close

सामाजिक सञ्जालमा सुरक्षित रहने टिप्स

टेकपाना टेकपाना

असार ९, २०७७ १६:३०

सामाजिक सञ्जालमा सुरक्षित रहने टिप्स

काठमाडौं । सामाजिक सञ्जालले हामी सबैलाई एकै ठाउँमा ल्याएर जोडेको छ । तर कहिलेकाँही होशियारी नअपनाउँदा यीनै सञ्जालबाट हामी स्क्यामर तथा ह्याकरहरुको चंगुलमा फस्न सक्ने सम्भावना हुन्छ । 

तर चिन्ता नलिनुहोस् । केही सुरक्षित कदम अपनानुहोस्, जसबाट तपाईंको सामाजिक सञ्जालको जीवनमा सन्तुलन छाउँनेछ । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा सुरक्षित रहन सधै निम्न कुराहरुमा ध्यान दिनुहोस् ।

१. आफ्ना अडिन्स निर्धारण गर्नुहोस् 

फेसबुकमा तपाईंले कुनै फोटो वा टेक्स्ट पोस्ट गर्दै हुनुहुन्छ भने त्यो फोटो र पोस्ट कसलाई देखाउने र कसलाई नदेखाउने भन्ने कुराको निर्धारण आफैंले गर्न सक्नुहुन्छ ।

यसका लागि मेनुमा गएर थ्री डट बटनभित्र एडिट अडियन्समा क्लिक गर्नुहोस् । त्यहाँ कसलाई देखाउने वा कसलाई नदेखाउने वा कुनै व्यक्ति विशेषबाट लुकाउने भनेर तय गर्न सक्नुहुन्छ । 

२. पब्लिक वा प्राइभेट चयन गर्नुहोस्

तर ट्वीटर र इन्स्टाग्राम फेसबुक जस्तो लचिलो छैनन् । यी दुई माध्यममा तपाईंले आफ्नो पोस्टलाई या त पब्लिक या त प्राइभेट बनाउन सक्नुहुन्छ । त्यसभन्दा बीचको अप्सन हुँदैन । 

३. स्टोरीलाई लकडाउन गर्नुहोस् 

इन्स्टाग्राममा पब्लिक वा प्राइभेट चयन गर्ने बाहेक अर्को एउटा सुविधा पनि छ । यसमा तपाईंले केही व्यक्तिबाट आफ्नो स्टोरीलाई लुकाउन सक्नुहुन्छ । यस अलावा तपाईंले कुनै निश्चित समूहले मात्र देख्ने गरी समेत स्टोरी पोस्ट गर्नसक्नुहुन्छ । 

यसका लागि सबैभन्दा पहिले इन्स्टाग्रामको मोबाइल एपमा जानुहोस् । आफ्नो प्रोफाइल पेज खोल्नुहोस् र दायाँतर्फ रहेको मेनु आइकनमा ट्याप गरी सेटिङमा प्रवेश गर्नुहोस् । 

अब प्राइभेसीमा क्लिक गर्नुहोस् । त्यसपछि स्टोरीहुँदै आफूले स्टोरी लुकाउन चाहेका व्यक्तिहरुलाई कन्ट्याक्ट लिस्टमा चयन गर्नुहोस् । साथै आफूले स्टोरी देखाउन चाहेको साथीहरुको समूहको सूची पनि तयार पार्नुहोस् । जब तपाईं स्टोरी पोस्ट गर्नुहुन्छ, त्यहाँ क्लोज फ्रेण्ड अप्सन देख्न सक्नुहुन्छ । 

४. पोस्टलाई संरक्षण गर्नुहोस् 

कुनै नयाँ पोस्ट पब्लिक गरेपछि त्यसलाई संरक्षण दिने केही तरिकाहरु छन् । ट्वीटरमा तपाईंको ट्वीटका रिप्लाईहरु लुकाउने अप्सन हुन्छ ।

आफ्नो ट्वीटको रिप्लाई नजिक रहेको एरोमा क्लिक गर्नुहोस् र त्यहाँ हाइड रिप्लाईमा थिच्नुहोस् । रिप्लाई गर्नेलाई रिप्लाई लुकाएको थाहा समेत हुँदैन । 

इन्स्टाग्राममा पब्लिक फीडमा आएका र स्टोरीमा आएका सबै कमेन्टलाई ब्लक गर्न सकिन्छ । यदि कुनै कमेन्ट अनैतिक वा आपत्तिजनक लागेको खण्डमा त्यसलाई अटोमेटिकक रुपमा म्यूट गर्न समेत सकिन्छ ।

यसबाहेक यदि तपाईं कुनै निश्चित शब्दहरु देख्न चाहनुहुन्न भने म्यानुअल फिल्टरलाई टर्न अन गरेर त्यसको पनि समाधान निकाल्न सक्नुहुन्छ । तपाईंको पोस्टमा भएका कमेन्टलाई डिलिट गर्ने विकल्प पनि छ ।

