close

‘सेक्युरिटी प्रेस र स्याटेलाइट खुल्ला प्रतिस्पर्धाबाटै’

टेकपाना टेकपाना

फागुन २२, २०७६ ६:४४

‘सेक्युरिटी प्रेस र स्याटेलाइट खुल्ला प्रतिस्पर्धाबाटै’

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले सेक्युरिटी प्रेस खरीद र स्याटेलाइट पुर्वाधार निर्माणको काम खुल्ला प्रतिस्पर्धाबाटै अगाडि बढाउने बताएका छन् । बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले मन्त्रालय अन्तर्गतका सम्पुर्ण पूर्वाधार स्थापना र खरीदकाे कार्य पारदर्शी हुने वचनवद्धता व्यक्त गरेका हुन् ।

बिना प्रतिस्पर्धा (जी टू जी अर्थात दुई सरकारबीच हुने खरीद बिक्री) सेक्युरिटी प्रेस खरीद गर्ने मामिलामा कमिसन प्रकरणमा तानिएपछि पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए । गत फागुन ८ गते सञ्चार मन्त्रालयको समेत जिम्मेवारी पाएका अर्थमन्त्री खतिवडाले आफ्नो राष्ट्रिय सभा सदस्यको पदावधि सकिएका कारण मन्त्रीपदबाट मंगलबार राजीनामा दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार नै खतिवडाले पुनः दुबै मन्त्रालयको जिम्मेवारी पाएका हुन् । नयाँ जिम्मेवारी पाएसँगै उनले प्रेससँगको सम्बन्ध सुमधुर बनाएर जाने बताए । सूचना प्रविधि आधुनिक समाजको मूख्य संवाहक भएको बताउँदै उनले औद्योगिक तथा आर्थिक विकासका लागि आईसीटीको भरपुर उपयोग गर्न आवश्यक रहेको उल्लेख गरे । 

पूर्वाधार निर्माण तथा खरीद प्रक्रियाका लागि आवश्यकता अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिने मन्त्री खतिवडाले बताए । ‘चाहे त्यो सेक्युरिटी प्रेसको कुरा गर्नुहोस् वा चाहे त्यो स्याटेलाइटको कुरा होस् । फ्रिक्वेन्सी बोलकबोल नै किन नहोस्,’ उनले भने सबै कार्य पारदर्शी रुपमा अगाडि बढाइनेछ ।’ 

प्रतिस्पर्धात्मक र पारदर्शी रुपमा पूर्वाधारका कामहरु अगाडि बढाउने कुरा नै सबैका लागि स्वीकार्य हुने उनको भनाई थियो । मातहतका कार्यालय तथा निकायमा आफूबाट हस्तक्षेप नहुने संकेत गर्दै उनले भने, ‘मैले अहिलेसम्म इमान्दारिता र कामको प्रभावकारितामा जोड दिँदै आएको छु । त्यसैले सम्बन्धित निकायका प्रमुख तथा कर्मचारीले आफूले पाएको जिम्मेवारी स्वतन्त्र र जिम्मेवारी पूर्वक निर्वाह गर्नेमा विश्वास लिएको छु ।’ 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०