close

पैसा संकलनको शैली फेर्ने सोसाइटी

युजु खालिङ युजु खालिङ

फागुन ११, २०७६ १३:४०

पैसा संकलनको शैली फेर्ने सोसाइटी

काठमाडौं । सामाजिक सञ्जालको प्रयोगमा व्यापकता आएसँगै पछिल्लो समय फेसबुक, युट्युव, जस्ता सर्वाधिक प्रयोग हुने प्लेटफर्मबाट डोनेसन फण्ड कलेक्सन गर्ने प्रवृति मौलाएको छ । विभिन्न प्रयोजनका लागि हुने यस्ता फण्ड कलेक्सनहरु उपलब्धिमुलक पनि देखिदैँ आएका छन ।

तर यस्तो फण्ड कलेक्सनबाट कति रकम संकलन हुने गरेको छ त ?, यसको पारदर्शीता कति छ ? वा संकलन गर्ने संस्था तथा व्यक्तिको विश्वसनीयताको आधार के ? यी प्रश्नहरु अनुत्तरित नै छन् ।

तर अब नेपालमा विश्वसनीय तथा वैधानिक क्राउड फण्ड रेजिङ प्लेटफर्मको स्थापना भइसकेको छ । रमेश दियालीको नेतृत्वमा सोसाइटी डेभलपमेन्ट नामक क्राउड फण्डिङ प्लेटफर्म दुईवर्षदेखि सञ्चालनमा छ ।

सोसाइटी डेभलपमेन्ट नेपालको पहिलो र एकमात्र क्राउड फण्डिङ प्लेटफर्म भएको दियालीको भनाई छ । कम्पनीका संस्थापक तथा सीईओ रमेश दियाली भन्छन्, ‘हामी गैरनाफामूलक संस्था, व्यक्ति तथा कर्पोरेटका लागि डोनेसनमा आधारित क्राउड फण्डिङको काम गर्दै आएका छौँ ।’

त्यसो त विश्वमा क्राउड फण्डिङको अवधारणा नयाँ होइन । अनलाइन क्राउड फण्डिङको अवधरणा कार्यान्वयनमा आएको करीब १५ वर्ष पुग्न थालिसक्यो । विश्वमा गो एण्ड फण्ड मी डट कम, किट्टो डट कम, इम्प्याक्ट गुरु डट कम, मिलाप जस्ता धेरै क्राउड फण्डिङ प्लेटफर्महरु सञ्चालनमा छन् ।

दुबईबाट आईटीको अध्ययन पुरा गरेका दियाली त्यहाँ रहेकै बेला देखि नै अन्तराष्ट्रिय बजारका विषयमा चाँसो राख्थे । विशेषगरी क्लाउडमा आधारित भर्चुअल मार्केटमा उनको विशेष रुची थियो । यस्तै कुरामा घोत्लिरहँदा क्राउड फण्डिङको कन्सेप्ट उनको दिमागमा त्यतिखेरै आएको थियो ।

नेपालमा पनि मानिसहरु कतिपय राम्रा प्रयोजनका लागि फण्ड रेजिङ गरिरहेका हुन्छन् । तर उनीहरुले संकलन गरेको फण्डको न त कुनै पारदर्शीता हुन्छ न त प्लेटफर्मकै विश्वसनीयता । ‘यसकारण हामीले यो प्लेटफर्म थालेका हौँ’ दियाली भन्छन् ।

फण्ड संकलनका लागि संस्थाको सोसाइटी डेभलपमेन्ट डट ओआरजी नामको वेभसाइट छ । ‘विशेष कारण भएका व्यक्ति, कर्पोरेट वा गैरनाफामुलक संस्थाले फण्ड रेजिङका लागि हाम्रो संस्थामा अनलाइन प्रपोजल पठाउन सक्नुहुन्छ,‘ उनले भने ।

प्रपोजलमा व्यक्तिले समस्याको प्रकृति वा फण्ड रेजको उद्देश्य, आवश्यक लिगल तथा जेन्युन डक्युमेन्ट, फण्डरेज पछि हुने उपलब्धि लगायतका कुराहरु उल्लेख गरेर अनलाइन प्रपोजल बुझाउनुपर्छ । पुनः संस्थाले त्यस्ता प्रपोजलमाथि क्रस भेरिफाई गर्छ र त्यो जेन्युन भए वेबसाइटमा फण्ड रेजिङका लागि राखिन्छ ।  त्यसपछि कम्पनीले डिजिटल टुलहरु प्रयोग गरेर विश्वव्यापी डिजिटल मार्केटिङ प्लेटफर्ममा प्रचार गर्छ ।

प्रचार गरिसकेपछि संस्थाको सूचीमा रहेका ग्लोबल डोनर एजेन्सी तथा डोनरहरुले एक डलर, दश डलर, पचास, सय डलर हुँदै सहयोग रकम रियल टाइममा विभिन्न पेमेन्ट गेटवे तथा डोनेसन विधिबाट पठाउने गरेको दियाली बताउँछन् ।

