close

एनसेलले बुझायो ४ अर्ब ६० करोड, बाँकी साढे १४ अर्ब १५ दिनभित्रै बुझाउन करदाता कार्यालयको निर्देशन

टेकपाना टेकपाना

चैत १८, २०७६ १५:५५

एनसेलले बुझायो ४ अर्ब ६० करोड, बाँकी साढे १४ अर्ब १५ दिनभित्रै बुझाउन करदाता कार्यालयको निर्देशन

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले पूँजीगत लाभकर बापतको दोस्रो किस्ता स्वरुप सरकारलाई ४ अर्ब ६० करोड रुपैयाँ बुझाएको छ । एनसेलले मंगलबार ठूला कर दाता कार्यालयको खातामा उक्त रकम दाखिला गरेको कार्यालय प्रमुख झलकराम अधिकारीले बताए ।

यसअघि ठूला करदाता कार्यालयले एनसेललाई १२ औं पटकको बिक्रीको पूँजीगत लाभकर बापत २४ अर्ब रुपैंया कर निर्धारण गरेको थियो । उक्त रकम तिर्न एनसेललाई सरकारले किस्ता बन्दीको सेवा नदिएको भएतापनि उसले भने किस्तामा बुझाउँदै आएको छ ।

उसले पूँजीगत लाभकर यो आर्थिक वर्षभित्र ५ किस्तामा बुझाउने सुविधा माग गरेको थियो । सोही अनुसार एनसेलले यसअघि पहिलो किस्ताको रुपमा पनि ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको थियो ।

कम्पनीले दोस्रो किस्ता दाखिला गरेसँगै ठूला करदाता कार्यालयले एनसेललाई बाँकी रहेको १४ अर्ब ४० करोड रुपैयाँ १५ दिनभित्र बुझाउन निर्देशन दिएको छ । तर, एनसेलले भने यो लकडाउनका अवस्था सहज भएपश्चात बुझाउने बताएको अधिकारीले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१