close

भाइरल हुने लहडमा व्यस्त सडकमा सुतेर बाइक गुडाउने चालक पक्राउ, भन्छन्ः ‘आइन्दा यस्तो गर्दिनँ’

टेकपाना टेकपाना

जेठ ८, २०८३ १९:३०

भाइरल हुने लहडमा व्यस्त सडकमा सुतेर बाइक गुडाउने चालक पक्राउ, भन्छन्ः ‘आइन्दा यस्तो गर्दिनँ’

काठमाडौँ । राजधानीको व्यस्त सडकमा मोटरसाइकलको ह्यान्डल छोडी सुतेर जोखिमपूर्ण ‘स्टन्ट’ गर्ने एक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बागमती प्रदेश ०२-०२३ प २८८४ नम्बरको मोटरसाइकलमा सुतेर ती चालकले गरेको खतरनाक स्टन्टको भिडिओ केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

भिडिओ सार्वजनिक भएलगत्तै सर्वसाधारणले नेपाल प्रहरीलाई सामाजिक सञ्जालमा ट्याग र मेन्सन गर्दै कारबाहीको माग गरेका थिए । सोही जनगुनासो र प्रमाणका आधारमा प्रहरी वृत्त कालिमाटीले अनुसन्धान अघि बढाउँदै ती चालकलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।

प्रहरीको नियन्त्रणमा पुगेपछि चालकले आफूले गरेको कार्य ट्राफिक नियमविपरीत र ज्यानकै लागि जोखिमपूर्ण रहेको स्वीकार गरेका छन् । उनले एक भिडिओमा आफ्नो गल्ती महसुस गर्दै भनेका छन्, “मैले गरेको कार्य ट्राफिक नियमको उल्लंघन हो, यसले आफ्नै ज्यान र अन्यको सुरक्षामा पनि खतरा पुर्‍याउँछ । आइन्दा म यस्तो कार्य गर्दिनँ र अरूलाई पनि यस्तो नगर्न अनुरोध गर्छु ।”

ट्राफिक नियम उल्लङ्घन गर्ने र सडकमा उच्छृङ्खल स्टन्ट देखाउनेहरूलाई पक्राउ गरी प्रहरीले पछिल्लो समय अपनाउँदै आएको ‘रचनात्मक कारबाही’ शैलीको सामाजिक सञ्जालमा व्यापक प्रशंसा भइरहेको छ । यसपटक पनि प्रहरीले उक्त भिडिओलाई चेतनामूलक ढङ्गले एडिट गरी सार्वजनिक गरेको छ ।

भिडिओको सुरुमा चालकले सडकमा गरेको स्टन्ट देखाइएको छ भने लगत्तै ‘क्यान वि स्किप टु द गुड पार्ट’ (के हामी अब सिधै सुखद पक्षतिर लागौँ ?) भन्ने सन्देशसहित चालकलाई प्रहरी भ्यानमा राखिएको दृश्य प्रस्तुत गरिएको छ । भिडिओको अन्त्यमा चालकको स्वीकारोक्ति र अरूलाई दिइएको सुझावका साथै प्रहरीले भिडिओको अन्त्यमा “सडकमा ब्रेभरी (वीरता) होइन, ब्रेन (बुद्धि) प्रयोग गर्नुहोस्” भन्ने सन्देश दिएको छ ।


 

पछिल्लो अध्यावधिक: जेठ ८, २०८३ १९:३०