close

विरासतको व्यवसाय छोडेर आईटीमा लाग्नु सहज थिएन

सञ्जय गोल्छा सञ्जय गोल्छा

असार ७, २०७७ १६:२६

विरासतको व्यवसाय छोडेर आईटीमा लाग्नु सहज थिएन

आईटीमा मेरो संलग्नताको इतिहास पुरानो छ । मैले सन् १९८४ मा प्रोग्रामिङ सुरु गरेको हुँ । म एउटा व्यवसायिक परिवारमा जन्मिएँ । मेरो गोल्छा परिवारले व्यवसायमा एउटा विरासत नै खडा गरेको छ । हामी विशेषगरी औद्योगिक र व्यापारिक पृष्ठभूमीबाट आएको हौं ।

तर मेरो रुची सुरुदेखि नै आईटीमा रह्यो । सन् १९८४ मा मेरा बुबाले विदेशयात्राबाट फर्किंदा मलाई प्रोग्रामिङ गर्न मिल्ने एउटा क्याल्कुलेटर ल्याइदिनुभएको थियो । त्यसबेला क्यासियोको प्रोग्रामेबल क्याल्कुलेटर आउँथ्यो ।

त्यसमा हामीले बेसिक ल्याङ्ग्वेजमा प्रोग्रामिङ गर्नुपर्ने हुन्थ्यो । अहिलेको प्रोग्रामिङ भाषाको तुलनामा त्यो एकदमै प्रारम्भिक किसिमको ल्याङग्वेज थियो । १‍०, २०, ३० लाइन दिएर हामी प्रोग्रामिङ गर्थ्यौं ।

यसरी नै मैले स्वयम् आफैं प्रोग्रामिङ सम्बन्धी ज्ञान हाँसिल गरें । मेरो रुची त्यसमा थप जाग्दै गयो । त्यसबेला काठमाडौंमा भर्खरै खुलेका एक दुई वटा कम्प्युटर इन्स्टिच्युट थिए । थप सिकौं भनेर म त्यतै लागें ।

त्यतिखेर एउटा एप्पलको कम्प्युटर आएको थियो ।  सन् १९८६  ताकाको त्यो समय नेपालमा भर्खर भर्खर कम्प्युटरहरु आउन थालेका थिए । मैले एप्पल टू ई कम्प्युटरमा काम गर्ने अवसर पाएँ । त्योबेला नै मैले कम्प्युटर हाम्रो भविष्य हो र यसले हाम्रो जीवन परिवर्तन गर्छ भन्ने कुरा बुझिसकेको थिएँ । 

लगत्तै म्याकिन्टोस कम्प्युटर आयो । त्यसमा पनि मैले काम गर्ने मौका पाएँ । र त्यसपछि १९८६ मा एसएलसी दिएर म भारततिर पढ्न गएँ । 

त्यो बेला स्कूलहरुमा कम्प्युटर ल्याब हुन्थे । जुत्ता खोलेर एयरकन्डिसन रुम भएको कम्प्युटर ल्याबमा गइन्थ्यो । छुनसम्म नपाइने । कम्प्युटरमा के हुन्छ भनेर देखाउने मात्र गरिन्थ्यो । त्यहाँ पनि मैले अलि अलि कम्प्युटरको एक्सपोजर पाएँ । 

तर मैले राम्रो एक्सपोजर त्यतिखेर मात्र पाएँ, जब १९८९ तिर अण्डरग्र्याजुएका लागि वेलायत जाने माैका पाएँ । वेलायतमा मैले बिजनेस कोर्षसँगै कम्प्युटरको कोर्ष पनि गरें । त्यो बेला कम्प्युटरका कोर्षहरु आज जस्तो प्रशिद्ध थिएनन् । 

