close

फेक न्यूज कसरी थाहा पाउने ?

आस्ना पौडेल आस्ना पौडेल

चैत ११, २०७६ १२:३७

फेक न्यूज कसरी थाहा पाउने ?

कोरोना भाइरस (कोभिड–१९) को बिषयमा धेरै गलत र मिथ्या जानकारी भएको सामाग्री सामाजिक सञ्जालमा भेटिन थालेको छ । यस्ता गलत जानकारी फैलिदा मानिसहरुमा डर पैदा हुनुको साथै वास्तविक जानकारी हराएर जान सक्ने सम्भावना हुनछ ।

गलत जानकारी फैलिदा मानिसहरुले वास्तविक कुरा के हो भनेर थाहा समेत पाउन सक्दैनन् । तर, केही पक्षहरुलाई ध्यान दिइयो भने सामाजिक सञ्जालमा फैलिरहेको गलत जानकारीबाट बच्न सकिन्छ । गलत हो कि सही जानकारी हो भनेर छुट्याउने कसरी त ?

१. वेबसाइटको नाम

कुनै पनि लेख वा जानकारी वा समाचार पढ्दा त्यो कुन वेबसाइटले हलेको छ त्यो थाहा पाउनु पर्छ ।
ekantipur.com, onlinekhabar.com, setopati.com, techpana.com जस्ता व्यवसायिक रुपमा सञ्चालित वेबसाइटले हालेको जानकारी तथा लेखहरु प्रमाणित हुन्छन् । यी वेबसाइटको नामसँग मिल्ने गरी अन्य वेबसाइट बनाएर मिथ्या जानकारीहरु बाँड्ने क्रम पनि बढ्दो छ ।

यस्तो अवस्थामा वेबसाइटको यूआरएल राम्ररी पढ्नुका साथै त्यो आधिकारीक वेबसाइट हो कि होइन छुट्याउन जरुरी छ । यस्ता वेबसाइटहरुले आआफ्नो आधिकारीक सामाजिक सञ्जाल पेज पनि बनाएका हुन्छन्, आधिकारीक जानकारी लिनको लागि तिनैलाई फलो गर्दा राम्रो हुन्छ ।

२. शीर्षक

हामी सबैले प्राय समाचारको शीर्षक पढेकै आधारमा समाचार पढ्ने कि नपढ्ने भनेर निर्णय लिन्छाै । यदी त्यो शीर्षकमा हामीलाई काम लग्ने बिषयवस्तु अथवा रमाइलो लाग्ने बिषय वस्तु छ भने मात्र हामी पुरै समाचार पढ्ने गर्छौ ।

प्रयोगकर्ताहरुको यही बानीलाई थाहा पाएर अचेल आकर्षक शीर्षक राखेर गलत जानकारी दिने चलन छ । यस्ता न्यूजमा शीर्षक एकथरी र भित्रको सामग्री अर्कै थरी पनि हुनसक्छन् । विचार गर्नुपर्छ ।

२०१६ मा कोलम्बिया यूनिभर्सिटी स्टडीको अनुसन्धान अनुसार विश्वभर सामाजिक सञ्जालमा न्यूज सेयर गर्नेमध्ये ५९ प्रतिशतले पूरै समाचार नपढी सेयर गर्ने गरेका थिए । समाचारको शीर्षक पढेर त्यसैलाई आधार मानी न्यूज सेयर गर्ने गर्दा त्यो समाचारको सामग्री आफूले भने अनुसारकै हुन्छ भन्ने भर हुँदैन ।

त्यसैले कुनै पनि समाचार सेयर गर्नु अघि त्यसलाई पूरा पढेर मात्रै सेयर गर्नुपर्छ ता कि कसैले तपाईंलाई झुक्याउन नसकोस् ।

३. समाचार प्रकाशित भएको समय र लेखक

समाचारको लेखक को हो त ? समाचार कहिले लेखिएको हो ? त्यो लेखकले त्यसअघि पनि कुनै अरु लेख वा समाचार लेखेको छ त ? यो थाहा पाउन एकदमै महत्वपूर्ण हुन्छ । समाचारमा लेखकको नाम खुलाइएको छैन भने त्यो समाचारको विश्वसनीयतामाथि शंका गर्नुपर्ने हुन्छ ।

