चिनियाँ अर्बपति ज्याक माले लामो समय काम गर्ने संस्कृतिमाथि टिप्पणी गर्दै आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले हप्तामा १२ घण्टा काम नयाँ मानक बन्न सक्ने बताएका छन् । प्रविधिलाई परिस्कृत गर्दै र शैक्षिक प्रणालीलाई रुपान्तरण गरे मानिसहरुले सकेसम्म कम अर्थात हप्तामा तीन दिन तथा दिनको चार घण्टा काम गर्दा पुग्ने अलिबाबा ग्रुप होल्डिङ लिमिटेडका सहसंस्थापक ज्याक माको भनाई छ ।
मंगलबार सांघाईमा भइरहेको वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स कन्फ्रेन्समा बोल्ने क्रममा उनले विद्युतको उदाहरण दिँदै प्रविधिको विकासले कसरी आरामका लागि समय छुट्याउन सहयोग गरिरहेको छ भन्ने बारेमा उल्लेख गरेका थिए । ‘विद्युतको शक्तिबाटै हामीले मानिसहरुका लागि थप समय बनाइदिन सक्छौँ, त्यसबाट बेलुका तपाईंलाई क्लब तथा डान्सिङ पार्टीमा विताउने समय मिल्छ,’ उनले भनेका छन्, ‘मलाई लाग्छ आर्टिफिसियल इन्टेलिजेन्सका कारण मानिसहरुलाई मान्छेसँगै रमाउन थप समय मिल्नेछ ।’
हाम्रा बालबालिकाले हप्तामा तीन दिन तथा दिनमा चार घण्टाको रोजगार गरे पुग्ने किसिमको रोजगार पाउन सक्ने गरी अबको १०/२० वर्ष हरेक मानिस, देश र सरकार शैक्षिक प्रणालीको रुपान्तरणमा लाग्नुपर्ने माको भनाई छ । ‘यदी अहिले हामीले जुन शैक्षिक प्रणाली अपनाईरहेका छौँ, त्यसमा परिवर्तन नगर्ने हो भने हामी सबै समस्यामा पर्नेछौँ,’ उनले भने ।