परिवारमा पनि कम्प्युटरलाई सौख पुरा गर्ने र समय खेर फाल्ने कोर्षको रुपमा बुझ्ने गरिन्थ्यो । तर पनि मैले इलेक्ट्रिक कोर्षहरु लिएँ । खासगरी त्यसलाई विजनेसमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने कोर्षहरु थिए । विश्वविद्यालयमा रुची र जिज्ञासाले गर्दा मैले धेरै एक्सपोजर पाएँ ।

इन्टरनेटको सुरुवाती दिनको एक्सपोजर पनि पाएँ । त्यो बेला इन्टरनेट भनिदैँन थियो, टेल नेट भनिन्थ्यो । मैले हाम्रो विश्वविद्यालयमा टेलनेटको समेत एक्सपोजर पाएँ । यसरी नै मेरो यात्रा सुरु भयो । कम्प्युटरमा रुची भएकै कारण मैले नयाँ नयाँ प्रोग्रामिङ ल्याङ्ग्वेजहरु सिक्न थालेँ ।

नयाँ नयाँ एप्लिकेसनहरु बनाउन थालेँ । त्यो बेलामा पनि कम्पनीहरुमा काम गर्ने र इन्टर्नशिप गर्ने क्रममा ईआरपीहरु जस्तो एड्भान्स तथा जटिल सफ्टवेयरहरुको पनि एक्सपोजर पाएँ । त्यसलाई नेपालमा ल्याएर प्रयोग गर्ने इच्छा मेरो मनमा सधैं आइरहन्थ्यो ।

तर नेपाल फर्केर पारिवारिक व्यवसायमा जोडिनुपर्ने थियो । त्यो अप्राविधिक व्यवसाय थियो । त्यसक्रममा विरासतमा आएका अरु विजनेसहरु पनि हेरें । लिगेसी विजनेस गर्ने परिवारहरु नेपालमा धेरै छन् । जब कम्प्युटरहरु आउन थाले, मान्छेहरुले विस्तारै बुझ्न थाले ।

विल गेट्स र स्टिभ जब्सका कहानीहरु आउन थाले । तब नेपालमा पनि व्यावसायिक परिवारहरुमा यो आईटीमा केही गर्न सकिन्छ कि भनेर सोच पलाउन थाल्यो । १९९० को दशकमा पनि मेरो आदर्श बिल गेट्सहरु नै थिए ।

एउटा सफ्टवेयर बेचेर उनीहरुले यत्रो सामाज्य खडा गर्न सके । तर नेपालमा परम्परागत व्यवसाय गर्दै आइरहेको बेला नयाँ विजनेस गर्न धेरै नै गाह्रो थियो । त्यसैले मैले विजनेस सुरु गर्दा सुरुमा आईटी विजनेसमा जान सकिनँ । विस्तारै काम गर्दै जाँदा सचेतना बढ्दै गयो ।

पुरानो पुस्ताको सोच पनि परिवर्तन हुँदै गयो । नयाँ विजनेसमा पनि लाग्नु पर्छ है भन्ने सोच पलाउन थाल्यो । मेरो विचारमा लिगेसी तथा परम्परागत व्यवसाय गरिरहेकाहरुका लागि आईटीमा प्रवेश गर्नु सजिलो थिएन ।

तर जुन कम्पनीहरुले त्यो बेला समयमै आईटी भित्र्याए, आज उनीहरु धेरै नै समृद्धशाली भएका छन् । डेटाको महत्वलाई उनीहरुले बुझ्न सके । बैंकिङ क्षेत्रलाई नै हेर्नुहोस्, पहिलेको र अहिलेकोमा कति धेरै परिवर्तन आएको छ । 

सन् २००० मा आएर मात्रै मैले नियोटेनिकको विजनेस सुरु गरेँ । जसमा नियोटेनिक र आईटी नेपाल गरी दुईवटा कम्पनी छन् । यसरी त्यो बेलादेखि नै हार्डवेयर र सफ्टवेयर दुवै व्यवसायमा लागेँ ।