साथै, समाचार वा लेख कुन मिति र समयमा प्रकाशित भएको हो भन्ने कुराको पनि हेक्का राख्नुपर्छ । कतिपय मानिसले धेरै अगाडि छापिएको समाचार वा लेख सेयर गरिरहेका हुन्छन् । त्यस्ता समाचार वा लेखले मानिसहरुमा भ्रम सिर्जना गरिरहेको हुन्छ ।

४. स्रोत

समाचार वा लेखमा विभिन्न जानकारी र तथ्य तथ्यांक समावेश गरिएका हुन्छन् । त्यस्ता जानकारीहरु कहाँबाट लिइएको हो ? कसले भनेको हो ? यस्तो बिषयमा पनि समाचार वा लेखमा उल्लेख गर्नुपर्ने हुन्छ ।

समाचारमा उल्लेख गरिएको जानकारी कहाँबाट लिइएको हो वा कसले भनेको हो भनेर उद्धृत गरिएको छैन भने त्यस्ता जानकारी विश्वास गर्नुपर्ने आधार हुन्न । त्यसैले स्रोत उद्धृत नगरिएका समाचारलाई विश्वास गर्नु हुन्न ।

५. सन्तुलन

समाचार सन्तुलित हुनुपर्छ । कुनै समाचार कुनै व्यक्ति वा संस्थालाई बदनाम गर्न पनि लेखिएको हुनसक्छ । त्यस्तो अवस्थामा जोविरुद्ध समाचार वा लेख लेखिएको छ त्यो व्यक्तिको भनाई वा संस्थाको भनाई राखिएको छ कि छैन भनेर विचार गर्नुपर्छ ।

उक्त पक्षको भनाई राखिएको छैन भने त्यो आरोपलाई पुष्टि गर्ने यथेष्ठ आधार तथा प्रमाणहरु खुलाइएको छ कि छैन ? भनेर पनि विचार गर्नुपर्छ । पक्षपाती भएर कसैको बदनाम गर्ने गरी लेखिएको समाचार सेयर गर्नु अघि वा पत्याउनु अघि ख्याल गरौं है ।

६. भ्रामक फोटो

माथि हामीले समाचार वा लेखमा उल्लेख गरिने भाषा तथा तथ्य तथ्यांकको बिषयमा चर्चा गर्यौं । योबाहेक समाचार वा लेखमा राखिएको तस्विरहरु कति यथार्थपरक छन् ? यो बिषयमा पनि ध्यान दिन आवश्यक छ । मानिसहलाई झुक्याउन वा आकर्षित गर्न फोटोसपमार्फत भ्रामक तस्विर तयार पारी समाचार वा लेखमा राख्ने चलन पनि बढ्दो छ ।

यस्ता फोटोहरु मानिसलाई झुक्याउने खालका हुन्छन् । झट्ट हेर्दा वास्तविक जस्तो पनि देखिन्छ । फोटोहरु वास्तविक हुन हा होइनन् भन्ने थाहा पाउन डाउनलोड गरी www.images.google.com मा गएर त्यो फोटोलाई अन्यत्र अपलोड गरिएको छ कि छैन वा त्यस्तै खालका अरु फोटोहरु छन् कि भनेर थाहा पाउन सकिन्छ ।

७. गुगल

गुगलमा सर्च गर्दा पनि धेरै समाचार वा लेखको आधिकारिकता थाहा पाउन सकिन्छ । आफूलाई कुनै समाचार शंका लागेमा त्यसमा उल्लेख गरिएको जानकारी कपी गरेर गुगल सर्चमा गएर पेष्ट गर्न सकिन्छ । त्यसले गर्दा त्यस्तै जानकारी उल्लेख भएको समाचार अन्यत्र लेखिएको छ कि छैन भनेर थाहा पाउन सकिन्छ ।

अहिले नेपाली भाषामा सर्च गर्दा पनि गुगलले प्रशस्त सन्दर्भ सामग्रीहरु देखाउँछ । कुनै संवेदनशील जानकारी समेटिएको समाचार छन् भने त्यस्ता समाचार पक्कै अन्य सञ्चारमाध्यमले पनि लेखेकै हुनुपर्छ किनकी यति धेरै सञ्चारमाध्यम भएको बेलामा एउटाले मात्रै कुनै बिषयमा लेख्ने अरुले नलेख्ने भन्ने हुन्न ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६