close

फोन र इन्टरनेटको गुणस्तर मापन गर्न नियामकको आफ्नै एप

टेकपाना टेकपाना

फागुन २०, २०७६ ९:१९

फोन र इन्टरनेटको गुणस्तर मापन गर्न नियामकको आफ्नै एप

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले फोन कल र इन्टरनेटको गुणस्तर मापन गर्ने प्रणाली विकास गरेको छ । प्राधिकरणले विकास गरेको उक्त प्रविधि २२ औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा अर्थ एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले सार्वजनिक गर्दैछन् ।

प्राधिकरणले मोबाइल सेवामा कलको गुणस्तर मापन गर्न तथा सेवाग्राहीबाट कलको गुणस्तरको विषयमा गुनासो प्राप्त गर्न मिल्ने गरी ‘एनटीए कल’ नामक मोबाइल एप तयार पारेको छ । एपमार्फत कल गरेको स्थानमा सेवा प्रदायकले कस्तो गुणस्तरको सेवा दिईरहेका छन् त्यसको जानकारी प्राप्त गर्न सकिने प्राधिकरणले जनाएको छ ।

साथै सेवाग्राहीको अनुभवका आधारमा सेवाको गुणस्तर कायम गर्न सेवा प्रदायकलाई आवश्यक निर्देशन दिन प्रणालीले सहज हुने नियामकको अपेक्षा छ । नेपालको नक्सामै सुझाव पठाइएको स्थान देखिने गरी तयार पारिएको छ ।

त्यसका साथै इन्टरनेटको गुणस्तर मापनको लागि प्राधिकरणले वेबमा आधारित एप समेत तयार पारेको छ । जसमार्फत मोबाइल तथा फिक्स्डलाइन इन्टरनेटको गुणस्तर सहित स्पीड नाप्न सकिने प्राधिकरणले जनाएको छ ।

एपमार्फत प्रयोगकर्ताले इन्टरनेटको स्पीड जाँच्न सक्नेछन् । बजारमा थुप्रै स्पीड टेस्टर एप तथा सफ्टवेयरहरु भएता पनि यो एप चाहिँ नेपालको नियामकको आधिकारिक एप हुनेछ ।

यसको प्रयोग गरी इन्टरनेटको स्पीडका साथै सेवा प्रदायकको नाम, इन्टरनेट जोडिएको ठेगाना, लेटेन्सी, डाउनलोड तथा अपलोड स्पीड, डाउनलोड तथा अपलोड सफलताको दर, ब्राउजिङमा हुने ढिलाई लगायतको जानकारी समेत लिन सकिने प्राधिकरणले जनाएको छ ।

यी दुबै एप पहिलो चरणमा बेटा भर्सनमा सार्वजनिक हुनेछन् । निरेखा नामक कम्पनी मार्फत प्राधिकरणले एप तयार पारेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०