close

आफूलाई बर्बाद पार्न अमेरिकाले प्रविधिको दुरुपयोग गरेको ह्वावेको आरोप

टेकपाना टेकपाना

जेठ ६, २०७७ ९:१४

आफूलाई बर्बाद पार्न अमेरिकाले प्रविधिको दुरुपयोग गरेको ह्वावेको आरोप

काठमाडाैं । ह्वावेले अमेरिकी वित्तीय मन्त्रालयले आफूलाई निशाना बनाएको भन्दै नयाँ ‘फोरेन डाइरेक्ट प्रडक्ट रुल’ मा गरेको संसोधनको विरोध गरेको छ । अमेरिकी सरकारले गत वर्षको मे १६ मा बिना कुनै स्पष्टिकरण ह्वावेलाई आफ्नो इन्टिटी लिस्टमा राखेको छ । 

अमेरिकी सरकारले महत्वपूर्ण औद्योगिक तथा प्राविधिक उपकरण आपूर्तिमा रोक लगाए पनि कम्पनीले अमेरिकी सरकारको नियम पालना गर्दै आइरहेको बताएको छ । यद्यपी अमेरिकी सरकारले आफ्नो घाँटी अठ्याएको कम्पनीको गुनासो छ । 

धेरै कम्पनी र औद्योगिक संगठनहरुको सरोकारलाई बेवास्ता गर्दै अमेरिकी सरकारले एकलाैटी ढंगले त्यस्तो प्रक्रिया अगाडि बढाउने निर्णय गरेको कम्पनीले आफ्नो प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । 

अमेरिकाको नयाँ नियम नियतपूर्ण ढंगले बनाइएको र यो मोबाइल उत्पादक कम्पनीहरुको अहितमा भएको र यसले सिंगो उद्योगलाई नै विश्वभर कमजोर बनाइदिने ह्वावेले बताएको छ ।

उक्त नयाँ नियमलेखर्बाैं डलर लगानी गरेर ह्वावेले १७० मुलुकमा रोलआउट गरेको नेटवर्कको विस्तार, मर्मत र निरन्तर सञ्चालनलाई नै प्रभाव पर्ने भन्दै कम्पनीले चिन्ता व्यक्त गरेको छ ।  

ह्वावेको उत्पादन र सेवालाई प्रयोग गर्ने विश्वभरका तीन अर्बभन्दा धेरै प्रयोगकर्ताको सञ्चार सेवालाई यसले प्रभावित पार्नेछ । चीनको नेतृत्वदायी कम्पनीलाई निशाना बनाउने सुरमा अमेरिकी सरकारले ह्वावेका सेवाग्राहीहरुका बारेमा कुनै वास्ता नगरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

नेटवर्क सुरक्षाका लागि यो नियम अपनाएको भन्ने अमेरिकी सरकारको तर्कलाई ह्वावेले खण्डन गरेको छ । अमेरिकी सरकारको पछिल्लो निर्णयले ह्वावेलाई मात्र नभएर विश्वका धेरै उद्योगहरुलाई असर गर्ने कम्पनीको भनाई छ ।

अमेरिकाको यो कदमले दीर्घकालमा धेरै कम्पनीहरु निर्भर रहेको ग्लोबल सेमिकन्डक्टरी उद्योगभित्रको विश्वास र सहकार्यमा पनि क्षति पुर्‍याउने ह्वावेको तर्क छ । जसबाट यस उद्योग क्षेत्रभित्र विवाद र घाटा निम्त्याउने उसले बताएको छ । 

आफ्नो सीमा बाहिरको कम्पनीहरुलाई बर्बाद बनाउन अमेरिकी सरकारले आफ्नो प्राविधिक शक्तिको दुरुपयोग गरिरहेको ह्वावेको आरोप छ ।  

ह्वावेले अमेरिकाको नयाँ कानूनको व्यापक परीक्षण गरिरहेको र यसबाट व्यवसाय प्रभावित हुने आंकलन गरेको बताएको छ । तर कम्पनीले उक्त समस्याको समाधान खोजी गर्ने समेत उल्लेख गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३