close

सूचना प्रविधिमा काँचुली फेर्दै राष्ट्र बैंक, वेबसाइट समेत फेरियो

टेकपाना टेकपाना

बैशाख १४, २०७७ २०:४५

सूचना प्रविधिमा काँचुली फेर्दै राष्ट्र बैंक, वेबसाइट समेत फेरियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ वेबसाइट सार्वजनिक गरेको छ । आफ्नो ६५ औँ वार्षिकोत्सवको अवसरमा केन्द्रीय बैंकले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको हो ।

बैंकमा रहेका पुराना सफ्टवेयर सिस्टमलाई वेब बेस्ड सिस्टमले प्रतिस्थापन गरिएको छ । साथै ह्युमन रिसोर्स म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम सफ्टवेयर प्रतिस्थापन गरी ह्युमन रिसोर्स इन्फर्मेसन सिस्टम कार्यान्वयनमा ल्याइएको छ ।

यसैगरी राष्ट्र बैंकमा विद्यमान ईमेल सिस्टमलाई माइक्रोसफ्ट एक्सजेञ्जले प्रतिस्थापन गर्ने कार्य भइरहेको छ । उक्त कार्य अन्तिम चरणमा पुगेको गभर्नरले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

डीएफआईडीको सहयोगमा केन्द्रीय बैंकले आफ्नै अत्याधुनिक डेटा सेन्टरको निर्माण सम्पन्न गरी पूर्ण रुपमा सञ्चालनमा ल्याइसकेको छ ।

बैंकमा सेक्युरिटी इन्फर्मेसन एन्ड इभेन्ट म्यानेजमेन्ट तथा थप फायरवाल स्थापना गर्ने कार्य अन्तिम चरणमा छ । केन्द्रीय बैंकका विभिन्न सफ्टवेयरलाई क्रमशः डीआर साइटमा जडान गरी सञ्चालनमा ल्याउने कार्य समेत भइरहेको बताइएको छ ।

केन्द्रीय बैंकले सूचना प्रविधिको प्रयोग मार्फत निरीक्षण तथा सुपरिवेक्षण कार्यलाई प्रभावकारी बनाउने प्रयास गरेको छ ।

जसअनुसार बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकमा नियमित रुपमा पठाउनुपर्ने तथ्याङ्कलाई एकद्वार प्रणाली मार्फत संकलन तथा प्रवाह गर्ने प्रयोजयनको लागि तयार गरिएको पोर्टललाई अझ सरल, सुदृढ एवम् स्वचालित बनाइएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले उक्त पोर्टल मार्फत सहज रुपमा दैनिक, मासिक, त्रैमासिक, अर्धवार्षिक तथा अन्य प्रतिवेदन अपलोड गर्न र त्यस्ता प्रतिवेदनहरु राष्ट्र बैंकको सम्बन्धित विभागले प्राप्त गर्न सक्छन् ।

बैंक तथा वित्तीय संस्थाहरुबाट नियमित रुपमा लिइने तथ्याङ्कको संकलन, सुरक्षण, अनुगमन, विश्लेषण तथा विवरण प्रकाशनमा रहेका विद्यमान समस्यालाई सम्बोधन गर्न सुपरिवेक्षकीय सूचना प्रणाली विकास गर्ने कार्य सम्पन्न भइसकेको छ ।

गत ८ जनवरी देखि क वर्गका सबै बैंकहरुमा केही ईनपुट फारम पाइलट टेस्टिङको रुपमा लाइभ गरिसकिएको राष्ट्र बैंकले जनाएको छ । उक्त प्रणाली कार्यान्वयनमा आएपश्चात बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकका विभिन्न विभागहरुलाई अलग अलगरुपमा नभई सम्पूर्ण तथ्याङ्क एकमुस्ट रुपमा पेश गर्न सक्छन् ।

यसका साथै राष्ट्र बैंकले सूचना प्रविधिको बढ्दो प्रयोग, आवश्यकता र जोखिमलाई ध्यानमा राख्दै साइबर सेक्युरिटी पोलिसी तथा आईटी सर्भिस म्यानेजमेन्ट पोलिसी समेत तर्जुमा गरेको छ ।

आईटी रिस्क सुपरिभिजन फ्रेमवर्क तयार हुँदै

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुमा रहेको सूचना प्रविधि जोखिमको प्रभावकारी अनुगमन एवम् मूल्याङ्कन गरी आवश्यक रणनीति अवलम्बन गर्ने उद्देश्यले सुपरिवेक्षण विभागहरु तथा सूचना प्रविधि विभागको समन्वयमा आईटी रिस्क सुपरिभिजन फ्रेमवर्क तयार गर्ने कार्य भइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३