close

ह्वाट्सएप र ईमेलबाट निजामती कर्मचारीहरूको तलबी आम्दानीको निस्सा दिँदै राष्ट्रिय किताबखाना

टेकपाना टेकपाना

जेठ २०, २०८३ १७:६

ह्वाट्सएप र ईमेलबाट निजामती कर्मचारीहरूको तलबी आम्दानीको निस्सा दिँदै राष्ट्रिय किताबखाना

काठमाडौं । सेवाग्राहीको अत्यधिक चाप बढेपछि राष्ट्रिय किताबखाना (निजामती) ले ह्वाट्सएप र ईमेलमार्फत ‘तलबी आम्दानीको निस्सा’ उपलब्ध गराउन सुरु गरेको छ । कार्यालयमा हुने भीडभाड व्यवस्थापन गर्न र सेवालाई सहज बनाउन विभागले ‘फेसलेस’ (भौतिक उपस्थिति नचाहिने) मोडेल अपनाउँदै डिजिटल माध्यमबाट विवरण दिन थालेको हो ।

गत ३१ वैशाखमा सम्पत्ति छानबिन आयोगले गोरखापत्रमा सूचना प्रकाशित गर्दै वि.सं. २०६२ देखि हालसम्म सार्वजनिक पदमा रहेका पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, सहसचिव वा सो सरहका कर्मचारी र कार्यालय प्रमुखहरूलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको थियो । सोही प्रयोजनका लागि तलबी आम्दानीको विवरण लिन उपसचिव वा सोभन्दा माथिल्लो तहका बहालवाला तथा निवृत्त कर्मचारीहरूको किताबखानामा चाप बढेपछि विभागले अनलाइन विकल्प अघि सारेको हो ।

राष्ट्रिय किताबखाना (निजामती) का महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार सेवाग्राहीले अब विभागमा भौतिक रूपमा उपस्थित नभई घरमै बसेर ‘डिजिटल डकुमेन्ट एक्सेस सर्भिस’ मार्फत आफ्नो विवरण प्राप्त गर्न सक्नेछन् ।

भौतिक रूपमा उपस्थित नभई कसरी लिने विवरण ?

महानिर्देशक पोखरेलका अनुसार ह्वाट्सएपमार्फत विवरण लिन चाहने सेवाग्राहीले आफ्नो नाम, दर्जा र सङ्केत नम्बर विभागको ह्वाट्सएप नम्बर ९७१४४९९२४० मा म्यासेज गर्नुपर्नेछ । सुरक्षा र गोपनीयताका कारण ह्वाट्सएपमा पठाइएको विवरण २४ घण्टापछि स्वतः मेटिने (डिलिट हुने) व्यवस्था गरिएको छ ।

यो सेवालाई छिटो-छरितो बनाउन विभागका कर्मचारीहरूले सार्वजनिक बिदाका दिनमा समेत ‘वर्क फ्रम होम’ (घरबाटै काम गर्ने) पद्धतिअनुसार काम गरिरहेको उनले जानकारी दिए । “अत्यधिक मागका कारण कहिलेकाहीँ २४ घण्टाभित्र विवरण पठाउन नसकिन सक्छ, त्यस्तो अवस्थामा पुनः मेसेज पठाउनुपर्छ,” महानिर्देशक पोखरेलले भने ।

त्यसैगरी, ईमेलमार्फत पनि विवरण माग गर्न सकिनेछ । सेवाग्राहीले [email protected] मा आफ्नो नाम, पद र सङ्केत नम्बर ईमेल गर्नुपर्नेछ । ईमेलमा पठाइएको विवरण सुरक्षित रहने र पछि पनि हेर्न मिल्ने भएकाले विभागले ह्वाट्सएपभन्दा ईमेललाई प्राथमिकता दिन आग्रह गरेको छ ।

प्राविधिक कारणले कहिलेकाहीँ विवरणमा सामान्य त्रुटि हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै विभागले सेवाग्राहीलाई प्राप्त विवरण आफैँ पनि रुजु गर्न सुझाव दिएको छ । किताबखानाको वेबसाइटको होमपेजमा वि.सं. २०१७ देखिको पद, तलब स्केल र ग्रेडको पूर्ण विवरण ‘तलब र ग्रेड सिट’ शीर्षकमा राखिएको छ । साथै, वेबसाइटमा उपलब्ध ‘क्यालकुलेटर’ प्रयोग गरेर कर्मचारीहरूले आफ्नो तलब आफैँ गणना गर्न समेत सक्नेछन् ।

यस नयाँ व्यवस्थाले देशैभर रहेका र अवकाशप्राप्त उच्च पदस्थ कर्मचारीहरूलाई काठमाडौँसम्म धाउनुपर्ने बाध्यता अन्त्य गरिदिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २०, २०८३ १७:१८