आईटी नेपालमा चार पाँच जना प्रोग्रामरहरु ल्याएर नेपालमा आफ्नै ईआरपी सफ्टवेयर विकास गर्ने उद्देश्य राखेका थियौं । आज त्यो ईआरपी सफ्टवेयरले धेरै ठूलो रुप लिइसकेको छ । आईटी नेपालमा अहिले हामीसँग ८०/९० जनाको टिम छ ।

नेपालमा आईटी डिस्ट्रिब्युसन कम्पनी चाहिन्छ भन्ने धारणा लिएर हामीले नियोटेरिक कम्पनी सुरु गरेका थियौं । नियोटेरिकबाट नेपालमै पहिलोपटक आईटी प्रडक्टहरु बिक्री वितरण गर्न थाल्यौं ।

त्यो बेला नियोटेरिकले नेपालमा कम्प्युटरहरु एसेम्बलको काम पनि गर्दथ्यो । त्यसताका अहिलेजस्तो ल्यापटपहरु आइसकेका थिएनन् । नेपालमा पहिलोपटक मोबाइल फोन ल्याउने कम्पनी पनि हाम्री थियो । हामीहरुले त्यो बेला नोकियाका प्रडक्टहरु ल्यायौं ।

मोबाइल फोनको क्षेत्रमा आएको क्रान्तिमा हामीले पनि योगदान दिन सक्यौं । जब नेपालमा भर्खर नेपाल टेलिकमले पहिलोपटक जीएसएम सेवा मार्फत मोबाइल फोन सेवा सुरु गर्‍यो, त्यस बेला हामीले नियोटेरिक मार्फत नेपालमा थुप्रै मोबाइल फोन ल्यायौं ।

त्यो बेला मोबाइलहरु ठूला र महंगा हुन्थे । तर दुई तीन वर्षको अवधिमा मोबाइल प्रविधिमा निकै ठूलो विकास भयो । यसरी अहिले जस्तो नेपालका गाउँ गाउँमा मोबाइल फोन पुग्ने अवस्था आउँछ भनेर सुरुमा कसैले सोचेको पनि थिएन ।

बीस तीस हजार पर्ने फोनहरु १५ सयदेखि दुई हजार रुपैयाँमै पाइन थाले । गाउँमा पनि हामीले वितरण सञ्जाल विस्तार गरेर सबैको हातमा मोबाइल पुर्‍याउने काम गर्‍यौं । प्रत्येक १० प्रतिशत मोबाइल पेनिट्रेसनबाट कुनै पनि देशको अर्थतन्त्रमा जीडीपीको एक प्रतिशत वृद्धि हुने विश्वास गरिन्थ्यो ।

आज यदि हामीले परिणाम हेर्ने हो भने पनि त्यो सत्य सावित भएको देखिन्छ । जुन हिसाबले नेपालमा सञ्चारको क्रान्ति आयो र हामी त्यसको एउटा हिस्सा बन्न पायौं, हाम्रा लागि त्यो पनि एउटा गर्वकै कुरा रह्यो ।

सँगै हामीले नेपालमा आईटी क्रान्तिमा पनि ठूलो भूमिका खेल्न पायौं । नेपालका प्रत्येक शैक्षिक संस्थाका विद्यार्थी र कार्यालयका कर्मचारीहरुको हात हातमा कम्प्युटर पुर्‍याउन पायौं । यसरी डिजिटल क्रान्तिको रुपमा नेपालमा विभिन्न आईटी पूर्वाधार संरचना तयार गर्ने विषयमा हामीले पनि एउटा हिस्सा बन्ने मौका पाएका छौं ।

बैंकिङ क्षेत्रदेखि टेलिकम क्षेत्रहुँदै गाउँ गाउँमा आईटी ल्याबहरु, विद्यालयहरुमा कम्प्युटर, त्यो सबै हामीले देख्न पायौं र हामी त्यसको हिस्सा बन्न पायौं । त्यो मेरो लागि धेरै महत्वपूर्ण क्षण थियो । 