यसका लागि आईओएसमा बायाँतिर स्वाइप गर्नुहोस् र एन्ड्रोइडमा केही समय थिँच्नुहोस् । यसरी रिप्लाइ तथा कमेन्टलाई डिलिट गर्न सकिन्छ ।

फेसबुक पोस्टमा कुनै पनि कमेन्टको नजिक रहेको थ्री डट मेनु वा कमेन्टमा धेरै समय थिचेर त्यसलाई डिलिट वा हाइड गर्न सकिन्छ । यसमा भने कमेन्ट गर्ने व्यक्तिले आफ्नो कमेन्ट हटाइएको कुरा थाहा पाउन सक्छ ।

५. अनावश्यक व्यक्तिलाई ब्लक गर्नुहोस् 

यदि कसैले तपाईंलाई अनावश्यक तनाव दिइरहेको छ भने त्यस्ता मानिसहरुलाई आफ्नो फ्रेण्ड लिस्टबाट ब्लक गर्नुहोस् । फेसबुक, ट्वीटर र इन्स्टाग्रााम तीनवटै प्लेटफर्ममा आफूले ब्लक गर्न चाहेको व्यक्तिको प्रोफाइल खोल्नुहोस् र थ्री डट मेनुमा ट्याप गरी ब्लक अप्सन चयन गर्नुहोस् ।

इन्स्टाग्रामले तपाईंलाई अर्को अप्सन रेस्ट्रिक्ट पनि प्रदान गर्दछ । यो पूर्ण ब्लक होइन । तर यसमा तपाईंले ब्लक गरेको व्यक्तिले तपाईंको पोस्टमा गरेको कमेन्ट तपाईंले अप्रुभ नगरेसम्म बाहिर देदिँदैन । 

साथै तपाईं अनलाइन रहेको कुरा पनि रेस्ट्रिक्ट भएको व्यक्तिले थाहा पाउन सक्दैन । इन्स्टाग्रामको यो फिचर विस्तृतमा बुझ्न यहाँ क्लिक गर्नुहोस् । 

६. अन्य प्रयोगकर्तालाई म्युट गर्नुहोस् 

यदि तपाईं कसैलाई विविध कारणले ब्लक गर्न चाहनुहुन्न  भने त्यस्ता प्रयोगकर्तालाई म्यूट गर्न सक्नुहुन्छ । जसको जानकारी उनीहरुलाई हुँदैन । यसरी म्युट गरिएका प्रयोगर्कताले तपाईंको फीड समेत देख्न सक्दैनन् । 

ट्वीटरमा जानुहोस् । आफूले चाहेको व्यक्तिको प्रोफाइल खोल्नुहोस् । त्यहाँ रहेको थ्री डट मेनु खोल्नुहोस् र म्यूट बटन चयन गर्नुहोस् । यस्तै इन्स्टाग्राममा प्रोफाइल खोल्नुहोस् र फलोइङमा ट्याप गरेर म्यूट (स्टोरी वा पोस्ट वा दुवैमा) ट्याप गर्नुहोस् ।

यस्तै फैसबुकमा सम्बन्धित प्रयोगकर्ताको प्रोफाइल खोल्नुहोस् । त्यसपछि फ्रेण्ड बटन ट्याप गर्नुहोस् र अनफलोमा क्लिक गर्नुहोस् । यसो गर्दा तपाईंहरु फ्रेण्ड त रहिरहनु हुनेछ । तर उसले तपाईंको स्टोरी वा फीड देख्नसक्ने छैन ।

७. रिप्लाई र कमेन्टको नियम याद राख्नुहोस् 

कसैको पोस्टमा कमेन्ट वा रिप्लाई गर्नु अघि ध्यान दिनुहोस् । किनभने यसले तपाईंको एक्सपोजरलाई बढाउन सक्छ । सामाजिक सञ्जाल अनुसार कमेन्ट र रिप्लाईका नियम फरक हुन्छन् ।

तर स्वभाविक रुपमा तपाईंको कमेन्ट वा रिप्लाई तपाईंले चाहे पनि नचाहे पनि उक्त पोस्टमा एक्सेस भएका सबैले देख्न सक्छन् । 

८. अरुको पोस्टमा आफू ट्याग नहुने 

कसैको पोस्ट, कमेन्ट र फोटोहरुमा ट्याग हुन सबैलाई राम्रो लाग्दैन । खुशीको कुरा हाम्रा सामाजिक सञ्जालहरुले यसको सुविधा पनि दिएका छन् । 

फेसबुक प्रयोगकर्ताले आफ्नो सेटिङको टाइमलाइन एण्ड ट्यागिङमा रहेको ट्यागिङमा गएर आफूलाई ट्याग गर्न नमिल्ने गरी सेटिङ मिलाउन सक्छन् ।

