेन्ट गर्दै भनेका छन्, “तिमी कारबाहीमा पर्ने मानिस हौ । वन्यजन्तुलाई किन दुःख दिएको ? तिमी चोरी सिकारीमा संलग्न जस्तो छौ ।” 

अर्का प्रयोगकर्ता दोर्जे शेर्पाले जनावरलाई दुःख दिनु गलत भएको भन्दै आक्रोश पोखेका छन् । कमेन्टमा आलोचना भएपछि भिडिओ पोस्ट गर्ने व्यक्तिले ‘चोरी सिकारी गरेर धेरै नै लोप भएको जनावर हो, मैले त लखेटेको मात्रै हो’ भन्दै आफ्नो बचाउ गरेका छन् । यसले झन् बढी विवाद निम्त्याएको छ ।

वन्यजन्तु फोटोग्राफर हिमालय भट्टले यो भिडिओ सामाजिक सञ्जालमा राखेर प्रयोगकर्ताले वन्यजन्तुलाई दुःख दिन प्रेरित गरेको तर्क गरे । उनले भने, “वन्यजन्तुको फोटो खिच्ने एउटा निश्चित प्रक्रिया हुन्छ । जसमा अनुमति लिने र जनावरलाई कुनै असर नपर्ने गरी दूरी कायम गर्ने गरिन्छ । तर, यहाँ त जानाजानी लखेटिएको छ । यस्तो हर्कतले नाउरको भिरबाट खसेर ज्यान जान सक्छ । अरूले सिकार गरेका छन् भनेर मैले लखेट्नु ठिक हो भन्ने तर्क गरेका छन् । तर, यो स्वीकार्य छैन ।” उनले यस्ता भिडिओले अरूलाई पनि गलत कार्यका लागि प्रोत्साहित गर्ने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्नुपर्ने बताए । 

भट्टका अनुसार बझाङ जस्ता दुर्गम क्षेत्रमा अनुमति विना नै ड्रोन उडाएर वन्यजन्तु सताउने क्रम बढेको छ । यसले गर्दा वैध रूपमा वन्यजन्तुको अनुसन्धान वा छायाङ्कन गर्नेलाई समेत समस्या परिरहेको उनको गुनासो छ ।

यता जिल्ला प्रशासन कार्यालय बझाङले उक्त घटनालाई गम्भीरताका साथ लिएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले ड्रोन उडाउने कुनै पनि अनुमति कसैलाई नदिइएको स्पष्ट पारेकी छन् । उनले भनिन्, “अनुमतिबिना ड्रोन उडाउनु नै गैरकानुनी हो । त्यसमाथि वन्यजन्तुलाई यसरी त्रसित पार्नु अपराध हो । हामीसँग उक्त भिडिओ आइपुगेको छ, म यसबारे प्रहरीसँग समन्वय गर्दैछु ।” 

सहायक प्रजिअ जोशीले भिडिओको आधारमा संलग्न व्यक्तिको पहिचान गरी सोधपुछका लागि बोलाउने र कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने जनाइन् । “हामी ती व्यक्तिलाई बोलाएर किन र कसरी यस्तो काम गरे भन्नेबारे सोधखोज गर्नेछौँ । जनावरको पनि आफ्नो अधिकार हुन्छ, उनीहरूको बासस्थानमा यसरी दुःख दिन कसैलाई छुट छैन,” उनले थपिन् । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार वन्यजन्तुलाई जुनसुकै तरिकाले लखेट्नु, दुःख दिनु, मार्नु, मार्ने प्रयत्न गर्नु, शरीरको कुनै अङ्ग झिक्नु वा नष्ट गर्नु, तथा तिनका फुल वा गुँड झिक्नु, नष्ट गर्नु वा खलबल्याउनुलाई ‘शिकार’को रूपमा परिभाषित गरिएको छ । उक्त ऐनले अनुमतिबिना गरिने यस्ता क्रियाकलापलाई गैरकानुनी ठहर्‍याएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १७, २०८३ ७:४४