खल्ती खल्तीमा फोन पुग्यो । आज हामीले विभिन्न किसिमका वित्तीय सेवा र स्टार्टअपहरु देखिरहेका छौं । त्यसलाई प्रवर्द्धन गर्ने कुरामा पनि मेरो संलग्नता छ । यातायातदेखि भुक्तानी, ईकमर्श आदि व्यापक क्षेत्रलाई प्रवर्द्धन गर्ने काममा म संलग्न भइरहेको छु ।

नेपालको आईटी सेक्टरमा मैले देखेको एउटा चुनौती के छ भने यहाँ एउटा स्किल लेभल कहिल्यै पनि विकास हुन सकेन ।आईटीका धेरै वेभहरु आए । हामीले धेरैओटा वेभहरु मिस गरेका छौं । भारतमा सन् २००० तिर आएको वाई टु केको बूम मिस गर्‍यौं ।

कल सेन्टरको बूम मिस गर्‍यौं । त्यसरी नै हामीले धेरै क्रान्तिहरु मिस गर्‍यौं । एम कमर्शको क्रान्ति पनि हामीले सुरुमा मिस गरेकै हो । तर अबको समयमा आएर हामीले त्यसरी मिस गर्नु हुँदैन । अहिले जुन नयाँ वेभ र इन्टरनेटको थर्ड वेबको बूम आइरहेको छ, यसलाई हामीले मिस गर्नु हुँदैन । 

त्यो मिस गर्नुमा हाम्रो कमजोरी वा कारण के छ भने नेपालमा स्किल सेट अर्थात् भनौं रिसोर्स पूलको एउटा ठूलो कमी छ । त्यो देखेर नै हामीले आईटी शिक्षामा समेत संलग्न हुनुपर्ने आवश्यकता महशुस गर्‍यौं । त्यसका लागि अहिले हामीले आईटी इन्स्टिच्युटलाई प्रवर्द्धन गरिरहेका छौं ।

त्यसमा सकेसम्म विद्यार्थी र नयाँ पुस्ताहरु रुची लिएर आऊन् भनेर लागिरहेको छु । अहिले म मेरो आईटी यात्राको यस्तो दौरानमा छु, युवाहरु यो क्षेत्रमा आऊन् भनेर उनीहरुलाई हौसला दिइरहेको छु ।

अहिले आईटी फिल्डमा स्टार्टअपमा लाग्नु पर्‍यो , प्रोग्रामिङमा लाग्नु पर्‍यो, उद्यमशीलतामा लाग्नु पर्‍यो भनेर सबैलाई मैले सुझाव दिने गरेको छु । यो क्षेत्र एकदमै राम्रो क्षेत्र हो । भविष्य यसैमा छ । अझ अहिले एआईको आउँदैछ । रोबोटिक्सको आउँदैछ । यसमा भविष्य असीमित छ ।

मैले माथि पनि भनें, हामीले आईटीमा धेरै वेभ मिस गर्‍यौं । तर अब चाहिँ मिस नगरौं । युवा पुस्तालाई मेरो सुझाव छ- आईटी, टेलिकम र एआईमा जुन क्रान्ति भइरहेको छ, त्यसलाई हामीले मिस गर्नु हुँदैन । 

धेरैजना मलाई सोध्छन्, यो प्रोग्रामिङ सिकेर के फाइदा छ ? मेरो विचारमा कुनै पनि सेक्टर प्रोग्रामिङ र आईटीबाट अलग्गै छुट्टिएर रहेको छैन र भविष्यमा रहन पनि सक्दैन । आईटीको ज्ञान छैन भने भविष्यमा धेरै अगाडि बढ्न सकिदैन ।

म आफूलाई भाग्यमानी सम्झन्छु । किन कि त्यो बेलादेखि नै म आईटीमा संलग्न हुन सकें । यो उमेरमा आएर पनि मैले आफूलाई आईटीको क्षेत्रमा अप टु डेट राख्न सकेको छु ।