रकम संकलनको पारदर्शिताका लागि वेबसाइटमा प्रोजेक्ट डिस्प्ले गरिसकेपछि प्रोजेक्ट स्वामित्वकर्ताको आफ्नै युजरनेम तथा पासवर्ड सहितको अकाउण्ट बन्छ । जहाँबाट प्रोजेक्ट स्वामित्वकर्ताले रकम संकलनको विवरण देख्न सक्छन् ।

साथै सार्वजनिक अवलोकनका लागि पनि वेबसाइटमा संकलित रकमको अवस्था, संकलन हुन बाँकी रकम, प्रोजेक्टको प्रकृति तथा परिचय, प्रोजेक्ट सुरु भएको मिति तथा सकिने समय यी सबै कुराहरु खुलाइएको हुन्छ । साथै डोनरले दिएको रकम उनीहरुको समेत नाम सहितको विवरण डिस्प्ले गर्ने गरिएको दियाली बताउँछन् ।

‘प्रोजेक्ट ओनरको आफ्नै अकाउन्ट हुन्छ । संकलन भएको रकमबाट प्रोजेक्टमा भएको प्रगतिबारे पनि उनीहरुले अपडेट गर्नसक्छन् र त्यो अपडेटेड इन्फरमेसन डोनरसमक्ष पुग्छ, यसरी एउटा साइकल पुरा हुन्छ,’ दियालीले भने । संस्थाले यस्ता किसिमका प्रोजेक्टलाई अधिकतम ६ महिनाको समय दिने गरेको छ ।

तर क्राउड फण्डिङको विषयबारे धेरैलाई ज्ञान नभएको हुँदा अहिले संस्था मार्केटिङकै काममा केन्द्रीत रहेको उनी बताउँछन । दियालीको क्राउडफण्डिङ प्लेटफर्मले केही प्रोजेक्ट सम्पन्न गरिसकेको छ भने, कति अहिले ट्रेन्डिङमा छन् । अनि कतिपय क्युमा रहेको उनले बताए । प्रोजेक्ट अप्रुभल गर्दैगर्दा कति पैसा आवश्यक पर्छ भन्ने कुरा संस्थाले पनि विश्लेषण गर्ने उनको भनाई छ ।

हाल संस्थाले विशेषगरी मृगौला पीडितको लागि, धारा, स्कूल निर्माण जस्ता प्रोजेक्टहरुका लागि रकम संकलन गरिरहेको छ । संस्थाले ३७५ प्रोजेक्टका लागि ५७ लाख २५ हजार ३५४ रुपैयाँ संकलन गरिसकेको छ । जसमा हाल ६३ परियोजना ट्रेन्डिङमा रहेका छन् भने तीन हजार २६५ डोनर जोडिएका छन् ।

सोसाइटी डेभलपमेन्ट भ्याट, अडिट, कम्पनी रजिस्टारको कार्यलय, समाज कल्याण परीषद, कर कार्यालयमा दर्ता छ । साथै उनले मनिटरिङका  लागि राष्ट्र बैंकलाई खबर पनि गरिसकेको छ ।

नेपाल बाहिरबाट फण्ड प्राप्त गर्न डिजिटल माध्यम नहुँदा बैंक तथा स्विफ्ट ट्रान्सफर मार्फत पैसा प्राप्त गर्ने गरेको छ । दियाली सहित सोसाइटी डेभलपमेन्टमा पाँच जना बोर्ड अफ डिरेक्टर छन् । स्मार्टकार्ड कम्पनीको स्वामित्वकर्ता रहेका उनले सोसाइटी डेभलपमेन्ट प्लेटफर्म समेत चलाएका छन् ।

त्यसो त फण्ड रेजिङ कम्पनीहरुले कूल संकलित रकमको करीब तीन प्रतिशत रकम सेवा शूल्कको रुपमा लिने गरेको छ । ‘हाम्रो संस्थाको प्रत्यक्ष आय स्रोत छैन । थर्डपार्टी आयस्रोत स्रोत पनि छैन । संकलित फण्डबाट तीन प्रतिशत कटाएर संस्था सञ्चालनमा छ,’ दियाली भन्छन् ।

नयाँ स्टार्टअप कन्सेप्ट छ तर फण्डिङको अभाव छ भने पनि आफ्नो प्लेटफर्ममा प्रोजेक्ट अप्लाई गरेर रकम संकलन गर्न सकिने उनी बताउँछन् । यसअघि दिल्लीको विधानसभा चुनावमा आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले पनि आफूसँग चुनाव खर्च नहुँदा किट्टो डट ओआरजीको क्राउडफण्डिङ प्लेटफर्मबाट नै २८ घण्टामा तीस लाख भारु संकलन गरेर चुनाव लडेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०