close

टिमको आत्मविश्वासले भरिएको खल्ती

टेकपाना टेकपाना

माघ १३, २०७६ १९:३७

टिमको आत्मविश्वासले भरिएको खल्ती

अमित अग्रवाल, मनिष मोदी, ध्रुव अधिकारी र अरविन्द शाह तीन वर्ष अघि नेपालको चर्चित स्प्यारो एसएमएसका सञ्चालक थिए । तर अहिले उनीहरुको परिचयको दायरा फराकिलो भएको छ । खल्ती ई-पेमेन्ट गेटवेका संस्थापक तथा सह-संस्थापकको रुपमा । 

त्यही खल्तीले आज ठीक तीन वर्ष पुरा गरेको छ । डिजिटल वालेटको सोचलाई सार्थकतामा परिणत गर्न सन् २०१७ को जनवरी २६ मा क्यान सफ्टटेकको छेको पारेर यो कम्पनी सार्वजनिक भएको थियो । 

खल्तीको नामको पछाडि पनि रोचक प्रसंग छ । स्प्यारो एसएमएस टोलीले डिजिटल वालेटको सोच बनाइसकेपछि त्यसको नाम जुराउन ४० पटकसम्म सोच्नु पर्‍यो । सुरुमा त टोलीले स्प्यारो पे नाम सोचेको थियो । तर त्यसमा कमी महसुस गरेर नयाँ नाम खोज्न थाले ।

टोली केही यस्तो नाम राख्न चाहन्थ्यो, जुन मानिसहरुको दैनिक जीवन र खर्च गर्ने क्षमतासँग मिल्न सकोस् । यसरी ४० ओटा नाम रद्द भईसकेपछि अन्ततः खल्ती नाम बाहिर आयो र त्यही नाम सदर भएर आजपर्यन्त सेवा सञ्चालन गरिरहेको छ । 

डिजिटल वालेटको अवधारणा गतिलो भए पनि त्यसलाई सार्वजनिक गरिहाल्ने अन्तिम सोचमा पुगिसकेको थिएनन् खल्तीका सहसंस्थापकहरु । उनीहरु आफै दुविधामा रुमल्लिएका थिए । वालेट सार्वजनिक गरेर त्यसलाई चलाउन ठूलो लगानीको आवश्यकता थियो ।

अनि थियो दूरदर्शिता, लगाव र वित्तीय बजारमा प्रभाव जमाउनसक्ने क्षमताको आवश्यकता । वास्तवमा टोलिसँग त्यसमध्ये केही पनि थिएन । वालेटको बजार त्यसै पनि निकै प्रतिस्पर्धी भइसकेको थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार खेलाडीहरुको यसमा लगानी थियो । नेपाल टेलिकम तथा एनसेल जस्ता धेरै ग्राहक भएका कम्पनीहरुले डिजिटल वालेट वा मोबाइल मनी सुरु गरे भने कसरी प्रतिस्पर्धामा जाने भन्ने अर्को तनाव थियो । 

मजबूत टिमले नै उनीहरुलाई अगाडि बढ्ने आत्मविश्वास दिलाएको थियो । व्यवसायमा आउन सक्ने संभावित जोखिमले डर त लागेकै थियो, तर केही परिवर्तन ल्याउन टिमले देखाएको अथक दृढताले सधै टिमलाई प्रेरित गरि रह्यो । 

चारजनाको टोलीमा दुईजना सोल्युसन आर्किटेक्टहरु थिए । आज सेवा सुरु गरेको तीन वर्ष पुरा हुँदै गर्दा कम्पनीले आफ्नो डर र चुनौतीहरुलाई एक ठाउँमा ल्याएर अभूतपूर्व ज्ञान र अनुभव बटुल्न सफल भएको छ । डिजिटल वालेट आफैमा सम्पुर्ण हुने कुरा भएन । बरु प्राविधिक प्रणाली र बैकिङ तथा वित्तिय संस्था र व्यापारीहरु प्रति निर्भर हुने इकोसिस्टम हो ।

नेपालमा कुनै पनि एकीकृत भुक्तानी प्रणाली नभएको अवस्थामा खल्तीले पनि प्रत्येक दिन नयाँ नयाँ बैंक तथा वित्तिय संस्थासँग छुट्टाछुट्टै सहकार्य गर्नुपर्‍यो । बजारमा धेरै वालटेहरु आएका कारण खल्तीलाई पत्याउन कुनै पनि बैंकले गतिलो आधार देखिरहेका थिएनन् ।

प्रयोगकर्ताहरुले त खल्ती मन पराइरहेका थिए तर आफ्नो खाता भएको बैंकसँग खल्ती लिंक नहुँदा प्रयाोगकर्ताहरु निराशः भएर फर्किन थाले । खल्तीको ‘रिफर एण्ड अर्न’ क्याम्पियन भाइरल भयो । धेरैले त्यसकै लागि खल्ती वालेटमा खाता खोल्न थाले ।

तर थप रकम लोड गर्ने सीमित विकल्पका कारण प्रयोग गर्न पाउँथेनन् । त्यो पनि टिमका लागि ठूलो सिकाई बन्यो । पेमेन्ट गेटवेको रुपमा खल्तीले नेपाल राष्ट्रबैंकबाट स्विकृति पाउन पनि निकै ठूलो मेहेनत गर्नु पर्‍यो । 

लाइसेन्स नभएका कारण धेरै बैंकहरुले खल्तीसँग साझेदारी गर्न मानेनन् । अन्ततः खल्तीले २०१९ को अप्रिलमा लाइसेन्स पायो । त्यसपछि भने बैंकहरुले खल्तीसँग साझेदारी गर्न चाँसो देखाउन थाले । हाल खल्तीले केही बैंकसँग साझेदारी गरिसकेको छ भने केही सम्झौताकाे चरणमा छन् । चालू आर्थिक वर्षभित्र खल्तीले देशका महत्वपूर्ण बैंकहरुसँग साझेदारी गरिसक्ने लक्ष लिएको छ ।

नेपालमा पहिलोपटक वालेटबाटै होटल बुकिङ गर्न सकिने, सिट सेलेक्सन सहित मुभि टिकेटिङ, इभेन्ट टिकेटिङ, खल्ती बजार हाइपर लोकल प्लेटफर्म, स्मार्ट स्कुलको फी भुक्तानी, स्मार्ट छोरी ईन एप लर्निङ जस्ता सेवाहरु सार्वजनिक गर्‍यो ।  

खल्तीले २०२० को फेब्रुअरीभित्र प्रयोगकर्तामैत्री खल्ती तयार गर्नका लागि सिस्टम र सपोर्टलाई अपग्रेड गर्दैछ । यस्तै आउँदो दिनमा कम्पनीले थप बैंक तथा फण्ड लोड गर्ने तरिकाहरुको पनि खोज तथा अन्वेषण गर्दै लाने बताएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१