close

ट्रम्पलाई घृणा फैलाउन दिएको भन्दै फेसबुकबाट सफ्टवेयर इञ्जिनियरको राजीनामा

टेकपाना टेकपाना

जेठ २५, २०७७ १४:३३

ट्रम्पलाई घृणा फैलाउन दिएको भन्दै फेसबुकबाट सफ्टवेयर इञ्जिनियरको राजीनामा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विवादित पोस्टमाथि फेसबुकले देखाएको बेवास्ता प्रति असन्तुष्ट एकजना सफ्टवेयर इञ्जिनियरले कम्पनीबाट राजीनामा दिएकी छिन् । 

सन् २०१९ देखि फेसबुकमा कार्यरत सफ्टवेयर इञ्जिनियर टिमोथी अभेनीले राजीनामा दिएकी हुन् । लिंक्डईन र फेसबुक पोस्ट मार्फत उनले आफ्नो कम्पनीमाथि हिंसा भड्काउने तथा कट्टरपन्थी विचार राख्ने राजनीतिज्ञलाई ठाउँ दिएको आरोप लगाएकी छिन् ।

अमेरिकामा एक प्रहरीले अश्वेत नागरिक जर्ज फ्लोयडको हत्या गरेपछि जारी विरोध प्रदर्शनको सन्दर्भमा अमेरिकी राष्ट्रपति ट्रम्पले फेसबुकमा विवादित पोस्ट गरेका थिए । उक्त पोस्टमा फेसबुकले कुनै किसिमको हस्तक्षेप नगरी घृणा फैलाउने काम जारी रहन दिएपछि कम्पनीले चौतर्फी आलोचनाको सामना गरिरहेको छ । 

ट्रम्पमाथि हिंसा भड्काएको र शान्तिपूर्ण ढंगले विरोध गरिरहेका प्रदर्शनकारीहरुलाई तल्लो स्तरका भन्दै सम्बोधन गरेको आरोपहरु लागेका छन् । साथै उनले फेसबुक प्लेटफर्मबाटै प्रदर्शनकारीहरु विरुद्ध सेना परिचालन गर्ने धम्कीपूर्ण सन्देश समेत पोस्ट गरेका थिए ।

जब राष्ट्रपति ट्रम्पले त्यसै किसिमको सन्देश माइक्रोब्लगिङ साइट ट्वीटरमा पोस्ट गरे, तब कम्पनीले हिंसा भड्काउने सन्देश भन्दै त्यसलाई लुकाइदिएको थियो । तर सोही पोस्टमा फेसबुकले भने मौन रहेर शेयर गर्ने अनुमति दिएको छ ।

राष्ट्रपति ट्रम्पको रवैयाका अगाडि लाचारी प्रस्तुत गरेको भन्दै घरबाट काम गरिरहेका फेसबुकका धेरै कर्मचारीहरुले गत सोमबार भर्चुअल रुपमा कम्पनीको विरोध गरेका थिए । कम्पनीका सीईओ मार्क जुकरवर्गले फेसबुकको अडानको बचाउ गर्दै हस्तक्षेप नगर्ने निर्णय लिन गाह्रो भएको तर यो नै सही भएको अभिव्यक्ति दिएका थिए । तर जुकरवर्गको यो अभिव्यक्तिले उनकै कर्मचारीहरुलाई असन्तुष्ट बनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०