close

अब यसरी अनलाइनबाटै थाहा पाउनुहोस् टेलिफोन नम्बर

टेकपाना टेकपाना

पुस ६, २०७६ १५:६

अब यसरी अनलाइनबाटै थाहा पाउनुहोस् टेलिफोन नम्बर

अब कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर वेबसाइटमै थाहा पाउन सकिने भएको छ । सरकारी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आफूलाई थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बरहरु सहजै पत्ता लगाउन सकिने व्यवस्था गरेको हो ।

त्यसका लागि हालसम्म १९७ मा फोन गरेर सोध्नुपर्ने बाध्यता रहेको थियो । टेलिकमको वेब पेजमार्फत यस प्रकारको पीएसटीएन टेलिफोन सोधपुछ प्रणाली (पीएसटीएन इन्क्वेरी सिस्टम) सञ्चालनमा ल्याइएको हो ।

यसरी वेबसाइटमै खोज्नुहोस् टेलिफोन नम्बर वेबसाइटमै टेलिफोन नम्बर खोज्नका लागि कम्पनीको वेबसाइट मा लगअन गर्नुहोस् । त्यसपछि त्यहाँ दिइएको ‘टेलिफोन इन्क्वाइरी’ मा आफूलाई चाहिएको व्यक्ति वा संस्थाको नाम टाइप गरेर नम्बर खोज्न सक्नुहुनेछ ।

व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ भने संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला उल्लेख गरेर टेलिफोन नम्बर प्राप्त गर्न सकिनेछ ।

विगतमा पनि पीएसटीएन टेलिफोन नम्बर खोज्नका लागि कम्पनीको मुख्य वेब पेजमार्फत वेबमा आधारित इन्क्वायरी सिष्टम सञ्चालनमा रहेको थियो । हाल सोही सेवालाई पुनः परिमार्जित रुपमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

इन्टरनेट प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको अवस्थामा ग्राहकहरुलाई वैकल्पिक माध्यमबाट बिना झञ्झट जुनसुकै बेला सेवा उपलब्ध गराउन यो व्यवस्था गरिएको कम्पनीकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१