नेपालमा आईटीलाई कसरी निर्यातमूखी क्षेत्रको रुपमा विकास गर्न सकिन्छ भन्ने अहिलेको ठूलो प्रश्न हो । हुन त नेपालमा धेरै किसिमका विजनेस चलिरहेका छन् । नेपालमा धेरै आउटसोर्सिङ कम्पनीहरु आइरहेको हामीले देखिरहेका छौं ।

नेपालमै १०/१५ जनाको संख्यामा रहेर सुरु भएका निर्यातमूखी आईटी कम्पनीहरु धेरै छन् । त्यो एकदमै सकरात्मक र आशलाग्दो संकेत हो । अहिलेको जमानामा नेपाल र अमेरिकामा बसेर काम गर्नुमा केही फरक छैन । विजनेस ल्याउन पनि धेरै सजिलो भएको छ ।

प्रोग्रामिङ, आउटसोर्सिङ वा विजनेस प्रोसेस आउटसोर्सिङको व्यवसायमा धेरै अवसर छन् । तर यसमा पनि वातावरण र इकोसिस्टम तयार हुन एकदमै आवश्यक छ ।  इकोसिस्टममा निरुत्साहित गर्ने तत्वहरु पनि मिसिन आइपुग्छन् ।

यदि ‍त्यसलाई औंल्याएर कुरा गर्ने हो भने सर्वप्रथम त म स्किलसेटकै अभाव हो भन्छु । नेपालमा हामीलाई त्यस्ता स्किल सेटहरु विकास गर्न र आईटी कम्पनीहरु सुरु गर्न धेरै लेयरमा समस्याहरु मिसिएका छन् ।

प्रोग्रामिङको सीप उपलब्ध भए पनि व्यवस्थापन तथा परियोजना व्यवस्थापनको स्किल सेट देखिदैँन । निर्यातमूखी व्यवसाय नै गर्ने हो भने व्याण्डविथ उपलब्धताको कुराहरु पनि आउँछन् । पेमेन्ट गेट-वेका कुराहरु आउँछन् । कर नीतिका ग्रे एरियाहरु छन् । जसलाई धेरैले बुझेका छैनन् ।

आजको दिनमा यदि २५ वर्षका केटाहरुले निर्यातमूखी विजनेस गर्ने हो भने त्यसमा यसले धेरै नै अप्ठ्यारो अवस्था सिर्जना गरिदिएको छ । यदि कुनै युवा पिढींले निर्यातमूखी स्टार्टअप गर्न चाहन्छ भने त्यसमा यति धेरै अवरोध र ग्रे एरियाहरु छन् कि त्यसले उनीहरुलाई हतोत्साहित गर्ने किसिमको इकोसिस्टम बनाएको छ ।

नेपालमा निर्यातमूखी स्टार्टअपहरु आउनका लागि धेरै सकरात्मक विषयहरु पनि छन् । इन्टरनेटको जमानामा नेपालमै बसेर व्यवसाय गर्न सकिन्छ । मार्केटिङ गर्न सकिन्छ । विजनेस ल्याउन सकिन्छ । दश/बीस जनाको टिम बनाउने हो भने धेरै कामहरु गर्न सकिन्छ । तर यसमा एउटा इकोसिस्टम हुन भने आवश्यक छ ।

आजको समयमा हामीले भारतको बैंङलोर, हैदरावाद हेर्ने हो भने त्यहाँ एउटा इकोसिस्टम बनिसकेको छ । सबै कुराहरु आफैंले गर्ने भन्ने हुँदैन । सबै कुरा म मेरो आईटी कम्पनीबाटै गर्छु भनेर लाग्यौं भने यो धेरै अप्ठ्यारो काम बन्न जान्छ ।

