close

आफुखुसी इन्टरनेटको तार काट्नेलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

टेकपाना टेकपाना

पुस ४, २०७६ १८:४८

आफुखुसी इन्टरनेटको तार काट्नेलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

नेपाल दुरसञ्चार प्राधिकरणले काठमाडौं महानगरपालिकाको ठमेल लगायतका क्षेत्रमा दूरसञ्चार सेवा प्रदायकका (इन्टरनेट सेवा प्रदायक लगायतका) तार काटिएको विषयमा आपत्ति जनाएको छ ।

गत आइतबारदेखि नेपालकै मूख्य पर्यटकीय क्षेत्र ठमेलको इन्टरनेट सेवा प्रभावित भएको छ । ठमेल पर्यटन विकास समितिले पूर्व जानकारी बिना तार काट्दा नेपाल टेलिकम, वर्ल्डलिंक, भायनेट लगायतका मूख्य इन्टरनेट सेवा प्रदायकले दिइरहेको सेवा अवरुद्ध हुन पुगेको थियो ।

इन्टरनेट सेवा अवरुद्ध हुँदा ठमेल क्षेत्रका डेडिकेटेड इन्टरनेट जडान गरेका कर्पोरेट ग्राहकदेखि होटेल, रेस्टुरेन्ट लगायतका सबै व्यवसाय र स्थानीयका घर सबैतिरको इन्टरनेट सेवा प्रभावित भएको थियो ।

तार हटाउने विषयमा दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरण र सेवा प्रदाय कसैसँग पनि समन्वय नभएको पाइएको छ ।

बिना समन्वय तार काटिएको विषयलाई लिएर प्राधिकरणले शुक्रबार आफ्ना धारण सार्वजनिक गरेको छ । प्राधिकरणले अव्यवस्थित तारहरु व्यवस्थित गर्ने प्रकृया अगाडि बढेको र सेवा प्रदायक संस्थाहरु समेत तार व्यवस्थापन गर्न तत्पर हुँदाहुँदै यसरी तार काटिनु कानुन विपरीत भएको उल्लेख गरेको छ ।

त्यसरी तार काटिदा अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवा अवरुद्ध भएको, व्यापार व्यवसायमा प्रत्यक्ष असर परेको तथा नागरिकको सञ्चार तथा सूचना पाउने हक हनन हुन गएको प्राधिकरणको ठहर छ ।

‘दूरसञ्चार जस्तो अत्यावश्यक सेवा अवरुद्ध हुने गरी गरिएको यस्तो कार्य दूरसञ्चार ऐन, २०५३ को मर्म विपरीत र दण्डनीय छ’, प्राधिकरणले भनेको छ, ‘सम्बन्धित मन्त्रालय, नियामक र सरोकारवाला सेवाप्रदायक संस्थाहरुसँग समन्वय नगरी इन्टरनेटका तार काट्दा सेवाग्राही तथा आम नागरिक दूरसञ्चार सेवाबाट बञ्चित भएका छन् ।’

यसमा प्रयोग हुने तार र यन्त्र उपकरण नेपालभित्र निर्माण नहुने हुँदा सेवा सुचारु गर्दा थप आर्थिक व्ययभार समेत पर्ने भएकोले यस्तो कार्य कुनै पनि दृष्टिकोणबाट उचित नदेखिएको प्राधिकरणको भनाई छ ।

त्यसैल आगमी दिनमा यस्ता कार्य गर्न र नगराउन समेत प्राधिकरणले सचेत समेत गराएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१