close

स्टार्टअपलाई अनुदानमा सुरुवाती पूँजी बाँड्दै सरकार, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

बैशाख ३०, २०७७ ११:३४

स्टार्टअपलाई अनुदानमा सुरुवाती पूँजी बाँड्दै सरकार, यसरी दिनुहोस् आवेदन

काठमाडौं । सरकारले नवप्रवर्तन तथा स्टार्टअपहरुलाई अनुदानको रुपमा सुरुवाती पूँजी उपलब्ध गराउने भएको छ । राष्ट्रिय योजना आयोगले सोमबार सूचना जारी गर्दै सुरुवाती पूँजी प्राप्त गर्न चाहने स्टार्टअप कम्पनीहरुसँग आवेदन माग गरेको हो ।

आयोगले नवप्रवर्तन सुरुवाती पूँजी अनुदान सम्बन्धी कार्यविधि, २०७६ तथा नवप्रवर्तन सुरुवाती पूँजी अनुदान सम्बन्धी मापदण्ड २०७७ अनुसार उक्त रकम उपलब्ध गराउने बताएको छ । जसअन्तर्गत सरकारले नवीनतम ज्ञान, सीप र क्षमता भएका आविष्कारकर्ता, उद्यमी, व्यावसायी तथा संस्थालाई त्यस्ता उद्यम एवम् व्यवसाय सञ्चालन गर्न सुरुवाती पूँजीको रुपमा अनुदान उपलब्ध गराउने छ ।

त्यसका लागि कार्यविधि तथा मापदण्ड अनुसारको ढाँचामा प्रस्ताव तयारी आवश्यक कागजात सहित अनलाइनमार्फत दर्ता गर्न सकिने छ । यसका लागि ३० दिनको समय उपलब्ध गराइएको छ ।

कसरी दिने आवेदन

आवेदनका लागि यहाँ क्लिक गरी कार्यविधि र मापदण्ड डाउनलोड गर्न सक्नु हुनेछ । कार्यविधि र मापदण्डका आधारमा आवश्यक कागजपत्र तयार पारी यहाँ क्लिक गरी रजिस्ट्रेसन पृष्ठ दर्ता गरेर युजर नेम र पासवर्ड बनाउनु पर्नेछ । त्यति गर्नासाथ तपाईंको ईमेलमा युजर नेम र पासवर्ड एक्टिभ गर्नका लागि भेरिफिकेसनको रुपमा ईमेल आउनेछ ।

उक्त ईमेलमा क्लिक गरी तपाईंले युजर नेम र पासवर्ड एक्टिभ गर्न सक्नुहुनेछ । युजर नेम र पासवर्ड एक्टिभ भएसँगै यहाँ गएर तपाईंले लगईन गरी आवेदन फारम भरी पेश गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१