कुनै पनि आईटी परियोजनामा विभिन्न किसिमको स्किल सेट र विशिष्टताको आवश्यकता हुन्छ । डिजाइनिङ, डेटाबेस, आईटी पूर्वाधार, प्रोग्रामिङको आवश्यकता होला । एउटै कम्पनीले यस्ता सबै काम गर्न सक्दैन । नेपालमा त्यो इकोसिस्टम विकास नभएको अवस्था देख्छु म । 

त्यो बाहेक अर्को कानूनी व्यवस्था, सरकारको पूर्वाधार, कर र भुक्तानीको सिस्टम पनि नेपालमा विकास भइसकेको अवस्था छैन । विकास मात्र होइन एटिट्यूडमा (प्रवृत्ति) पनि समस्या छ । त्यो एटिट्यूडले युवाहरुलाई स्टार्टअप व्यवसाय गर्न हतोत्साहित गर्छ ।

किनभने यो व्यवसाय परम्परागत व्यवसायभन्दा धेरै फरक व्यवसाय हो । एउटा पेमेन्ट गेट-वे नभएको अवस्था छ । त्यसमा ट्याक्सेसन कसरी गर्ने, के गर्ने भनेर स्पष्ट छैन । डर त्रासको वातावरण बनाइदिने अवस्था छ ।

यदि २५ वर्षको केटाले कुनै नयाँ स्टार्टअप सुरु गर्ने हो भने सरकारी कार्यालयमा गएर के गर्ने, कसो गर्ने भनेर उसलाई जानकारी हुँदैन । यसरी हामी सबैजना एकसाथ अघि आएर नेपालको आईटी क्षेत्रलाई अगाडि लैजानुपर्ने अवस्था छ जस्तो मलाई लाग्छ ।

अर्को पाटो नेपालमा आईटी शिक्षा राम्रो हुँदाहुँदै पनि बाहिर जाने मोह छ । नेपालमा अवसर छ कि छैन ? नेपालमा बाहिर जस्तो जीवनशैली हुन्छ कि हुँदैन भन्ने किसिमको जुन मोह छ, त्यसैले गर्दा ‘ब्रेनड्रेन’ भइरहेको छ । यो निकै ठूलो समस्या हो ।

नेपालमा धेरै राम्रो मानवसंसाधन अवसर नपाएर पनि बाहिर गइरहेको छ । त्यसमा हामी चुकेका छौं । हामीले नेपालमा उनीहरुलाई रोक्नसक्ने आकर्षक र लोभलाग्दो वातावरण तयार गर्न सकेका छैनौं । यस हिसाबमा हामीले एउटा अवसर गुमाइरहेका छौं ।

नेपालको आईटी क्षेत्रका लागि सबैभन्दा ठूलो चुनौती भनेको यहाँबाट हुने वौद्धिक पलायन नै हो । त्यसलाई रोक्न खाली हामीले भनेर मात्र हुँदैन । त्यसका लागि जीवनशैली, विजनेस अवसर सबै परिवर्तन गर्नुपर्छ । त्यो एकैदिनमा हुने कुरा पनि होइन । त्यो एउटा चक्रको कुरा हो ।

त्यसका लागि हामी सबै मिलेर अघि बढ्नु पर्छ । यति गरेमा मात्र नेपालमा आईटी क्षेत्र समृद्ध बन्न सक्छ । मैले जुन आईटी इनेबल सेवाको कुरा गरें, त्यो निजी वा वित्तिय सेवा क्षेत्रमा मात्र होइन, सरकारी संयन्त्र तथा सेवाहरुमा पनि उत्तिकै महत्वपूर्ण छ ।

मैले जुन इकोसिस्टमको कुरा गरें, त्यसलाई विकास गर्न सरकारको पनि ठूलो हात रहन्छ । सरकारले आफ्ना सेवाहरु वितरण गर्न जी टु सी अर्थात् सरकारदेखि नागरिकसम्म पुर्‍याउने भूमिका खेल्नुपर्ने देखिन्छ । जसले गर्दा नागरिकले पाउनुपर्ने सुविधा, जानकारी र छिटोछरितो रुपमा पाउन सकून् । 