यसो गरेपछि कसैले तपाईंलाई ट्याग गरेको खण्डमा त्यो तपाईंको रिभ्यू पोस्टमा आएर बस्छ । जून तपाईंले मात्र देख्न सक्नुहुन्छ । यदि तपाईंले सेटिङमा यसरी मिलाउनु भएको छैन भने प्रत्येक पोस्टमा गएर ट्याग रिभूम गर्न पनि सक्नुहुन्छ ।

इन्स्टाग्रामान  एपभित्र रहेको सेटिङ मेनुमा जानुहोस् । त्यहाँ ट्यागमा क्लिक गर्नुहोस् । त्यहाँ तपाईंले ट्यागलाई आफ्नो इच्छा अनुसार आफ्नो टाइमलाइनमा देखिनेगरी अप्रुभ गर्न सक्नुहुन्छ ।

ट्वीटरमा तपाईंले आफूलाई कतै मेन्सन गर्नबाट रोक्न भने सक्नुहुन्न । तर कुनै फोटोमा वा पोस्टमा आफूलाई ट्याग हुनबाट रोक्न भने सक्नुहुन्छ । यसका लागि प्राइभेसी एण्ड सेफ्टीमा ट्याप गरेर फोटो ट्यागिङमा जानुहोस् ।

९. आफ्नो लोकेसनमा ध्यान दिनुहोस् 

फेसबुक, ट्वीटर  र इन्स्टाग्राम सबैमा तपाईंको लोकेसनसँगै पोस्ट ट्याग हुन सक्छ । यसले तपाईंको लोकेसनको जानकारी सार्वजनिक गरिदिन्छ ।

जुन तपाईंको गोपनीयताको हिसावले राम्रो कुरा होइन । यसकारण आफूले काम गर्ने ठाउँ र बस्ने ठाउँहरुको लोकेसन शेयर नगर्नुहोस् । 

आफ्नो लोकेसनलाई इच्छाअनुसार अन तथा अफ गर्न सक्नुहुन्छ । लोकेसन अफ गर्दा तपाईंले पाउने अर्को एउटा फाइदा भनेको अनलाइन  मार्केटरहरुले सजिलै विज्ञापनको निशाना बनाउन सक्दैनन् । किनभने उनीहरुसँग तपाईको पर्याप्त डेटा हुँदैन ।

१०. व्यक्तिगत जानकारीमा होशियार रहनुहोस् 

सामाजिक सञ्जालमा आफ्नो संवेदनशिल जानकारी तथा व्यक्तिगत जानकारी कहिल्यै पनि सेयर नगर्नुहोस् । आफ्ना प्रत्येक ससाना गतिविधिलाई सार्वजनिक गर्नु राम्रो होइन ।

रिलेसनशिप स्टाटस जस्ता संवेदनशिल जानकारी, पारिवारिक विवरणहरु सबै बाहिर नल्याउनुहोस् । भर्चुअल जगत विश्वासिलो हुँदैन । 

११. लग ईन विवरण सुरक्षित राख्नुहोस् 

आफ्नो अकाउन्टलाई सुरक्षित राख्ने कुरा सधैं तपाईंको पहिलो प्राथमिकता हुनुपर्छ । धेरै अकाउन्टमा एउटै पासवर्ड प्रयोग नगर्नुहोस् ।

साथै सजिलै अनुमान गर्न सकिने पासवर्डहरु पनि प्रयोग नगर्नुहोस् । यदि पासवर्डलाई सुरक्षा दिन चाहानुहुन्छ भने पासवर्ड म्यानेजर प्रयोग गर्नुहोस् । 

आफ्ना सबै अकाउन्टहरुमा टु फ्याक्टर अथेन्टिकेसनको प्रयोग गर्नुहोस् । जसले तपाईंको युजरनेम र पासवर्ड बाहिरिए पनि तपाईंको अकाउन्ट सधैं सुरक्षित रहन्छ । 

१२. थर्ड पार्टी एपलाई डिसकनेक्ट गर्नुहोस्  

आफ्नो डिजिटल जीवनका अन्य हिस्सामा जोडिन पनि तपाईं सामाजिक सञ्जाल अकाउन्ट प्रयोग गर्नुहुन्छ । यसअलावा तपाईंले ट्वीटर, इन्स्टाग्राम र फेसबुकमा पनि विभिन्न एड अन र प्लग ईन जोड्नु भएको हुनसक्छ । यो नराम्रो कुरा होइन ।

तर प्रत्येक पटक अतिरिक्त कनेक्सन बढाउँदै लैजाँदा यसले तपाईंको गोपनीयता र सुरक्षामा नै जोखिम पैदा गर्छ । धेरै एप तथा सर्भिसहरुमा आफ्नो फेसबुक, ट्वीटर र इन्स्टाग्राम अकाउन्टलाई नजोड्नुहोस् ।

के जोडिएको छ भन्ने कुरामा ध्यान दिनुहोस् । थर्ड पार्टी एपबाट आफ्नो अकाउन्टलाई अलग्याउनुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१