यस्ता सेवाहरु विकास गर्न नेपालमा जुन आईटी पूर्वाधार र स्किल सेट विकास हुनुपर्ने हो, त्यो भएको छ वा छैन भनेर समीक्षा गर्नुपर्ने अवस्था छ । एउटा कुनै फोरममा मैले भनेको थिएँ, अमेरिका जब चन्द्रमामा जाँदै थियो, त्यतिखेर उसले दक्ष कम्पनीहरुलाई टेण्डरका लागि आह्वान गरेको थियो ।

त्यसमा चन्द्रमा पुगिसकेको कम्पनी खोजिएको थिएन होला । त्यो नयाँ अभियान थियो । तर नासा जस्तो सरकारी संस्थाहरुले निजी संस्थाहरुलाई विकास गर्नुहोस्, हामी चन्द्रमा जाउँ भनेर अवसर दिए ।

नेपालमा त्यो वातावरण खै कहाँ छ ? देशमा यति ठूलाठूला परियोजना आइरहेका हुन्छन् । तर यहाँ विश्वासको कमी छ । देशमा यति धेरै आईटी कम्पनीहरु छन् । यी परियोजना स्थानीय कम्पनीहरुले पनि गर्न सक्छन् भन्ने विश्वासको कमीले गर्दा हाम्रै इकोसिस्टम विकास हुन पाएको छैन । यसमा म चाहिँ आत्मविश्वासको समेत कमी देख्छु ।

मैले अरु फोरमहरुमा पनि भनेको थिएँ- च्यालेञ्ज दिनुहोस्, हामी गरिदिन्छौं । बरु के विकास गर्नु पर्‍यो, त्यो भन्नुहोस् । हामी निःशूल्क गरिदिन्छौं  । स्मार्ट ड्राइभिङ लाइसेन्स पनि नेपालमै गर्न सकिन्थ्यो ।

एउटा लाइसेन्सका लागि एकएक वर्ष कुर्नुपर्ने अवस्था किन आयो ? नेपाली कम्पनीहरुलाई नै अवसर दिएको भए हुने थियो । अब हामी हवाईजहाज त बनाउन सक्दैनौं । तर भाग्यवश आईटी परियोजनाहरु त हामी स्थानीय कम्पनीहरुले नै गर्न सक्छौं ।

यसका लागि दक्ष जनशक्ति, पूर्वाधार, स्किल सेट, नेपालमै उपलब्ध छन् । यस्ता ठूला परियोजनाहरु नेपालमै गर्न सकिन्छ । तर त्यसका लागि एउटा फ्रेमवर्क हुनु पर्‍यो । निजी कन्ट्र्याक्टरहरुले पनि इमान्दारीपूर्वक काम गर्नु पर्‍यो ।

त्यो कसरी गर्ने हो ? देशभित्रै गर्न सकिन्छ भन्ने भावना लिएर अघि बढियो भने यो गर्न नसकिने काम होइन । निजी क्षेत्रलाई पनि अवसर दिनु पर्‍यो र उनीहरुलाई अंकुश लगाएर काममा लगाउन सक्नुपर्‍यो । गरेनन् भने सजाय दिने व्यवस्था गर्न सकिन्छ ।

जहाँ इच्छा हुन्छ, त्यहाँ बाटो पनि हुन्छ । हामीले एकअर्कोलाई दोष दिएर पुरै पुस्ता बिताइदिन पनि सक्छौं । तर हामीले मिलेर गरौं । यो गर्न सकिन्छ । सँगै मिलेर गराैं । हामी सबै देशको हिस्सा हौं भन्ने भावना लिएर गर्‍यौं भने हामी गर्न सक्छौं । इच्छाशक्ति नै छैन भने लुपहोल खोज्ने गरिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१